प्रहरी भन्छ, कसको अादेश मानौँ

|

भद्रपुर  : जिल्ला समन्वय समिति र स्थानीय तहको छुट्टाछुट्टै आदेश र निर्णयले झापाका नदी तथा खोलामा खुलेआम 'स्काभेटर' प्रयोग गरी नदीजन्य सामग्री उत्खनन् भइरहेको पाइएको छ।

आईईई प्रतिवेदनको मापदण्ड, प्रावधान तथा उत्खनन् योजनाबमोजिम वातावरणमा असर नपर्ने गरी उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने कानुनविपरीत ठेकेदारले जनप्रतिनिधि र स्थानीय प्रहरीकै संरक्षणमा स्काभेटर प्रयोग गरेका हुन्। ठेकेदारले स्थानीय जनप्रतिनिधि र केही स्थानीय प्रहरीलाई हातमा लिएर नदी तथा खोला कब्जामा लिएको स्थलगत रिपोर्टिङका क्रममा भेटिएको छ। जनप्रतिनिधिले विकास निर्माणको नाममा ठेकेदारलाई स्काभेटर प्रयोग गर्न दिइरहेका छन्। जिल्ला समन्वय समितिले भने नदीमा स्काभेटर प्रयोग नगराउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पत्र काटेको छ। स्काभेटर नियन्त्रण गर्ने स्थानीय प्रहरी भने ठेकेदार र जनप्रतिनिधिको कुरामै अल्झिएका छन्। 

मेचीनगरबाट बग्ने निन्दा खोलामा एक स्थानमा मात्र स्काभेटर प्रयोग गर्न समन्वय समिति झापाले सम्बन्धित ठेकेदारलाई लिखित पत्र पठाइसकेको छ। तर, जनप्रतिनिधिको आदेशमा मापदण्डविपरीत विभिन्न स्थानमा स्काभेटर प्रयोग गरिरहेको पाइएको हो। 

समन्वय समिति र मेचीनगर नगरपालिकाको संयुक्त अनुगमनपछि वैशाख २७ गतेको पत्रअनुसार निन्दा खोलामा ११ हजार ६ सय २५ घनमिटर उत्खनन् गर्न बाँकी रहेको हुँदा मेचीनगरको वडाखाल आसपासको क्षेत्रबाट को १ क २४९० नम्बरको स्काभेटर प्रयोग गर्न भनी सामसुहाङ बिल्डर्स गौरादहलाई पत्र काटिएको छ। सो स्थानबाहेक निन्दा खोलामा स्काभेटर प्रयोग गर्न नपाइने भनी प्रशासन कार्यालय, प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापा र मेचीनगर नगरपालिकालाई समेत बोधार्थ दिएको पत्रमा उल्लेख छ। तर, मेचीनगर १५ का वडा कार्यालयले विकास निर्माणको नाममा स्थानीय प्रहरी र प्रशासन कार्यालयबाट मौखिक सहमतिमा स्काभेटर प्रयोग गर्ने अनुमित लिएर नदीजन्य सामग्री उत्खनन् भइरहेको छ।

वडाध्यक्ष राजन भट्टराईले ज्यामिरगढी प्रहरी चौकी र प्रशासन कार्यालय झापासँग दुई दिनको मौखिक सहमति लिएर ज्यामिरगढी ३ हाल मेचीनगर १५ पर्ने बिचार्नी–हेदलुवारी जोड्ने निन्दा खोलामा स्काभेटर प्रयोग गर्ने अनुमित लिएका थिए। सोही अनुमति बमोजिम खोलामा स्काभेटर प्रयोग गरेर हेदलुबारीका सडकमा गिट्टी बालुवा हाल्न सुरु गरियो। तर, वडाध्यक्ष भट्टराईले दिएको आदेशविपरीत त्यही खोलाबाट स्काभेटर प्रयोग गरी ट्याक्टरमा लोडमा भएका गिट्टी बालुवा ज्यामिरगढी प्रहरी चौकी कार्यालय अगाडीबाटै सोही ठाँउको हिमशिखर काष्ठ उद्योगमा प्रयोग गरेको थाहा हुन अाएको छ। त्यसैगरी मेचीनगर १५ मा पर्ने खवासबस्तीमा पनि प्रहरी प्रशासनको धज्जी उडाउँदै खुलेआम स्काभेटर प्रयोग गरिरहेका पाइएको छ।

