|

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले कृषि क्षेत्रमा काम गर्न चाहनेहरूका लागि सरकारले सहयोग गर्ने बताएका छन्। कृषि मर्यादित र सम्मानित पेसा भएको भन्दै मन्त्री खनालले स्वदेशमै केही गर्छु भन्ने सोच भएकाहरूलाई राज्यले सहयोग गर्ने बताएका हुन्।

इजरायली दूतावास र साना किसान बैंकले संयुक्त रूपमा काठमाडौंमा गरेको साना किसान कृषि तालिम कार्यक्रममा मन्त्री खनालले विदेशमा सिकेको सीपलाई सदुपयोग गर्ने गरी सरकार सहयोगी हुने प्रतिवद्धता जनाए। 

छोटो समयमै मुलुकलाई कृषिको माध्यमबाट माथि उठाउन सकिने भन्दै मन्त्री खनालले विदेशबाट सिकेर आएको सीपलाई सदुपयोग गरी आयातलाई प्रतिस्थापन गर्ने गरी निर्यात  बढाउनुपर्ने धारणा राखे।

इजरायलमा २.८ प्रतिशत मानिसले खेती गरेर ८० प्रतिशत उत्पादन निर्यात गर्ने गरेको अनुभव सुनाउँदै मन्त्री खनालले नेपालले पनि कृषि क्षेत्रमा प्रगति गर्न सक्ने दाबी गरे।

नेपालमा ६६ प्रतिशत मानिस कृषिमा आश्रित भए पनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको र थप ५० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले अब यस्तो अवस्था परिवर्तन गर्नुपर्ने प्रस्ट पारे।

नेपालको हिमालदेखि तराईसम्म १६ प्रकारको हावापानी रहेको भन्दै मन्त्री खनालले संसारमा उत्पादन हुने सबै वस्तु नेपालमै उत्पादन हुने बताए। तर नेपालमा उत्पादन हुने वस्तु संसारका सबै ठाउँमा उत्पादन हुन नसक्ने उनको भनाइ थियो।

कार्यक्रमबाट इजरायलमा पढ्न जानका लागि १०० जना विद्यार्थीको छनोट गरिएको छ। मापदण्ड पुगेका ३७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो। यस वर्ष इजरायलमा पढ्न ५४० जना जाँदै छन्। ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीमध्ये गोला प्रथाबाट २०० छानिएका छन्। त्यसमध्ये पनि स्वास्थ्य परीक्षण, प्लस टु पासलगायतका मापदण्ड पूरा गरेका १०० विद्यार्थी छनोटमा परेका हुन्। 

आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर समूहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि सीपसम्बन्धी तालिम लिनेछन्, जसमा २५ प्रतिशत महिला छन्। 

हालसम्म दुई हजार १४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन्।  ५४३ जना अहिले पनि इजरायलमै छन्। साना किसान बैंकका अधिकृत मनीष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले इजरायल पुगेर धेरै परिश्रम गर्नुपर्ने भएकाले त्यहीअनुसारको मानसिकतामा बस्न सुझाव दिए। उनले त्यहाँ सिकेको ज्ञान र सीपलाई नेपाल जस्तो सुन्दर र कृषिमा राम्रो भविष्य भएको मुलुकमा लगानी गर्न आग्रहसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.