|

खोटाङ :  अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले हात पारेको छ। दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइब्रेकरमा हराउँदै नेर्पाले गोल्डकपको उपाधि उचालेको हो। 

निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइब्रेकरमा बुइपालाई ६–५ गोल अन्तरले पछि पार्दै दिक्तेलले उपाधि चुमेको हो। प्रतियोगितामा विजेता बनेको नेर्पाले एक लाख ५१ हजार १११ र उपविजेता बुइपा सेवा समाजले ७५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ। 

प्रतियोगिताका दुई सेमिफाइनलिस्ट भोजपुर नगरपालिका र फ्रेण्डसिप यातायात सेवालाई नगद रु २५\२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले वैशाख २६ गतेदेखि गोल्डकपको दोस्रो संस्करणको आयोजना गरेको हो। 

प्रतियोगिता अवधिभरमा नेर्पाका सुनिल तामाङ म्यान अफ दि म्याच घोषित भएका छन्। आयोजक दिक्तेल फुटबल क्लबका वर्तमान राईले सर्वाधिक गोलकर्ता, नेर्पाका विकेश श्रेष्ठले उत्कृष्ट गोलकिपर र नेर्पाकै अर्जुन रोकाले उत्कृष्ट डिफेण्डरको  उपाधि जितेका छन्। यस्तै बुइपाका तेज राईले उत्कृष्ट स्ट्राइकर र बुइपाका सुजल श्रेष्ठले उत्कृष्ट मिडफिल्डर, आयोजक डिएफसीले अनुशासित टोली र नेर्पाका शरद राईले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.