विचार

अधिकमासलाई किन भनिन्छ मलमास ? तीन वर्षमा कसरी हुन्छ एक महिना बढी ?
SHARES

जेठ १, २०७५

    नेपाली पञ्चांगहरूले जेठ २ देखि ३० गतेसम्मको अवधिलाई अधिकमास उल्लेख गरेका छन्। सर्वसाधारणमा अधिकमास के हो र यसबेला के गर्न हुन्छ, के हुँदैन भन्ने जिज्ञासा रहेको पाइन्छ। 

    के हो अधिकमास ?

    चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। 

    हाम्रो प्रचलनमा रहेको पञ्चाङ्ग सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके। यद्यपि धार्मिक कार्यमा दुवैको संयोजन भएको महिना फलदायी मानिन्छ। 

    वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदा) देखि कृष्णपक्षको औँसी(वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ।

    चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।  

     संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिकमासलाई नै हेरौं न! जेठ १ र ३० गते औँसी परेको छ।

    एक महिनामा दुर्इ अाैँसी

     संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिकमासलाई नै हेरौं न! जेठ १ र ३० गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो।

    सामान्यतयः एक वर्षमा १२ महिना हुने भए पनि अधिकमास परेको वर्षमा १३ वटा चान्द्रमास हुन्छन्। चन्द्रमाको घडी पला  जम्मा हुँदै महिना नै ‘अधिक’को रूपमा आउने मास (महिना) भएकोले पनि अधिकमास भनिएको हो। 

    मलको रूपमा आएको तर्कअनुसार मलमास पनि भनिएको हो। मलमास अधिक र क्षय गरी दुई प्रकारको हुन्छ। एउटा अधिकमास, अर्को क्षयमास। अधिकमास २७ देखि ३२ महिनामा आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा १४१ वर्षमा आउँछ।  क्षयमास परेको अघि र पछि गरी दुई पटक अधिकमास पर्छ। ज्योतिषको प्रसिद्ध ग्रन्थ सिद्धान्त शिरोमणिमा भास्कराचर्याले  कात्तिक, मंसिर र पुसमा मात्र क्षयमास पर्ने बताएका छन्। 

    यसअघि २०७२ को असारमा अधिकमास परेको थियो। 

    अधिकमासको प्रभाव

    ज्योतिषीय रूपमा मात्र होइन धार्मिक सांस्कृतिक एवं व्यावहारिक दृष्टिले पनि अधिकमासको महत्त्व छ। अधिकमासले गर्दा हाम्रा साविकका चाडपर्वहरू एक महिना पर सरेका छन्। पुरुषहरूमा उत्तम भगवान् पुरुषोत्तमको आराधना गरिने परम्परा अनुसार पुरुषोत्तम मासको नामले पनि चिनिन्छ। बृहन्नारदीय पुराणअन्तर्गतको पुरुषोत्तममास माहत्म्यमा अधिकमासको उत्पत्ति र पुरुषोत्तम नामकरण आदि विभिन्न प्रसंग बताइएको छ। अधिकमासभरि पुरुषोत्तम माहत्म्य पाठ गरी भगवान् नारायणको आराधना गरिन्छ। 

    के गर्ने, के नगर्ने ?

    अधिकमासको समयमा मांगलिक शुभकार्यहरू गर्न नहुने बताइन्छ। विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्नु हुँदैन।  त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला बर्जित छन्। कामना राखेर तीर्थयात्रा पनि गर्न नहुने मान्यता छ।तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार रोकिँदैनन्।

    याे समयमा भगवान् पुरुषोत्तम (नारायण) को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ। बृहन्नारदीय पुराणअन्तर्गतको भनिएको 'पुरुषोत्तम माहत्म्य'मा अधिकमासको उत्पत्ति कसरी भयो र यसवेला के गर्न हुन्छ र के हुँदैन लगायत विभिन्न प्रसंग बताइएका छन्। 

    याे समयमा भगवान् पुरुषोत्तम (नारायण) को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ।

    यो महिनामा तुलसी पत्रले भगवान नारायणको पूजा आराधना गर्ने, श्रीमद्भागवत महापुराण श्रवण गर्ने लगायत विधान बताइएका छन्। यसबेला गरिने स्नान, दान र भगवान पुरुषोत्तमको आराधना विशेष फलदायी हुने बताइएको छ। अधिकमासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा मालपुवा दान आदि कार्य गरिन्छ। 

    विवाह भएको पहिलो अधिकमास पतिपत्नी सँगै बस्न नहुने जस्ता ज्योतिषका नियमहरूबारे माहत्म्यमा केही बताइएको छैन। यद्यपि वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा समेत नववधू पतिका घरमा बस्न नहुने कुराको विधान गरिएको छैन। ज्योतिषीय मान्यतालाई विश्वासको रूपमा कसैले पूरै महिना र कसैले सुरुका केही र अन्त्यका केहीदिन घर छल्ने गर्छन्।

    मच्छेनारायणमा मेला

    अधिकमासको समयमा नारायणका मन्दिरहरूमा मेला लाग्छ। विशेष रूपमा कीर्तिपुरस्थित मच्छेगाउँमा रहेको मत्स्यनारायणको मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ। पौराणिक ग्रन्थहरूमा बताइएका भगवान् विष्णुका दसमध्ये मत्स्य(माछा)लाई प्रथम अवतार मानिन्छ। जनविश्वासअनुसार भगवान् नारायणले मत्स्यावतार लिई विचरण गरेको स्थानकाे विश्वासमा याे ठाउँको ठूलो महत्त्व छ।  

    वैदिक कालगणनामा अधिकमास

    वैदिक परम्परा अनरूपको वेदांग ज्योतिष अनुसार अधिकमास हिजोआज परेजस्तो जुनसुकै महिनामा नपरी अयनान्त अर्थात् दक्षिणान्त (पौष) र उत्तरायणान्त (आषाढ) मा मात्र पर्छ भन्छन् यसका अध्येताहरू। 'वैदिक परम्परामा अधिकमास यी महिनाको पछाडि थपिएर आउँछ', वैदिक पात्रोका निर्माता प्रमोदवर्धन कौण्डिन्न्यायन भन्छन्, 'अहिलेको जस्तो महिनाको बीचमा कोच्चिएर होइन।' 

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]