|

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुनुपर्ने बताएका छन्। युवा संघ नेपालको २८औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रम तथा समृद्धि र सुशासनका लागि युवा अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

'पार्टी एकता छिट्टै गर्नुपर्छ, नत्र रात रहे अग्राख पलाय हुन्छ। असमझदारी कसले बढाइदिने हो थाहा हुँदैन। मिडियामा आएका कुराको पनि लाग्दा समस्या बिग्रिएका छन्। लेखिहाले पनि त्यसको पछि दगुर्नुभएन,' उनले भने, 'आज मात्रै माओवादी अध्यक्ष प्रचण्डसँग भेट भएको छ। उहाँले दस्तावेजमा समस्या छैन भन्नुभएको छ।' पार्टी एकता संयोजन समितिको बैठक छिट्टै बसेर यो विषय टुंगो लगाउने पनि नेता नेपालले सुनाए।

पार्टी एकताका सन्दर्भमा स्पष्ट रहेको पनि नेता नेपालले सुनाए। उनले भने, 'आज छलफल भएको छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी र म भेट्यौँ। भेटघाट सकारात्मक भयो। पार्टी एकताबारे हामीबिच कुनै समस्या छैन। पार्टी एकता संयोजन समितिको बैठक सम्भवत: भोलि बस्छ। निकट भविष्यमै एकता हुन्छ र एकताले तरंग ल्याउँछ।'

दुई पार्टी एकता हुने सन्दर्भमा अब धेरै समस्या नभएको पनि नेता नेपालले बताए। कहिले विदेश भ्रमण, कहिले पाहुना स्वागत,  कहिले नीति कार्यक्रम बजेट, कहिले हल्लाहरुले असर पार्टी एकतामा गरिरहेका पनि नेता नेपालले सुनाए।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्र बलियो बनाउन अझै थुप्रै काम बाँकी रहेका बताए। उनले भने, 'यो काम तपाईं हामीले नै गर्नुपर्छ। अर्को राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभार छ। अझैसम्म हाम्रो सिमाना अंकित हुन सकिरहेका छैनन्। सीमामा विवाद छन् तिनलाई समाधान गर्नुपर्ने छ।'

व्यापार घाटा घटाउनुपर्ने, नीति, कार्यक्रम ल्याएर मुलुक समृद्धको दिशातर्फ अगाडि बढाउनुपर्नेमा नेता खनालको जोड छ। गरिबी, निरक्षरता, उन्मूलन गरेर विकासको मूल फुटाउन पर्नेमा नेता खनालले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.