|

रामेछाप : सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेर माटो जमेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ।

आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा रहेका आठवटै कोठाहरुमा बाढी पसेर क्षति पुर्‍याएपछि कार्यालयको अगाडि रहेको चौतारामा बसेर स्वाथ्य सेवा सञ्चालन गरिएको हो।

बाढी परेर क्षति पुर्‍याएका कारण कार्यालयभित्र बसेर उपचार गर्ने अवस्था नरहेकाले बाहिरैबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कविराज निरीक्षक दीपककुमार कार्कीले बताए।

भारी वर्षासँगै आएको बाढी कार्यालयभित्र पस्दा ठोकामा बिच्छाइएको कार्पेट पुनः प्रयोगमा ल्याउन नसकिने अवस्थामा पुगेको छ। त्यसैगरी, औषधि, कार्यालयमा राखिएको कम्प्युटर, प्रिन्टरलगायत पाँच लाखभन्दा बढीको सामान क्षति भएको पनि कविराज कार्कीले बताए।

आयुर्वेद स्वास्थ्य केन्द्रको उपचार कक्षमा एक फिटभन्दा बढी लेदो जमेको छ भने कार्यालयको प्रांगणमा पाँच फिटभन्दा बढी उचाइसम्म गेगर र गिट्टीले पुरेको छ।खहरेले माथिल्लो भागबाट बगाएर ल्याएको माटो र गेगर सीधै आयुर्वेद केन्द्रको कार्यालयमा पसेपछि क्षति पुर्‍याएको हो।

मन्थली आसपास रहेको आधादर्जनभन्दा बढी खहरेहरुमा एकैपटक आएको बाढी बजार क्षेत्रमा प्रवेश गर्दा सदरमुकाम मन्थलीको बजार क्षेत्र पूरै अस्तव्यस्त बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.