|
पक्राउ परेका विनोद र मोतिरामलाई म्याद थप गर्न मोरङ जिल्ला अदालतमा लगिँदै।

विराटनगर विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करीमा संलग्नसँग मिलेर अवैध रूपमा हुन्डीको कारोबार गर्ने दुई जना पक्राउ परेका छन्। दोलखा भीमेश्वर नगरपालिकाका मोतीराम श्रेष्ठ र झापा दमकका विनोद अधिकारी पक्राउ परेका हुन्। उनीहरूलाई गृह मन्त्रलायका सहसचिव नेतृत्वमा गठित छानविन समितिले पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको हो।

पक्राउ परेकाहरूले अवैध रूपमा नेपाल र सुन तस्करी गर्ने गिरोहलाई दुवईसम्म हुण्डीमार्फत् पैसा पठाउने गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनलाई मोरङ प्रहरीले सोमबार साँझ ५ बजे जिल्ला अदालत मोरङमा संगठित अपराधअन्तर्गत मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। 

अनुसन्धान टोलीले आइतबार काठमाडाैंबाट पक्राउ गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ थप अनुसन्धानका लागि पठाएको हो। पक्राउ परेकाहरूलाई छानविन समितिले अनुसन्धानपछि सोमबार दिउँसो २ बजे हवाईमार्गबाट विराटनगर ल्याएको थियो। पक्राउ पर्नेमध्ये विनोदको झापाको दमकमा ‘न्यू सिद्धकाली मनी ट्रान्सफर’ रहेको छ भने श्रेष्ठ व्यावसायी रहेको बताइएको छ। सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ पर्ने आठ जना प्रहरी अधिकारीसहित ३२ जना पुगेका छन्। पक्राउ परेका ३० जना अभियुक्तको मुद्दा दायर गरी अहिले प्रतिवादीतर्फका कानुन व्यावसायीले मोरङ अदालतमा थुनछेक बहस गर्दै आएका छन्। 

चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले लामो समयदेखि अवैध रूपमा विमानस्थलबाट एयरलाइन्सका कर्मचारीदेखि प्रहरीसम्मलाई सेटिङ मिलाएर सुन तस्करी गर्दै आएको उच्चस्तरीय छानविन समितिले गरेको अनुसन्धानबाट खुल्न आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.