थाहा संवाद : स्थानीय सरकार

बस्ती र औद्योगिक क्षेत्र छुट्याएर विकासमा फड्को मार्छौँ : पालुङटार नगर प्रमुख कँडेल
SHARES

जेठ २, २०७५

    भौगोलिक हिसाबले पालुङटार नगरपालिका गोरखा जिल्लाको दक्षिण–पश्चिमी भेगमा लमजुङ र तनहुँ जिल्लाको सिमानासँग जोडिएको छ। मर्स्याङ्दी, चेपे र दरौँदी नदीले घेरिएको यो नगर १५८.६२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिकाको कुल जनसंख्या ३८ हजार २४४ (जनगणना २०६८ का अनुसार) रहेको छ। 

    पालुङटारमा जन्मिएका इन्जिनियर दीपकबाबु कँडेल अहिले यस नगरपालिकाको प्रमुख निर्वाचित भएका छन्। दौडेर राजा हुने लिगलिगकोटको फेदीमा हुर्केका कँडेलले नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको बताउँछन्। उनी जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा हुनै लागेको छ। यो एक वर्षको अवधिमा पालुङटार नगरपालिकाभित्र केकस्ता परिवर्तन भए, चुनावी नारा व्यवहारमा आए कि आएनन्? लगायतका विषयमा उनै कँडेलसँग थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको कुराकानी प्रस्तुत छ।

    तपाईंको राजनीतिक पृष्ठभूमि छोटोमा बताइदिनुस् न!

    मेरो राजनीतिक 'करिअर' नै नेविसंघबाट सुरु भयो। नेविसंघको राजनीतिमा एक दशक व्यतीत गरेँ। पुल्चोक क्याम्पस, नेपाल इन्जिनियरिङ कलेजमा संगठनको नेतृत्वमा बसेर काम गर्ने मौका पाएँ। पछि पार्टीको मेरै गृहनगर पालुङटार नगर पार्टी सभापति हुँदै अहिले नगर प्रमुखको भूमिकामा छु। 

    चुनावमा घोषणा गरेका वाचा र प्रतिवद्धताहरू सम्झनुभएकै होला, आफैँले घोषणा गरेका वाचा र प्रतिबद्धता सम्झँदा कस्तो लाग्छ?

    हामीले जे जस्ता प्रतिवद्धता गरेका थियौँ, ती व्यावहारिक र आवश्यक कुराहरू नै थिए र हुन् पनि। ती प्रतिबद्धता म एक्लोले गरेको होइन, हाम्रो सिंगो टिम छ र मैले त्यसको नेतृत्व मात्र गरिरहेको छु। त्यसैले मलाई लाग्छ, मेरो र पार्टीको प्रतिबद्धता र समग्र टिमको उद्देश्यअनुरूप छन् हाम्रा प्रतिवद्धता। 

    हामीले सबैको धारणा समेटेर अघि बढ्ने प्रण गरेका छौँ। चुनावका बेला म र हाम्रो टिम मात्र यस्तो टिम होला, जसले गर्नै नसक्ने कुरा जनतालाई सुनाएकै छैन।

    तपाईं निर्वाचित भएको करिब एक वर्ष हुनै लाग्यो, घोषणा गरेका कुराहरू पूरा भए त?

    हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन  गरी तीन खालका योजनाहरूको प्राथमिकीकरण गरेका छौँ। तत्काल गरिहाल्नुपर्ने र अत्यावश्यक कामहरूको प्रारम्भ भएको छ। नीति, नियमहरू बनाउने कामलाई द्रुत रूपमा अगाडि बढाएको छु। कानुनी रूपमा केही समस्या आउला भनेर कानुनी परामर्शदातासमेत राखेर काम अघि बढाएका छौँ। उपप्रमुखले ती कुराहरूलाई नेतृत्व गर्नुभएको छ, मैले सहयोग र सहकार्य गरेको छु।

    सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न र जनमुखी प्रशासनअन्तर्गत रही सेवा विस्तार गरिएको छ। हामीले हाम्रो योजना पाँच वर्षमा पूरा गर्ने र त्यसको जगमा समग्र पालुङटारको उज्यालो भविष्य निर्माण गर्ने कुरा घोषणापत्रमार्फत प्रस्तुत गरेका थियौँ। त्यसैले आंशिक ढंगले घोषणापत्रको कार्यक्रम लागू हुन थालेका छन्। साथै सरकारी निकाय, विभागहरू र जिल्लासँग समन्वय गर्ने काम पनि जारी छ। वार्षिक कार्यक्रमको हकमा ५०५ काम सम्पन्न भइसकेको अवस्था छ।

    पालुङटार नगरपालिकाको मुख्य समस्या केके देख्नुभएको छ?

