|

काठमाडौं: यस साता कारोबार भएको दुई दिन नै शेयर कारोबार रकम न्यून देखिएको छ। सोमबार ४२ करोड ५१ लाखको कारण भएको नेप्सेमा मंगलबार झण्डै २७ करोड कमीको कारोबार भएको छ।

यसरी कारोबार रकम घट्नुमा शेयर बजारलाई व्यवस्थित गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डले चालेको कदमलाई हेरिएको छ। धितोपत्र बोर्डले मंगलबारबाट विस्तृत ग्राहक पहिचान (केवाइसी) आवधिक नगर्नेहरूको कारोबार रोक्का गरेको छ। जसको प्रभाव देखिएको सरोकारवालाले बताएका छन्।

'यही कारण मात्र हो भन्न त सकिँदैन हामीले बजार व्यवस्थित गर्नको लागि केवाइसीमा कडाइ गरेका छौँ, कम कारोबार हुनुमा यसको पनि प्रभाव होला,' धितोपत्र बोर्डका निदर्शक नीरज गिरीले भने।

उनले केवाइसीमा कडाइ गरिएसँगै खाता आवधिक गर्नेहरूको संख्या उल्लेख्य बढेको समेत बताए। मंगलबार शेयर बजार परिसूचक नेप्सेमा कारोबार रकम १५ करोड रुपैयाँ पनि पुगेको छैन।

नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार १४ करोड ९२ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ। यस दिन १४३ कम्‍पनीका ३१ लाख १९ हजार २६९ कित्ता शेयर पत्रको कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक पनि घटेको छ। नेप्से ४.३ अंकले घटेर एक हजार ३३३ अंकमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १.१५ र फ्लोट इन्डेक्स ०.३४ अंकले घटेको छ।

मंगलबार व्यापार र उत्पादनमूलक उद्योगअन्तर्गतका परिसूचक उकालो लागे तापनि यसबाहेकका उपसूचकहरूमा भने ह्रास आयो। शेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकअन्तर्गतका परिसूचक ४.२८ अंकले ह्रास आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.