तत्काललाई एकता 'होल्ड'

|

काठमाडौं : माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सोमबार बसेका संसद बैठकमा सरकारको आलोचना गरिन्। भुसालले भारतीय प्रधानमन्त्री नेपाल आउँदा भारतीय सुरक्षाकर्मी नेपाल आएकोप्रति असन्तुष्टि जनाइन्।

यस्तै, एमाले संसद महेश बस्नेत र कृष्णगोपाल श्रेष्ठले पनि गृहमन्त्री रामबहादुर थापाको कार्यशैलीप्रति आपत्ति जनाए। यसरी दुई सत्तारुढ दलबीच संसदमा एकअर्काप्रति घोचपेचले एमाले र माओवादीबीच केही तिक्तता आएको प्रष्टै हुन्छ। पछिल्लो समय सत्ता संचालनका विषयले एमाले-माओवादीको दूरी क्रमश: बढ्दै गएको देखिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समयको कार्यशैलीप्रति माओवादी केन्द्रले आन्तरिक रूपमा असहमति जनाउँदै आएको छ। कतिपय नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीले पार्टी एकतामा असर गर्ने धारणा राख्दै आएका छन्।

पछिल्ला दिनहरूमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट पातलिएको छ। प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएको माओवादी र एमालेबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि अझ फाटो आएको छ।

प्रधानमन्त्री ओलीले भारतीय प्राधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा सत्ता साझेदार दल माओवादीसँग छलफल नगरेपछि माओवादी केही सशंकित भएको माओवादी नेताहरू बताउँछन्।

पछिल्लो समय ओली र प्रचण्डबीचका भेट वार्तामा एकताका विषयमा खासै छलफल हुन छाडेको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले जानकारी दिए। उनले भने, ‘पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीले केही समस्या बनाएको छ। अध्यक्षहरूबीच छलफल हुँदा पनि एकताको विषयले खासै प्रवेश पाएको छैन। उहाँहरू यही सरकार संचालनका विषयमा बढी केन्द्रित हुनुभयो।’

ती नेताले पार्टी एकता तत्काल नहुने बताए। ‘पार्टी एकता त आवश्यकता नै हो, नगरी हुँदैन तर अहिलेको अवस्थाले तत्काल एकता गाह्रै छ। यसको अर्थ हुँदैन भन्ने पनि होइन’, उनले भने, ‘तत्काललाई एकताको विषय होल्ड भयो तर हामीलाई अध्यक्ष प्रचण्डले पनि यी विषयमा खासै बाहिर नबोल्नु भन्नुभएको छ।’

पार्टी एकताका लागि गठित एकता संयोजन समितिले केही विषय मिल्न बाँकी रहेको भन्दै दुई अध्यक्षलाई ती विषय मिलाउने जिम्मेवारी दिएको थियो। तर जिम्मेवारी दिएको करिब एक महिना हुन लाग्दासमेत केही निष्कर्ष आउन सकेको छैन।

पटक पटक बस्ने दुई अध्यक्षको 'वान टु वान' छलफल एकअर्काप्रति बार्गेनिङ गर्ने खेलमा अड्किएको छ तर नेताहरूले भने वार्ता सकारात्मक भएको बताउँदै आएका छन्। पार्टीको सांगठानात्मक संरचना, पार्टीको मार्गदर्शक सिद्धान्त र पार्टीको चुनाव चिह्न के रहने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। ‘नमिलेको सांगठानिक विषय नै हो। वैचारिक कुरा त लगभग मिलिसकेको छ’, माओवादी केन्द्रका एक कार्यालय सदस्यले भने, ‘बाहिरचाहिँ महाधिवेशनपछिको अध्यक्ष प्रचण्डले मागे भनेर आएको छ।'

उनले त्यस्तो नभएको बरु माअोवादीले महाधिवेशनअघिका विषय मात्र उठाएको बताए। यस्तै, विचारका कुरामा पनि केही मदभेद रहेको ती नेता बताउँछन्। भन्छन्, ‘हामी माओवाद भन्छौँ, उहाँहरू जनताको बहुदलीय जनवाद भन्नुहुन्छ। यसम केही मतभेद आएको हो तर ठूलो होइन।’

यी विषयमा माओवादी सशंकित

एमालेसँग सत्ता साझेदार गरेको माओवादी केन्द्र प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सन्तुष्ट छैन। एकताको प्रक्रिया अघि बढिरहेका बेला ओलीले एकलौटी ढंगबाट सत्ता संचालन गर्न खोजेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ।