खवासबन्तीमा प्रयोग गरिएको स्काभेटरले टिपरमा हालेको गिट्टी बालुवा सोही ठाँउमा निर्माणाधीन भगवती लेमिनेट्स प्रालि उद्योगमा प्रयोग गरिरहेका थिए । सो स्काभेटर निन्दा खोलाका पेटी ठेकेदार राजकुमार थापाको रहेको स्थानीय बताउँछन्। यहाँ प्रयोग गरिएको स्काभेटरको अनुमति ठेकेदार थापाले कसैसँग लिएका छैनन्। उनले बलपूर्वक काम गरिरहेको छ।

यता वडाध्यक्ष राजन भट्टराईले ज्यामिरगढी क्षेत्रको निन्दा खोलामा एक स्थानमा मात्र स्काभेटर प्रयोग गर्ने अनुमित लिएको स्वीकार गरे। उनले खवासबस्तीमा प्रयोग भएको स्काभेटरको विषयमा आफूलाई जानकारी नभएको बताए। अनुमति लिएको स्काभेटरको प्रयोग गरी उद्योगका लागि गिट्टी, बालुवा पठाउने काम भइरहेको विषयमा थाहाखबरकर्मीले राखेको जिज्ञासामा वडाध्यक्ष भट्टराईले भने, यसबारेमा आफूलाई जानकारी नभएको भन्दै खोलामै गएर बस्न नसकिने बताए। ‘यो रोक्ने काम प्रहरीको जिम्मा हो',उनले भने, 'म वडाको काम गरुँ कि ट्याक्टर गनेर बसुँ।' 

यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजालले स्काभेटर नियन्त्रण लिन आफूसँग कानुनी आधार नरहेको प्रतिक्रिया दिए। ‘खोलामा स्काभेटर प्रयोगको विषयले प्रहरी आफैँ तनावमा छ, उनले भने, ‘स्काभेटर प्रयोग गर्न नदिनु भनि समन्वय समितिले पत्र पठाएको छ, यता मेचीनगर नगरपालिका र वडा कार्यालयले विकास निर्माणका लागि स्काभेटर प्रयोग गरेको भन्छ। अब प्रहरीले कसको आदेश मान्ने हो, स्थानीय तह कि जिल्लाको?' उनले थपे, ‘छुट्टाछुट्टै आदेशले हामी नै अलमलमा परेका छौँ।’ 

'निन्दा खोलामा स्काभेटर बन्द गराउन स्थानीय प्रहरी कार्यालयलाई पत्र पठाइसकेका छौ, प्रहरी कार्यालय झापाका नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने,‘तर’ ‘स्थानीय तह र समवन्य समितिको कुरा नमिल्दा स्काभेटर नियन्त्रणमा लिन सकेका छैनौँ। एउटै निर्णय भएर आएमा प्रहरीलाई काम गर्ने सजिलो हुन्छ', उनले भने । समन्यव समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले राजमार्ग दक्षिणी ज्यामिरगढीको निन्दा खोलाबाट स्काभेटर प्रयोग गरी उत्खन्न कार्य गर्न नपाइने बताए। ‘मेचीनगर नगरपालिका र वडा कार्यालयले स्काभेटर प्रयोग गरेको मैले सुनेको छु', उनले भने, 'यो पत्रको उल्लंघन हो।’

'समन्यव समितिले लगाएको ठेक्का र यसको आदेश स्थानीय तहले मान्नु पर्ने हो, पोर्तेलले भने, ‘प्रहरीले स्काभेटर नियन्त्रणमा लिनु पर्ने हो, किन लिइरहेको छैन, प्रमुख जिल्ला अधिकारीसँग बुझ्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.