|

बुटवल : राष्ट्रिय गौरवका आयोजनासहित रूपन्देहीमा संचालित आयोजनाहरूको काम सुस्त छ। आयोजनाहरूको समयावधिअनुसार काम भएको भए यतिबेलासम्म धेरैको काम सकिनुपर्ने हाे तर अधिकांश आयोजनाको काम अधुरै छ। यसका कारण आयोजनाको लागतसमेत बढ्दै गएको छ। कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्न तदारुकता देखाइएको छैन। 

ठेकेदार कम्पनीको लापरवाही, निर्माण सामग्रीको अभाव र सरकारी निकायको ढिलासुस्तीले विकास आयोजनाले गति लिन सकेका छैनन्। आयोजनाका अधिकारी र ठेकेदार कम्पनी आयोजना समयमा नसकिनुको कारण एकअर्कालाई दोष लगाएर पन्छिन खोज्छन्। लक्ष्यअनुसार काम भएको भए भैरहवा-बुटवल व्यापारिक मार्गको काम अहिले सकिनुपर्थ्याे तर काम पूरा हुन त परै जाओस्, ढिलाइ भएकै कारण आयोजनाको लागत बढेको छ। यो आयोजनाकै हालत अरू ठूला आयोजनाको पनि छ। 

ठूला आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। धेरै आयोजनाको निर्माण समयसीमा पनि सकिएको छ र समय थप भएको छ। तर पनि ती आयोजनाहरू थपिएको समयमै सकिन्छन् भन्ने अझै पनि ढुक्क हुने अवस्था छैन। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल व्यापारिक मार्ग, बेलबास-बेथरी सडक जस्ता आयोजनाहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। 

तीन वर्षमा सकिनुपर्ने व्यापारिक मार्ग आठ वर्षमा पनि सकिएन

बेलहिया-बुटवल सडकलाई छ लेनमा विस्तार गर्न लागिएको आठ वर्ष भयो। तीन वर्षमा सक्ने गरी निर्माण थालिएको आयोजना विभिन्न बहानामा ठेकेदार कम्पनीको ढिलासुस्तीले पछि धकेलिँदै आएको छ। सुरुदेखि नै बजेट र निर्माण सामग्रीको अभाव झेलेको व्यापारिक मार्ग विस्तार आयोजना निर्माण कहिले पूरा हुने भन्ने टुंगो छैन। यद्यपि, आयोजना कार्यालयले भने आउँदो दशैँभित्रै सम्पन्न गर्ने दाबी गरेको छ। आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार यो मार्गको अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको छ।

‘आयोजनाका लागि पर्याप्त बजेट नहुँदा निर्माण अवधि नै लम्बिइरहेको छ, अझै पनि बजेट अभाव झेल्ने हो भने आगामी भदौभित्र सडक बिस्तार पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काममा अवरोध आउनेछ’, आयोजनाका इन्जिनियर अधिकारीले भने। बुटवलको तीन किलोमिटरसमेत गरेर भैरहवासम्मको निर्माण गर्न बाँकी सडकका लागि अझै दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले मागअनुसारको बजेट विनियोजन गरे मात्रै अबको पाँच महिनामा सडक विस्तार सकिने उनको भनाइ छ। ‘चाहिएजति बजेट आएन भने त सकिँदैन’, उनले अप्ठ्यारो सुनाए। 

२४ किलोमिटर सडकमध्ये अब करिब आठ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। भलवारीदेखि पत्थरडाँडासम्म कालोपत्रेको काम भइरहेको छ। मणिग्रामदेखि मंगलापुरसम्म र भैरहवा क्षेत्रमा पनि काम अगाडि बढेको छ। आर्थिक वर्ष २०६६/०६७ मा सुरु भएको यो सडक मार्ग विस्तार गर्न पाँच अर्ब ८६ करोड रुपैयाँको ठेक्का भएको थियो। अहिलेसम्म चार अर्ब रुपैयाँ खर्च भइसकेको छ। निर्माणमा ढिलाइ हुँदा करिब डेढ अर्ब रुपैयाँ लागत बढिसकेको छ।

विवादले जेलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवकै आयोजनाअन्तर्गत निर्माण भइरहेको अर्को आयोजना हो, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। आन्तरिक विवाद यसको पर्यायकै रूपमा देखिएको छ। सम्झौताअनुसार काम गरेको भए यतिबेला १६ आन्तरिक र छवटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौँ पर्यटक झर्थे तर यो आयोजना पनि बेला बखत हुने अवरोधले गति लिन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत लिइएको यो विमानस्थल तीन वर्षमा सक्ने गरी २०७१ कार्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी काम सुरु गरेको थियो। 

