|

विराटनगर : सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका दुई दिनमा १६ कानुन व्यवसायीले बहस गरेका छन्।

मोरङ जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट बहस गर्दै काठमाडौंदेखि पूर्वका नाम चलेका कानुन व्यवसायीहरूले समेत आरोपीहरूको प्रतिरक्षा गरे।

आइतबार पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष सम्भु थापासहित पाँच जना वरिष्ठ अधिवक्ताहरूले आरोपीको पक्षमा बहस गरेकामा सोमबार ११ जनाले बहस गरे। सुन तस्करी र सनम हत्याको आरोप लागेका नेपाल प्रहरीको निलम्बित प्रहरी नायव उपरीक्षक प्रजित केसीको पक्षमा तीन जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका छन्। उनको पक्षमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र राजेन्द्र भट्टराईले बहस गरे। 

त्यस्तै, डिएसपी सञ्जय राउतको पक्षमा अधिवक्ता रामबहादुर राउत र अमरबहादुर राउतले गरेका छन् भने महावीरप्रसाद गोल्यानको पक्षमा वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने र अधिवक्ता जगतप्रसाद फुयाँलले बहस गरे। त्यसैगरी अधिवक्ता रमिला महर्जनले अमरबहादुर थापा, समिरमान तोलाङ्गे, अम्बरप्रसाद थापा मगर र वीरेन्द्रमान श्रेष्ठको बचाउ गर्दै अदालतमा तर्क राखे। अधिवक्ता सुनिलकुमार सिंहले तोलाङ्गे वीरेन्द्रमान श्रेष्ठ, अमर डंगोलको पक्षमा बहस गरेका थिए।

अधिवक्ता हरिनारयण चौधरीले पुण्यप्रसाद लामा र अधिवक्ता दीपक बस्नेतले राजन थापाको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए। उनीहरूले प्रमाण नै नपुगेकाले संगठित अपराध ऐन आकर्षित नहुने भन्दै आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरे।

साढे ३३ किलो सुनसँग जोडिएर हत्या भएको पक्षलाई कमजोर बनाउँदै अनावश्यक व्यक्तिलाई फसाउने मनसाय राखेर अभियोग लगाउन नमिल्ने कानुन व्यवसायीहरूकोे तर्क थियो। 

सुन काठमाडौंमा भित्रिएको कुरा अभियोगमा उल्लेख गरेर मोरङ जिल्ला अदालतमा मुद्दा चलाउनु क्षेत्राधिकारभन्दा बाहिर भएको समेत उनीहरूले बहसमा जिकीर गरे। यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाको तर्फबाट बहस गर्न नाम चलेका कानुन व्यवसायीको लर्को नै लागेको छ। उनीहरूको पक्षमा पाँच दर्जन बढी कानुन व्यवसायीले बहस गर्न वकालतनामा भरका छन्।

प्रतिवादीतर्फबाट बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि आरोपीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छोड्ने भन्नेबारे अदालतले आदेश गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.