हिन्दूराज्य माग्नेलाई प्रधानमन्त्रीले भने : असान्दर्भिक भयो

|

काठमाडौं : भारतको गोबर्धन मठका पुरी पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ।

नेपालमा क्रियाशील विश्व हिन्दू महासंघ लागायतका हिन्दू धर्मसँग सम्बन्धित संगठनहरूको मूल आयोजक समितिले निश्चलानन्दलाई मंगलबार टुँडिखेलमा नागरिक अभिनन्दन गरेको हो। निश्चलानन्दलाई १४५औँ जगतगुरु शंकराचार्यका रुपमा पनि लिइन्छ।   

उनको नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा हिन्दू धर्ममा आस्था राख्ने सयौंको उपस्थिति रहेको थियो।

नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै निश्चलानन्द सरस्वतीले नेपाल पूण्य भूमि रहेको र नेपालसँग आफ्नो विशेष सम्बन्ध रहेको बताए। उनले काठमाडौं धार्मिक र राजनीतिक राजधानी रहेकाले यहाँ आउन पाउँदा आफूलाई खुसी लागेको बताए। उनले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने र त्यसको पाठ भारतलाई पनि पढाउनुपर्ने बताए। उनले विश्वमा हिन्दूराज स्थापनाका लागि नेपालबाट क्रान्तिको सुरुवात गर्नुपर्ने धारणा राखेका थिए।

त्यसपछि बोलेका प्रधानमन्त्री ओलीले भने नेपाल परिवर्तनमा गइसकेको धारणा राखे।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपाल गणतन्त्रमा गइसकेको छ। उनले नेपालमा शान्ति कायम गर्न सरकार तत्पर रहेको बताए। उनले सबैले परिवर्तनलाई स्वीकार गर्नुपर्ने धारणा राखेका थिए। समयसँगै हुने परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्नेमा सचेत गराएका थिए। कुनैपनि संस्थाको समयअनुसार सान्दर्भिकता हुने र त्यसले समयअनुसार आफूलाई कायम गर्न नसके असान्दर्भिक भएर जाने ओलीको भनाइ थियो। उनले आफू देश र जनताको काममा लागेको बताउँदै प्रधानमन्त्रीका रुपमा पदमा रहेसम्म आफू धर्मबाट नचल्ने बताए। उनले नेपाललाई विकासको मार्गमा लिने तथा विश्व शान्तिका लागि भूमिका खेल्ने बताए।

कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहले नेपाललाई हिन्दूराज्य घोषणा गर्नुपर्ने माग राखेका थिए। उनले प्रधानमन्त्रीले तन मन र धनले सहयोग गर्ने अपेक्षा गरेको बताए।

काठमाडौं महानगरपालिकाका पूर्वप्रधानपञ्च हरिबोल भट्टराईले प्रधानमन्त्री ओलीको कार्यकालमा नेपाललाई संवैधानिक रुपमा हिन्दूराज्य घोषणा गर्नुपर्ने बताए। उनले हिन्दूहरू एकढिक्का भएको र प्रधानमन्त्रीले त्यो कुरा बुझेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.