|
hindupath.com

विराटनगर : अखण्ड सौभाग्यको कामना गर्दै मिथिलाञ्चलमा मंगलबार बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व मनाइरहेका छन्। जेष्ठ कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ।

यो पर्व मनाउन महिलाहरू बिहानैदेखि चोखो भएर नयाँ वस्त्र लगाई पूजासामग्रीका साथ वरको रुखमुनि बसेर पूजा गरिरहेका छन्। यो पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाइ, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ। विराटनगरको प्रसिद्ध संसारीमाई थानका साथैै महेन्द्र मोरङ, क्याम्पसलगायत विभिन्न टोलटोलमा रहेका बरका रुखमुनि वटसावित्रीको पूजा भइरहेको छ। 

वरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातमा महादेवको वास रहने पौराणिक विश्वास छ। यसरी पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ। अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि वरको रुखमुनि नै राखिएको थियो। सावित्रीले सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनर्जीवन दिन सफल भएका कारणले पनि वटवृक्ष अर्थात् वरको रुखमुनि बसेर यो पर्व मनाइन्छ।

मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकारलगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउँछन्। यो पर्वलाई ‘बरसाइत’ पर्व पनि भनिन्छ। यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ वस्त्र, प्रसादका लागि मिठाइ, चना, माटोको कलात्मक रूपमा बनाइएका नागनागिनी , बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ। 

गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देवताको पूजा गरेमा सर्पदंशबाट पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.