विचार

मोदी भ्रमण र छोपेर गुम्सिएको नेपाल-भारत सम्बन्ध
SHARES

जेठ १, २०७५

    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दुई दिने नेपाल भ्रमण नेपालको सरकार, राजनीति, मूलधारका संचार माध्यमदेखि लिएर टुक्रेखुद्रे बुद्धिजीवीलाई फेसबुक, ट्विटरका पानामा व्यस्त बनाएर सकिएको छ। अझ त्यसपछिका प्रारम्भिक टिप्पणी पनि सार्वजनिक भइसकेका छन् र कतिपय हुने क्रममा छन्।

    यस भ्रमणले नेपालका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको शाख गिरेको र नेपालले फाइदा लिन नसकेको प्रतिपक्षी नेताको दाबी अगाडि आएको छ भने एमाले पक्षधरहरु उपलब्धीपूर्ण भ्रमण भनीरहेका छन् । एमालेसँग पुर्ख्यौली रूपमै मतैक्य नराख्ने वा पेसागत आवरणमा रहेका अन्य दलसँग सम्बद्ध वा झुकाव भएका 'स्वतन्त्र' मानिसहरूले विगतको नाकाबन्दीका बेला एमालेले लिएको अडानको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको टिप्पणी गरिरहेका छन्। भलै, उनीहरू त्यसबेला पनि त्यो ओलीले राखेको अडानका पक्षमा थिएनन्। नाकाबन्दीविरुद्ध नउभिएका मात्र होइन, नाकाबन्दीको मौन समर्थन, समर्थन वा नाकाबन्दी भन्दा अप्ठ्यारो पर्ला कि झैँ गर्दै थिए।

    यो आलोचना नाकाबन्दीका समयमा अनपेक्षित रूपमा नेपाली जनताले भोगेको दु:ख र त्यसबेला ओली नेतृत्वको सरकारले राखेको अनपेक्षित अडान एउटा कारण हो भने अर्कातिर अहिले नाकाबन्दीको पीडा नबिर्सिंदै अनपेक्षित अभिनन्दनमा स्वयं ओली नेतृत्वको सरकार लाग्दा देखिएको असन्तोष हो। राजनीतिक हिसाबले ओलीले भारतसँग अडान पनि राखे र खुसी पनि तुल्याउलान् भन्ने स्वाभाविक राजनीतिक प्रतिस्पर्धीले उठाएको आवाज एकातिर छ भने अर्कातिर कट्टर हिन्दु मोदीविरुद्ध आन्तरिक तथा बाह्य तत्त्वको विरोध पनि। हुनत आफूले गर्न सक्ने वा सरकारमा हुँदा गर्न मिल्ने कुरा मात्र प्रतिपक्षले पनि उठाउनुपर्ने हो तर त्यस्तो दूरगामी सोचाइ नभएको र दोहोरो चरित्र प्राय: सबैमा रहेकाले यसलाई अस्वाभाविक मान्नुहुँदैन। बाँसुरीबाट आएका आवाजमध्ये कुन प्वाल थुनिएर कस्तो आवाज आयो बुझ्न सकेजस्तो कसले किन बोल्दै छ भन्ने जिम्मेवारीमा बस्नेले बुझ्ने र सम्बोधन गर्ने गर्नै पर्छ। सत्तामा पुग्न सक्ने दल र जिम्मेवारी बहन गर्नुपर्ने मानिसले जहाँ पनि र जहिले पनि जिम्मेवार हुनु राम्रो हुन्छ। सदावहार आलोचकको भूमिकाको बेग्लै कुरो हुन्छ। आलोचकको तर्क, तथ्य, स्वार्थ र पक्षधरता पनि बुझ्नु जरुरी हुन्छ।सरकारले जनआवाज सुन्नुपर्छ, प्रतिपक्षलाई बुझ्नुपर्छ, तिनले पनि नेपालको प्रतिनिधित्व गर्छन् तर भावना, लहड र प्रतिपक्षी भूमिकामा बस्ने भन्दा सरकारमा बस्ने जिम्मेवार हुनै पर्छ। अझ दीर्घकालिन विकास, रक्षा र परराष्ट्र मामिलामा दलिय मतैक्यता कायम गर्न सके राम्रो । 