‘हामीलाई एउटै भएजस्तो व्यवहार भएन’, माओवादी केन्द्रका एक नेताले भने, ‘सरकारमा माओवादी पनि छ, माओवादी–एमाले एक हुन लागेका छन् भन्ने प्रधानमन्त्रीले सोच्नुभएन। यसले हामीमा शंका पैदा भयो।’ सरकारले हरेक निर्णय गर्ने समयमा माओवादीसँग पनि छलफल गर्नुपर्ने उनले बताए।

ओली प्रधानमन्त्री भएदेखि नै माओवादीलाई पेलेर गएको ती नेताले आरोप लगाए। उनले भने, ‘उहाँहरूले सुरुदेखि नै हामीलाई पेल्दै जानुभएको छ। अहिलेसम्म गरेका धेरैजसो निर्णयमा हामीसँग छलफल भएको छैन।’

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याउने ओलीको निर्णयप्रति गृहमन्त्री रामबहादुर थापा सशंकित भएका थिए। उनले यो कुरा पनि पार्टी अध्यक्ष प्रचण्ड समक्ष राखे तर यो विषय खासै बाहिर चर्चामा आएन।

त्यसपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जानु ठीक अघि ३० सचिव सरुवा भए। उक्त निर्णय गर्न ओलीले माओवादीका मन्त्रीहरूसँग छलफल गरेनन्। आफ्नो विभागको मन्त्री सरुवा गर्दा आफूहरूसँग छलफल नै नगरेको भन्दै माओवादी केन्द्रका मन्त्रीहरू असन्तुष्ट भए। यो विषय अध्यक्ष समक्ष पनि पुर्‍याए। यस विषयले निकै चर्चा पनि पायो। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बैठकमा पनि उठ्यो। प्रचण्डले यो विषय प्रधानमन्त्री ओलीसँग बसेर मिलाउने भन्दै मन्त्रीहरूलाई थमथम्याए।

फेरि प्रधानमन्त्री ओलीले माओवादी मन्त्री र माओवादी नेतृत्वलाई नसोधी अन्य निर्णय पनि गर्दै गए। यस्तै, एमालेले बजेट निर्माण गर्ने बेलामा पनि माओवादीलाई नसोधेको माओवादी केन्द्रका एक नेताले आरोप लगाए। उनले भने, ‘हामी पनि सरकारमा छौँ। झन् पार्टी एक हुने भनेर चुनावी घोषणापत्र पनि एउटा बनायौँ तर बजेट निर्माण गर्ने बेला हामीसँग छलफल नै गरिएन। पार्टी एकता गर्ने भएपछि सानासाना कुरामा पनि ख्याल गर्नुपर्छ।’

यस्तै, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले पनि यी दुई दलबीचमा केही मतभेद सिर्जना भएको छ। मोदीको भ्रमणको समय तालिका बनाउँदा पनि माओवादीसँग छलफल नगरेको माओवादीले आरोप लगाएको छ।

मोदीको भ्रमणका बेला प्रधानमन्त्रीले माओवादीसँग सल्लाह नै नगरी भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्न दिएको भन्दै माओवादी केही सचेत बनेको छ। यस्तै, मोदीको भ्रमणका बेला अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका क्रममा ऊर्जामन्त्री वर्षमान पुनलाई नबोलाइएको भन्दै माओवादीले आपत्ति जनाएको छ।

‘एकताका लागि छलफल जारी छ’

एमालेले भने एकताका लागि छलफल भइरहेको बताएको छ। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार ओली र प्रचण्डबीच छलफल भइरहेको बताएको छ।

स्रोतले भन्यो, ‘बाहिर आएजस्तो एकता भाँडिएको होइन, अध्यक्षबीचमा छलफल भइरहेको छ। भारतीय प्रधानमन्त्री फर्किएपछि पनि छलफल भयो।’ तर, छलफलले निष्कर्ष भने निकाल्न नसकेको स्रोतले बताएको छ।

यस्तै, मोदीको भ्रमणका क्रममा शिलान्यास भएको अरुण तेस्रोको कार्यक्रममा ऊर्जामन्त्रीलाई नबोलाइएको बन्ने विषय ठूलो नभएको स्रोतले बतायो। ‘एकता नचाहने केही साथीहरूले निकाल्नुभएको बखेडा हो तर अरुण तेस्रो शिलान्यास गर्दा कसैलाई पनि बस्ने सोफा राखिएको थिएन। भारतीय प्रधानमन्त्री र हाम्रा प्रधानमन्त्रीले उठेर शिलान्यास गर्नुभयो’, उनले भने, ‘ऊर्जामन्त्री पनि रात्रि भोज कार्यक्रममा त सहभागी हुनुहुन्थ्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.