    पालुङटार मात्र होइन, संघीय संरचनामा मुलुक प्रवेश गरेपछि तीनवटै तहको काम, कर्तव्य र अधिकारको बाँडफाँट गरिए तापनि आवश्यक कानुन, नीति, निर्देशिकाहरू नबन्दा र समन्वयको वातावरण त्यति सुमधुर हुन नसक्दा देशैभरका स्थानीय तहमा समस्या उत्पन्न भएको छ। 

    कर्मचारी तथा प्रशासनिक विषयले केन्द्र सरकारसमेत हैरानीमा परेको समाचार यहाँहरूले पनि लेख्नुभएकै छ। यसबाहेक पालुङटारमा भौगोलिक कारणले यातायात मुख्य समस्याको रूपमा छ। जलवायु परिवर्तनको असर हाम्रोमा पनि देखिएको छ। विद्यमान खानेपानीका स्रोतहरू सुकेका छन्। त्यसैले खानेपानीको समस्या विकराल देखिएको छ। सामुदायिक विद्यालयमा रहेको चरम राजनीतीकरणलाई न्यूनीकरण गरी आधुनिक सामुदायिक विद्यालयको रूपमा विकसित गर्नुपर्ने आवश्यकता महसुस गरेको छु। समग्रमा भन्दा यस नगरमा पूर्वाधारको समस्या छ। 

    हरेक वडालाई नगर प्रमुखको कार्यालयसँग नेटवर्किङ गरिएको छ। जनतालाई हाई टेक सुविधा उपलब्ध गराउनेतर्फ आगाडि बढेका छौँ। कोल्डस्टोर, प्राविधिक शिक्षालयको रूपमा कृषि क्याम्पस निर्माण गर्ने योजना बनेको छ। 

    पालुङटार नगरपालिकामा स्मार्ट सिटी, औद्योगिक क्षेत्र स्थापनाको कुरा के भइरहेको छ? यतातर्फ के कस्तो प्रगति भइरहेको छ?

    स्मार्ट सिटीको काम धमाधम भएको छ। परामर्शदाता कम्पनीमार्फत सर्भेको काम चलिरहेको छ। औद्योगिक क्षेत्रको हकमा समाजका केही तत्त्वहरूले समग्र विकासभन्दा पनि अतिसामान्य विषयमाथि चर्को सामाजिक मुद्दा उचालेर, सर्वसाधारणमा भ्रम फैलाउने काम भएको छ, जसका कारण जुन स्तरमा यसको प्रगति हुनुपर्थ्यो, त्यति हुन सकेको छैन।

    केही मान्छेहरूले आफ्नो अहंको कारणले र निजी स्वार्थ पूर्ति गर्न विकासको प्रक्रियालाई अवरुद्ध गर्ने कुचेष्टामा लागेका छन्। म यी सबै उल्झनहरू चिरेर अगाडि बढिरहेको छु। गरिब र निमुखा जनताको प्रगतिको बाधक बन्ने प्रवृत्तिबाट समाज पीडित बनेको छ। म समृद्ध पालुङटारको पक्षमा छु। पालुङटारमा खुल्ने औद्योगिक क्षेत्रले यहाँ मात्रै होइन, सिंगो देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउँछ। मेरो अभियान यही छ। 

    समस्या धेरै छन्, समाधान कसरी गर्नुहुन्छ? समाधानका योजना केके छन्?

    हाम्रो मुख्य समस्या पूर्वाधारको क्षेत्रमा नै हो। हामीले मुख्य गरेर खानेपानीको हकमा एक घर एक धारा, लिफ्टिङ प्रोजेक्ट, ग्राउण्ड वाटर, एक गाउँ एक पोखरीलगायतका कार्यक्रम अगाडि बढाएका छौँ। कतिपय योजना सुरु हुने चरणमा छन्।  सडक विस्तारको हकमा ट्र्याक खोल्ने काम, राष्ट्रिय सडकमध्ये पहाडी लोकमार्गअन्तर्गत वडा नम्बर– ४ देखि २ हुँदै सिरान्चोक गाउँपालिकाको हर्मी जोड्ने सडक कालोपत्रे गर्ने, सदरमुकामदेखि पालुङटारका सबै वडासम्म जोड्ने सडक बाह्रै महिना सुचारु हुने बनाउने योजना अगाडि बढेको छ।

    पर्यटनलाई र व्यवसायलाई कसरी जोड्ने? योजना के छन्? 