    अघिल्लो पटक मोदीको भ्रमण र तत्कालीन संविधानसभामा गरेको संबोधनले नेपाली जनमानसमा छाडेको सकारात्मक छाप संविधान जारी भएपछि नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले पूर्ण रूपमा खोक्रो सावित गरेकाले यस पटक त्यो पुछ्ने प्रयासका रूपमा रह्यो। अघिल्लो पटक मोदीको भ्रमण मूलत: राजनीतिक, सामाजिक, आर्थिक विकासमा केन्द्रित थियो भने यस पटक सामाजिक, सांस्कृतिक र धार्मिक विषयमा केन्द्रित देखियो।

    अघिल्लो पटक मोदीले जुन उत्साहप्रद आत्मीय अभिव्यक्ति दिएका थिए, त्यसलाई नाकाबन्दीले मात्र खुइल्याएन, दिएका वचन लगभग सबै अधुरै रहे। यसले पनि सम्झौता गरेर काम नगर्ने वा एउटा वचन दिएर अर्को काम गर्ने भारतको पुरानै अनुहार फेरि देखाइदियो।

    अघिल्लो पटक उनी अर्तिबुद्धि दिने र प्रभाव जमाउने शैलीमा प्रस्तुत भएका थिए भने यस पटक मोदी नाकाबन्दीले नेपाली मनमा पारेको नकारात्मकतालाई नबोली मेटाउनका लागि समभावमा देखिए। वास्तवमा अघिल्लो पटक मोदीले जुन उत्साहप्रद आत्मीय अभिव्यक्ति दिएका थिए, त्यसलाई नाकाबन्दीले मात्र खुइल्याएन, दिएका वचन लगभग सबै अधुरै रहे। यसले पनि सम्झौता गरेर काम नगर्ने वा एउटा वचन दिएर अर्को काम गर्ने भारतको पुरानै अनुहार फेरि देखाइदियो। यो देखिनमा मोदी कति जिम्मेवार छन्? वृटिसकालीन मानसिकता भएको त्यहाँको कर्मचारीतन्त्र कति जिम्मेवार छ? यसको मूल्याङ्कन हुँदै जाला। जे बोलेर जति शुद्ध मन भएको दाबी गरिए पनि नाकाबन्दीले नेपाली मनलाई भारतीय सरकार, अझ मोदी सरकारप्रति नकारात्मक बनाइदियो। हुनत भारतीय जनता पार्टी सरकारमा हुँदा मात्र होइन, राणाकालको अन्त्यमा एक पटक पंचायतकालमा तीन पटक (२०१९, २०२६-०२७, २०४५-०४६) र पछिल्लो पटक २०७२ मा ओलीको प्रधानमन्त्रित्वकालमा गरी पटक पटक नाकाबन्दी गरेको छ।

    नाकाबन्दीमार्फत् नेपाललाई आफ्नो दबाब र प्रभावमा राख्ने भारतीय चाहनाले नेपाली सरकार र नेताहरू भन्दा पनि जनतामा नकारात्मक प्रभाव पर्नाले भारतलाई नै पटक पटक नोक्सान हुने गरेको छ। दशकौँ लगाएर भारतप्रति बन्न लागेको सद्भावलाई कुनै सरकार, व्यवस्था वा व्यक्तिलाई तह लगाउने आसयका साथ भारतले दिने पीडाबाट नेपालीहरू पटक पटक सशंकित बन्छन् र पुरानै ठाउँमा फर्किन बाध्य हुन्छन्, जो यस पटक मोदी स्वयंले महसुस गरेको हुनु पर्छ।

