|

रौतहट : २०७४ सालकाे साउन महिनाको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालीको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयमा बढेको छ। अघिल्लाे वर्ष ३७ जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदी नै हो। 

बाढीले सो नदीको बिभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो। बाढीेले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदा हुँदै पनि ती भत्किएका बाँध अझै पनि निर्माण हुन सकेका छैनन्। सो नदी नियन्त्रण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवारीपुर बाराको चरम लापरवाहीका कारण यसपालीको वर्षायममा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा बढेको स्थानीयवासीले बताउने गर्दछन्। 

बाढी आएको नाै महिना बितिसक्दा पनि सो कार्यालयले बाँध बाँध्न पहल गरेको छैन। अहिले आएर हतारमा काम सुरु हुन थालेको स्थानीयको आरोप छ। सो डिभिजन कार्यालयले बाढी प्रभावित बौधीमाई नगरपालिका क्षेत्रमा पर्ने सो नदीमा अझै पनि बाँध निर्माणको लागि कुनै पहल नगरेको नगरपालिकाका प्रमुख राजु रंजन यादवले बताए। अहिले बकैया नदीमा बाँध बाँधिएन भने फेरि मानवसहित ठूलो धनजनको क्षति हुने उनले आशंका गरे। जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय प्रमुख राजकुमार श्रीवास्तवलाई पटक पटक बाँध बाँध्नको लागि आफ्नो क्षेत्रमा आएर हेरिदिन र काम गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरेको नगर प्रमुख यादवको आरोप छ।

बकैया नदी नगरपालिकाको इनरवाटोलबाट ठूलो भूभागमा बाँध कटान गरेर गाउँ पसेको थियो। उक्त बाँध फुटाएर पसेको बाढीले सो नगर क्षेत्रको इनरवा, पिपरिया, कोपुवा, बसन्तपट्टी लगायतका आधादर्जन भन्दा बढी गाउँ डुबानमा परेका थिए। आम नागरिकलाई डुबानबाट बचाउनका लागि छिटो भन्दा छिटो बाँध बाँधिदिन डिभिजन प्रमुख श्रीवास्तवलाई आग्रह गरेको नगर प्रमुख यादवले बताए। नगर सभाले नदी नियन्त्रणको लागि २० लाख मात्र छुटाएको थियाे। तर सो क्षेत्रमा ठूलो रकम लाग्ने उनको भनाइ छ।

यता देवाही गुनाही नगरपालिकाअन्तर्गत रहेको क्षेत्रमा भने बाँध बाँध्ने काम भर्खर सुरु भएको सो नगरपालिकाका नगर प्रमुख धमेन्द्र पटेलले जानकारी दिए। नगरका विभिन्न ६ स्थानबाट बकैया नदीले बाँध फुटेर बाढी गाउँ पसेको थियो। नगर प्रमुख पटेलले दिएको जानकारी अनुसार देवाही पुल, कर्कच, दोहरटोल लगायतका क्षेत्रमा बाँध कटान गरी बाढी गाउँमा पसेको थियो। ‘बाँध बाँध्ने काम सुरु भएको छ। डिभिजन कार्यालयलाई असार मसान्तभित्र काम गुणात्मक रुपमा सम्पन्न गर्न हामीले आग्रह गरेका छौँ,’ नगर प्रमुख पटेलले भने। 

नगर प्रमुख पटेलले थपे, ‘यदि गुणात्मक रुपमा काम सम्पन्न भएन भने नगरपालिकाले जति पनि भौतिक निर्माणका कामहरू भएका छन्। ती सबै सखाप हुनेछन्।तसर्थ बाँध बाँध्ने कामलाई तीब्रता दिन भिडिजन कार्यालयलाई अनुरोध गरेका छाैं।’ यदि काम सम्पन्न भएन भने गत वर्षको भन्दा बढी ठूलो धनजनको क्षति हुने नगर प्रमुख पटेलको दाबी छ। बाढी पसेपछि सो नगरमा एक जनाको ज्यान गएको थियो। यता जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख राम अशिष राय यादवले बाँधको काम गर्न ढिलो भएको बताएका छन्। ‘यति खेर बाँधको काम सक्नुपर्ने तर भर्खर सुुरु भएको छ। केही स्थानमा सुरु पनि भएको छैन। यो जटिन समस्या हो’ उप प्रमुख यादवले भने।

उप प्रमुख यादव भन्छन्, ‘काम सुरु नभएको ठाउँमा यथाशीघ्र काम सुरु गर्नुपर्छ र ठूलो जनशक्ति लगाएर भए पनि काम सम्पन्न गर्नुको कुनै विकल्प नै छैन।’ यसैगरी परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले रौतहटको पूर्व बागमती र पश्चिम लालबकैया खोलाको वर्षायाम बाढीबाट वर्षेनी ठूलाे मानवीय क्षति हुनबाट बचाउँने अभियान चलाउँन आवश्यक रहेको बताएका छन्। 

नेपाल नगरपालिका संघ प्रदेश २ का सभापति समेत रहेका वकिलले नदी नियन्त्रण कार्यालयले बाँध बाँध्नका लागि कुनै किसिमको जिम्मेवारी बोध गराउन नसकेको आरोप लगाएका छन्। बाँध निर्माण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कुनै पहल नगरेको उनको भनाइ छ। लाल बकैया खोलाको पानीले सयौँ विगाह कृषियोग्य जमिन कटान र दर्जनाैं गाउँ डुबान हुँदै आएकाले यसबाट बचाउन लाल बकैया खोलामा वर्षायाम अगावै फुटेका बाँध मर्मत गरी सम्बन्धित नदी नियन्त्रण कार्यालयसँग खर्च भएको रकममा उपलब्ध गराउन पहल गर्ने गरी काम गराइराखेको नगर प्रमुख वकिलले बताए। 

नदी नियन्त्रणले गर्नुपर्ने कार्य यो नगरपालिकाले गरेको हुनाले कार्यको अनुगमन गरी सम्बन्धित निकायले परोहा नगरपालिका-५ को तेजापाकड टोल लगायत क्षेत्रमा लाल बकैया खोलाले पुर्‍याउने क्षति न्यूनीकरणका लागि तटबन्धन कार्य ठोस गरेर बोल्डर जाली र कृषियोग्य जमिन कटान न्यूनीकरणका लागि तटबन्ध गर्न पहल भएको नगर प्रमुख वकिलले बताए।

लालबकैया खोलाले सो नगर क्षेत्रको तेजापाकड र लौकाहाबाट फुटेको बाँधले सो क्षेत्र डुबानमा परेको थियो। उक्त नदीबाट आएको बाढीले देवाही गुनाही नगरपालिका, बौधीमाई नगरपालिका, राजपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, इशनाथ नगरपालिका र गौर नगरपालिका गरी आधादर्जन भन्दा बढी नगरपालिकालाई प्रभावित बनाउँदै आएको छ। साउनको २७ गतेदेखि ३१ गतेसम्म बकैया नदी र बागमती नदिमा आएको बाढी बाँध फुटेर गाउँ पसेपछि रौतहट पूरै डुबानमा परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.