|

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सट्टा भर्नामा पाइएको जग्गाको नयाँ नक्सा लागु हुन नसक्दा किचलो उत्पन्न भएको छ।

जग्गा कब्जा गरेर बसेका बासिन्दा र सट्टा भर्नामा जग्गा पाएका जग्गाधनीबीच जग्गा सीमांकनको विषयलाई लिएर  किचलो उत्पन्न भएको हो। २०३४ सालमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा रौतेलीविचुवा गाउँपञ्चायतबाट स्थानीय बासिन्दाको लगत लिई ०३८ सालमा बस्ती स्थानान्तरण गरी सुन्दरपुरमा जग्गा उपलब्ध गराइएको थियो।

रौतेलविचवामा रहेको जग्गाधनी पुर्जाकै आधारमा जग्गा उपलब्ध गराइएको हरिकृष्ण जोशीले बताए। तत्कालीन आयोगले नाला क्षेत्रको जग्गा पर्ति भनेर छाडियो उनले भने, ‘२०५८ सालमा सर्भे नापी गर्दा पर्ति जग्गासमेत नापियो, त्यति बेला विवाद भएन।’ आव ०६३\६४ मा पुनः सर्भे गरिएपछि जग्गा चिनाउन खोज्दा विवाद भएको उनले बताए।

त्यति बेला ठूला किसानलाई बागफाँटा, बेल्डाँडी पिपरैया र साना किसानलाई सुन्दरपुरमा जग्गा सट्टाभर्ना दिएको स्थानीय रामी भाटले बताए। २०५० सालमा लालपुर्जा दिएको थियो, उनले भने,‘लालपुर्जामा उल्लेख भएको जमिन उपभोग गर्न पाएका थिएनौँ।’ तत्कालीन शुक्लाफाँटा आरक्षका वार्डेन सूर्यबहादुर पाण्डेले साना किसानसँग पुर्जा भन्दा बढी भएको जग्गा लिने र कम भए दिने कार्य गरेको उनले बताए।

विस २०३४ सालमा जग्गा सट्टाभर्ना पाएका अर्जुनबहादुर चन्द, जोगराम विष्ट, पदमबहादुर पाल, तुलसीदेवी कठायत, शेख बहादुर भाट, दुरपतिदेवी भाट, मदना देवी भाट, भोजराज पन्त र गंगाराम पन्तले मालपोत कार्यालय कञ्चनपुरका प्रमुख मातपोत अधिकृत र कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए। 

सुन्दरपुरका स्थानीयले जग्गाको समस्या समाधान गर्नका लागि साविक, पुरानो र नयाँ नक्सा क्रसचेक एव प्रमाणित गरेर जग्गाको समस्याको समाधान निकाल्नुपर्ने अधिकांशको माग छ। स्थानीय सरकारले समेत जग्गासम्बन्धी सबै समस्या हल गर्ने बताए पनि वडाले काम अघि नबढाएका कारण समस्या बल्झिएको स्थानीयको आरोप छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.