    नेपाल भारत सम्बन्ध मोदीले भने झै नेपाल विना धाम अधुरा र सीता विना राम अधुरा मात्र होइन, दैनिक जीवन सामाजिक, धार्मिक र साँस्कृतिक सम्बन्धको कुरा गर्दा नेपालले लिएका लिइरहेका, लिनुपर्ने र लिन सक्ने कुराको सूची अझ लामो बन्छ। नेपालको सबैभन्दा धेरै व्यापार हुने र भर पर्नुपर्ने छिमेकी भारत नै हो। नेपाली जनशक्तिले रोजगारीका लागि पहिलो पाइलो भारतमै हाल्छन्। भारतको सुरक्षाको जिम्मा लिएर बसेका विदेशीमा नेपाली मात्रै हुन्। अझ तेस्रो मुलुकको रोजगारीमा नेपालीहरू जान थालेपछि नेपाल कृषि उत्पादनमा समेत भारतमा भरपर्ने अवस्थामा पुगेको छ। यी यावत कुरा हुँदाहुँदै पनि दुवै देशबीच शंका र अविश्वास चरम रूपमा रहेको छ किन ? किनभने भारत नेपाललाई अन्य मुलुकसँगको सुरक्षा मामिलामा निर्देशित घेराभित्र राख्न चाहन्छ। यसका लागि नेपाली नेताहरू आफ्ना स्वार्थ साट्न पाइने लोभ बोकेर पटक पटक अनेक ढंगले पराईको स्वार्थमा उपयोगी पनि हुने गरेका छन्।

    त्यसैले पनि हाम्रा कतिपय दल र नेताको सम्बन्ध भारत  मामिलामा असन्तुलित हुने गरेको छ। उनीहरूको बोली पटक पटक फेरिने गरेको छ। वास्तवमा नेपाल स्वतन्त्र मुलुकका नाताले कुनै पनि छिमेकीको अहित नहुने गरी आफ्नो कुरा आफैँ गर्न चाहन्छ, गर्नुपर्छ, यो नै सबैभन्दा प्रस्ट राष्ट्रवाद हो। भारत विरोधलाई मात्र राष्ट्रवादका रूपमा बुझ्नु सर्वथा गलत हो, न त चीन समर्थन राष्ट्रवाद हो। यसमा भारत, चीन वा अरू कसैले शंका नगरे हुन्छ। बरु यसका लागि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले देशका लागि कसबाट के दिन र के लिन सकिन्छ अध्ययन गरेर गम्भिर भएर कदम चाल्नु जरुरी छ। छिमेकी देश भारत र चीन दुवैको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै नेपालले कतिपय विषयमा मध्यस्थताको भूमिका निर्वाह गर्न सक्दा झनै राम्रो। यसको बदला अहिले त राजनीतिक, भाषिक, सामाजिक र साँस्कृतिक रूपले आपसमा निकै टाढा रहेका दुवै छिमेकी नेपालको मामिलामा लगभग एक भएर बेलाबखत सल्लाहका रूपमा निर्देशन दिने अवस्थामा पुगेका चर्चा सुन्नुपर्ने स्थिति छ।

    वर्तमान विश्वमा भारतविरुद्ध चीन वा चीनविरुद्ध भारत अर्थात बेलाबखत भनिने गरेको 'चाइना कार्ड' वा 'भारत कार्ड' चल्छ भन्ने कसैले नसोचे हुन्छ।  उनीहरूको कूटनीतिक र व्यापारिक सम्बन्ध हामीले सोचेभन्दा धेरै माथि छ। भारतका कतिपय नेता वा कर्मचारी सन् १९६० को भारत-चीनबीचको लडाइँको मानसिकतामै अल्झिएर नेपाल उपयोग हुने त्रासको बिस्कुनमा आफ्नो पिठो सुकाउन चाहन्छन्। वास्तवमा तीनले सुकाएको पिठो बजार अर्थतन्त्रको हावामा उडेर जान्छ भन्ने उनीहरू नै बुझ्दैनन्। चीन विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो साहु अमेरिकासँग प्रतिस्पर्धा गर्न थालिसकेको कुरा भारतले बुझ्नु जरुरी छ। अहिले विश्वमा बजारले अन्तर्राष्ट्रिय सम्बन्धहरू निर्धारण गर्छ। त्यसैले भारतले छिमेकीहरूका मामिलामा के बुझ्नुपर्छ भने हरेक विषयमा जति उदार सम्बन्ध राख्यो, त्यति नै उसले चाहेका कुराहरू हुँदै जाने छन्।