तीन वर्षमा सक्ने भनिएको यो आयोजना पनि दुई वर्ष पर धकेलिएको छ। अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ। पर्याप्त जनशक्ति र उपकरण नहुँदा काममा ढिलाइ गरेको आरोप खेप्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय भने काममा केही तदारुकता देखाएको छ। विमानस्थल आयोजना प्रमुख ओम शर्मा सन् २०१९ को जुनबाट विमानस्थल संचालनमा आउने गरी काम भइरहेको दाबी गर्छन्। 

कुल छ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थल निर्माण गर्दा दुई हजार २०० घरपरिवार जग्गा अधिग्रहणका कारण अन्यत्र जान बाध्य भएका थिए। त्यसको मुआब्जा वितरणमा समेत ढिलाइ भएको छ। २३ अर्ब रुपैयाँ मुआब्जा वितरणमा लाग्ने भनिए पनि हालसम्म छ अर्ब रुपैयाँको मात्रै मुआब्जा वितरण गरिएको छ। 

कछुवा गतिमा बौद्ध परिपथ 

ठूला आयोजनाअन्तर्गत निर्माण थालेर टुंगोमा नपुगेको अर्को आयोजना हो, बौद्ध परिपथ। पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको यो परिपथ निर्माणको काम पनि कछुवा गतिमा छ। सरोकारवालाले बेवास्ता गर्दा यो आयोजनाको काम अलपत्र छ। लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पुर्‍याउन सरकारले नौ वर्षअघि बौद्ध परिपथ (बुद्ध सर्किट) निर्माण सुरु गरेको थियो। 

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले समेत तत्काल सर्किटलाई व्यवस्थित सडक संजालले जोड्ने प्रस्ताव पारित गरेको थियो तर अहिलेसम्म काम पूरा हुने टुंगो छैन। लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले यसअघिको सडक संजाल विस्तार योजना भएकाले अहिले सरकारी स्तरबाट ‘बुद्ध सर्किट अफ नेपाल’को प्रारम्भिक प्रतिवेदनका लागि तयारी गरेको बताए। यसका कारण यो योजना अलपत्र छ। ‘त्यसमा तीन जिल्ला मात्र नभई मुलुकभरकै बौद्ध सम्पदा जोडेर सर्किट बनाउने योजनाको छलफल भइरहेको छ’, उनले भने, ‘आगामी असारसम्म प्रारम्भिक प्रतिवेदन बन्नेछ।’ यो परियोजना पूरा नहुँदा बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अस्तुधातु रहेको रामग्राम, बुद्धले २९ वर्ष बिताएको तिलौराकोट र आसपासका बौद्धस्थलमा पुग्न सकेका छैनन्। 

सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमिकतामा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको छ। तर बौद्ध परिपथमा पर्ने नवलपरासीको पण्डितपुर र रामग्राम स्तुपको प्रचार प्रसार हुन सकेको छैन। पण्डितपुर र स्तुपको विकासका लागि स्थानीयले छुट्टै विकास कोष बनाउनुपर्ने माग गर्दै आएका छन्। यसरी अर्बौं रुपैयाँ लगानीको परिपथ निर्माणमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ। यो परिपथको निर्माण कार्य जम्मा १५ प्रतिशत मात्रै भएको छ।

नमुना सडक बेलबास- बेथरी पनि अलपत्र 

डेढ वर्षअघिबाट सुरु भएको अर्को आयोजना हो, बेलबास-बेथरी सडक आयोजना। नमुना सडकका रूपमा हेरिएको यस आयोजनाको अवस्था पनि दयनीय छ। २५ प्रतिशत काम सकिएको यस आयोजना एक अर्ब ४८ करोड ९९ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो। आयोजनामा रूख कटान, स्थानीय अवरोध, विद्युत पोल स्थानान्तरण जारी रहँदा नै अवरोध भएको हो। 

हरित नहरसहित निर्माण थालिएको यो सडकको ब्रजगुरु कान्छाराम जेभी, रमन-जेजेइसिसिएल जेभी र रमन कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएका हुन्। सुरुमा मुआब्जा दिन नपर्ने भनिएको यस सडक खण्डमा पछि स्थानीयको जग्गा पर्ने भएपछि मुआब्जा दिने पैसा नहुँदा र निर्माण सामग्री तथा बजेट अभावमा रोकिएको हो। 

सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने र दुवै साइडबाट सडक निर्माण हुने यो नेपालकै नमुना सडक मानिएको छ। २०७३ साउन १५ मा निर्माण सुरु भएर २०७६ साउन १४ मा सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको अधिकांश काम बाँकी छ। 

साढे २१ किलोमिटरको सडक निर्माण भएमा बुटवलदेखि पश्चिमका पर्यटक लुम्बिनी पुग्न सहज हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.