    पालुङटार नेपालका प्रसिद्धमध्येको एउटा टार हो। प्रसिद्ध लिगलिगकोट यही नगरपालिकाभित्र पर्छ। दौडेर राजा हुने लिगलिगे राजाको इतिहास अझै पनि ताजै छ। हरेक दशैँमा राजा बनाउने संस्कृति अझै छ यहाँ। हामीले त्यसलाई पर्यटकलाई बिक्री गर्ने खुराक बनाउँदै छौँ। 

    भौतिक संरचनाको कुरा पनि विस्तारै विस्तार गर्दै जानेछौँ। खेल पर्यटन, आवासीय सामुदायिक विद्यालय, अर्गानिक खेती वडा नम्बर– ९ र १० मा विस्तार गर्ने, ई–गभर्नेन्सका काम अगाडि बढाएका छौँ। हरेक वडालाई नगर प्रमुखको कार्यालयसँग 'नेटवर्किङ' गरिएको छ। जनतालाई हाई टेक सुविधा उपलब्ध गराउनेतर्फ आगाडि बढेका छौँ। कोल्डस्टोर, प्राविधिक शिक्षालयको रूपमा कृषि क्याम्पस निर्माण गर्ने योजना बनेको छ। 

    लामो समयदेखि यहाँको हवाई मैदान बन्द रहेको छ, बन्द रहेको हवाई मैदान चल्छ त अब?

    पालुङटार नगरपालिकाको समृद्धिको एउटा आधार हवाई मैदान पनि हो। वर्षौंदेखि यो बन्द छ। यसलाई कसरी पुरानै अवस्थामा फर्काउने र सञ्चालन गर्ने भन्ने महत्त्वपूर्ण कुरा छ। नगरपालिकाको तर्फबाट नागरिक उड्डयन मन्त्रालय, प्रदेश र केन्द्रीय सरकारमा यसबारे कुरा भइरहेकै छ। हामीले यसलाई चलाउने आधार पेस गरेका छौँ। काठमाडौँ र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएपछि स्थानीय एयरपोर्टको व्यवस्थापन अनिवार्य छ। यहाँ भइरहेको भूगोलको सदुपयोग गरी चलाउन हामीले आग्रह गरेका छौँ। साना स्थानीय विमान तथा 'अल्ट्रालाइट' चलाउने कुरा पनि आएको छ। 

    स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

    स्थानीय तह सञ्चालनको विद्यमान नीतिगत समस्याहरू मैले माथि पनि बताइसकेँ, यो समग्र देशकै समस्या हो। पालुङटारको हकमा समाजको आफ्नो विशेषताअनुसार व्यावहारिक सजिला अप्ठ्यारा हुनु स्वाभाविक हो। मैले नेपाली समाजको बनोटलाई लामो समयदेखि नजिकबाट हेरिरहेको छु। पालुङटारका सामाजिक, साँस्कृतिक आयामहरू, हाम्रो परम्परा सबैलाई मध्यनजर गरेर अगाडि बढेको कारण मैले व्यावहारिक विषयहरूलाई समस्याको रूपमा लिएको छैन। म समाजको अभिभावक पनि हुँ। त्यसैले समाजको बहुआयामिक तथ्यलाई मैले विश्लेषण गर्न सक्नुपर्छ भन्ने लाग्छ।

    आफैँ पनि इन्जिनियर हुनुहुन्छ, त्यसमाथि पालुङटार बजार उन्मुख क्षेत्र हो। व्यवस्थित शहरीकरण विस्तारबारे के सोच्नुभएको छ?

    मैले नगरपालिका कार्यालयका प्राविधिकहरूसँग नजिकबाट सहकार्य गरेको छु। केही कुरा सल्लाह पनि गरेको छु। हामीले नगरपालिका क्षेत्रभित्र ल्याण्डपुलिङको काम प्राथमिकताभित्र राखेका छौँ। हामी व्यापारिक, औद्योगिक क्षेत्र र बजार क्षेत्र छुट्याएर व्यवस्थित शहरीकरण गर्ने योजनामा छौँ।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]