    नेपाल र भारत छिमेकी मित्र राष्ट्र हुन्। भनिन्छ- धेरै कुरा फेर्न सकिन्छ, छिमेकी फेर्न सकिँदैन। यस सन्दर्भमा दुई पक्षका भ्रमणहरूले थप विश्वासको वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि भ्रमणताका गरेका वाचा समयमा पूरा भए मात्र पक्का हुन्छ। हालै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वा केहीअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सम्बन्धको यो गहिराइमा पुग्नेभन्दा पनि तत्कालका दुर्भाव मेटाउने कोसिसमा सीमित देखिन्छन्। यो कोसिस पनि यस्तो रह्यो कि दुवैले आपसमा बिझाउने विषय उच्चारण नै गर्न सकेनन्। माला, खादा सम्मानमा सीमित भए। न त मोदीले उनलाई आफन्त सम्झेर स्वागतमा कुचो लगाउनेको भावना बोल्न सके, न त नाकाबन्दी गरेको संविधानको असहमतिको नै विषय कोट्याए वा  न पटक पटक भारतीय खुफियाको भाषामा भनिने कथित आतंकवाद र जाली नोटको कुरा उठाए।

    यस पटक जनकपुर, पशुपतिनाथ र मुक्तिनाथ केन्द्रित मोदी भ्रमणका सन्दर्भमा आएका रामायण सर्किट, लुम्बिनी सर्किट र महावीर सर्किटका कुराले दुई देशको धार्मिक पर्यटन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई माथि उठाउन सक्छ। यसलाई विशेष रूपमा हेरिनुपर्छ। नेपाल-भारतबीच भएका यस्ता विषय पटक पटक आउने र स्मृतिबाट हराएर जाने वा पूरा नभई दशकौँ सम्म हुलाकी राजमार्ग वा पंचेश्वरझैँ अल्झिरहने गरेका छन्। देश-देशबीचका सम्बन्धमा स्वार्थ हुन्छ, जसलाई खुला गरेर आपसी हितका लागि साटासाट गर्नुपर्छ, छोपेर होइन।

    नेपालको नेतृत्वले आफूलाई बढी परिपक्व रूपमा परिमार्जित गरेर झुक्ने र भुक्ने अतिवादबाट मुक्त हुनुपर्छ भने भारतीय नेतृत्वले दोहोरो चरित्र र कुटिलता त्याग्नै पर्छ। यसो गरिएन भने सम्बन्धमा थप जटिलता पैदा हुन्छ, जसको परिणाम दुवैका लागि सहज हुँदैन।

    यस पटक नेपाली पक्षले धेरै विषयमा बोलेको सुनिएन। नबोलेर समस्या सुल्झिँदैन भने कूटनीतिमा धेरै बोल्नु पनि हानिकारक हुन्छ भनिन्छ। तर नेपाल-भारत सम्बन्ध अप्ठ्यारोमा पर्नमा नेपाली नेतृत्वको गाली वा चाकडी र भारतीय पक्षको अघोषित उद्देश्य बढी जिम्मेवार छ। यस पटक पनि पहिलेदेखिका विषय त परै जाऊन्, तत्कालका सीमा क्षेत्र डुबान, ५०० र एक हजारका भारतीय नोट सटही, व्यापारघाटा, सीमा क्षेत्रका दैनिक समस्या, विवादमा रहेका सिमानाका कुरा न उठे, न त पारवहन समस्याका कुरा नै नेपालले उठायो। 

