|

सुर्खेत : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले अब पाँच वर्षका लागि सिर्जनशील प्रतिपक्ष भएर काम गर्ने बताएका छन्। साेमबार सुर्खेतमा पत्रकारहरूसँगको भेटघाटका क्रममा सहमहामन्त्री डा. महतले संविधान निर्माणदेखि विकासका थुप्रै कामहरू कांग्रेसले नै गरेको तर जनता समक्ष पुर्‍याउन नसक्दा चुनावमा पछि परेको बताए।

डा. महतले कम्युनिस्टका भन्दा राम्रा र जनपक्षीय काम कांग्रेसले गरेका तर जनतामाझ प्रचार नभएकाले अब जनस्तरसम्म पुर्‍याइने उल्लेख गरे। कांग्रेस प्रतिपक्षमा रहे पनि सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको कडा प्रतिवाद गरिने उनले बताए। प्राविधिक कारणले कांग्रेसले हारे पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरी जनस्तरसम्म पुग्ने उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपालले चाहेजति फाइदा लिन नसकेको नेता डा. महतले बताए। तीर्थका लागि आएका मोदीको भ्रमणबाट नेपालले धेरै फाइदा लिनसक्ने थियो भन्दै तर वर्तमान सरकारले त्यतातर्फ ध्यान पुर्‍याउन नसकेको आरोप लगाए। पार्टीभित्रको आन्तरिक किचलोतर्फ संकेत गर्दै नेता डा. महतले आगामी दिनमा कांग्रेस एक ढिक्का भएर अगाडि आउने जिकिर गरे। घरभित्रको लडाइँले गर्दा बाहिर कांग्रेस सशक्त प्रतिपक्ष भएर प्रस्तुत हुन नसकेको उनले स्वीकार गरे। 

कर्णाली प्रदेश विभिन्न सूचकहरूका आधारमा पछाडि परे पनि सम्भावनाहरूलाई साकार बनाउन सकिएमा सबैभन्दा धनी प्रदेश हुने उनको भनाइ थियो। कर्णाली प्रदेश समृद्धिका लागि कांग्रेसले विगतमा पनि पहल गरेको र आगामी दिनमा पनि निरन्तरता दिने सहमहामन्त्री डा. महतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.