    विवादका विषयमा पनि दुवैलाई बिझाउने विषय, एक पक्षलाई बिझाउने विषय, साटासाट गरेर मिलाउने विषय, मिल्ने विषय, मिलाउन सकिने विषय वा मिलाउनै नसकिने विषय केलाउन अहिलेसम्म दुवैले भ्याएका छैनन्। तर तिनलाई सम्बोधन नगरी समस्या समाधान पनि हुँदैन। यसको निर्क्योल गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको प्रतिवेदन आउनु र कार्यान्वयन हुन दशकौँ लाग्ने देखिन्छ। तर नेपाल-भारत सम्बन्ध सुधार गर्न कुन शब्द, कुन आवरण वा कुन रूपमा अवलम्बन गर्नुपर्ने हो, कर्ताले जान्ने विषय हो तर सारमा केही कुरा छिट्टै गर्नुपर्ने देखिन्छ।

    प्रथमत: नेपाल-भारतबीच रहेको खुला सिमानालाई व्यवस्थित गर्नु दुवै देशको हितमा हुनेछ। दोस्रो, दुवै देशले एकअर्काका अहितमा तेस्रो मुलुकको उपयोग गर्ला कि भन्ने शंकाको स्थिति रहन दिनुहुँदैन। तेस्रो, भारतले नेपाललाई भूपरिवेष्ठित मुलुकको नाताले समुद्र मार्गको निर्बाध उपयोग गर्न दिनुपर्छ। चौथो, दुवै देशको अहित हुने कुनै कुरा आए संयुक्त रूपमा कारवाही गरिनुपर्छ। पाँचौँ, नेपाल जसरी भारतको कास्मिर मामिलामा तटस्थ बस्छ, त्यसरी नै तिब्बत मामिलामा पनि तटस्थ बस्ने स्वतन्त्रता राख्छ भन्ने भारतले बुझ्नु जरुरी छ। छैठौँ, दुवै देशका राजनीतिक व्यवस्था, नेतृत्व संविधान कानुन र कानुनी कारवाहीका विषय दुवैका आन्तरिक मामिला हुन् भन्ने स्वीकार गर्नुपर्छ। सात, दुवै देश एउटै पानीढलोमा अवस्थित छन्, एउटाकोमा पानी पर्दा वा खडेरी लाग्दा वा आँधी आँउदा अर्कोले पनि समान पीडा भोग्नुपर्छ।

    यति मात्र होइन, एउटाले कृषि उत्पादनमा प्रयोग गर्ने बिषले दुवै सँगै मर्नुपर्ने अवस्था छ। त्यसैले पर्यावरणीय सन्तुलन र दिगो विकासको अवधारणामा दुवै देशले सहकार्य गर्नुपर्छ। मोदीको यो भ्रमणका क्रममा जे जति र जे जस्ता काम भए, तिनलाई दुवै देशका हितमा लगाउन दुवै देशको नेतृत्व सजग हुनुपर्ने छ। मूलत: नेपालको नेतृत्वले आफूलाई बढी परिपक्व रूपमा परिमार्जित गरेर झुक्ने र भुक्ने अतिवादबाट मुक्त हुनुपर्छ भने भारतीय नेतृत्वले दोहोरो चरित्र र कुटिलता त्याग्नै पर्छ। यसो गरिएन भने सम्बन्धमा थप जटिलता पैदा हुन्छ, जसको परिणाम दुवैका लागि सहज हुँदैन। तर सबैले बुझ्नुपर्छ- हरेक कुराको विकल्प पनि हुन्छ। तर सहजतापूर्वक हुने कुरा हुँदाहुँदै कसैले पनि विकल्पको कल्पना गर्नु असान्दर्भिक हुनेछ त्यसैले अहिले नैं विकल्पको कुरा नसोचौं । 

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]