|

काठमाडौं : अँधेरी नगरीको एउटा बजार, जसले समग्र नेपालको प्रतिनिधित्व गर्छ। त्यहाँ बजारमा व्यापार गर्न पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, हिमाल, पहाड र तराईका व्यापारी आउने गर्छन्। यसले गर्दा सबै नेपालीको पहिचान त्यही एउटै बजारमा देख्न पाइन्छ।

यही नेपालीको पहिचान एकै ठाउँमा हेर्नका लागि काठमाडौंस्थित कुञ्ज थिएटर पुग्नुपर्छ। त्यहाँ मञ्चन भइरहेको नाटक 'अँधेरी नगरी, चौपट राजा'मा सबै नेपालीको पहिचानलाई समग्रमा देखाउने प्रयास गरिएको छ। प्रसिद्ध भारतीय साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी, चौपट राजा’लाई नेपालीमा अनुवाद गरेर कुञ्जले मञ्चन गरेको हो। उक्त नाटक नेपालको परिवेशमा प्रस्तुत गरिएको छ। उक्त नाटकलाई संगीत सापकोटा र आशिष घिमिरेले अनुवाद र निर्देशन गरेका हुन्। 

सुरुवात नै आकर्षक

नाटक मञ्चन सुरु गर्नुअघि सामन्यतः सूत्रधारले नाटक घरको नियमका बारेमा जानकारी गराउँछ। उसले नाटकका नियम बताउँदै यसको उल्लंघन नगर्न निर्देशन दिन्छ। तर यो नाटक अवधिभरको नियमका बारेमा जानकारी गराउँदादेखि नै दर्शकलाई निकै आकर्षित गर्छ।

कालो लुगा, फेटाको केही भागमा रातो भएको कपडा लगाएर दुई युवा मञ्चमा प्रवेश गर्छन्। उनीहरूले नाटककै शैलीबाट नियमका बारेमा जानकारी दिन्छन्। यसले दर्शकलाई निकै मज्जाले हँसाउछ साथै नाटकप्रति राम्रोसँग आकर्षित पनि गर्छ।

केन्द्रीय पात्र चौपट राजा

नाटक सुरु भएसँगै तीन जना योगी मञ्चमा देखापर्छन्। भिस्ती (जीवन भट्टराई) तीन योगीमध्येका गुरु हुन्। उनका चेला गोवर्द्धन दास (श्रवणसिंह राना) र नारायण दास (संजितप्रताप मल्ल) छन्।

भिस्तीले आफ्ना चेलाहरूलाई आफ्नो सेवाका लागि केही गाउँगाउँमा माग्न पठाउँछ। त्यही क्रममा गोवर्द्धन अँधेरी नगर पुग्छ। एउटा अँधेरी नगर, जहाँ पूर्वदेखि पश्चिम, हिमाल, पहाडदेखि तराईसम्मका व्यापारीले आआफ्नो व्यापार गर्छन्। कपडा, सेकुवा, लड्डु, साग सब्जी सबैको आआफ्नै व्यापार हुन्छ।

त्यहाँ सबै सामानको मूल्य एक आना मात्र पर्छ। गोवर्द्धन त्यो देखेर अचम्ममा पर्छ। उसले मागेर सात आना बनाएको हुन्छ। त्यो पैसाले गुरुजीलाई लड्डु किनेर लगिदिन्छ। यति सस्तो छाडेर अन्त कहीँ नजाने निर्णयमा पुग्छ तर उसका गुरुजी भने त्यहाँ बस्न मान्दैनन्।

यो नगरमा केही रहस्य लुकेको उनलाई लाग्छ। गोवर्द्धनले आफू नजाने भनेपछि उनी अर्का चेला नारायणलाई लिएर अर्कै ठाउँ जान्छन्। तर केही परेमा गुरुलाई सम्झन गोवर्द्धनलाई आग्रह गर्छन्। यसपछि गोवर्द्धनको जीवनमा नयाँ मोड आउँछ। उनलाई के हुन्छ भन्ने थाहा पाउन कुञ्ज थिएटरसम्म पुग्नै पर्ने हुन्छ।

                                                                                           ०००००००

त्यसपछि नाटक नयाँ ‘सिक्वेन्स’मा प्रवेश गर्छ। त्यो अँधेरी नगरमा एउटा मूर्ख राजा हुन्छन्। उनको नाम चौपट राजा (प्रकु पाण्डे) हुन्छ। उनी यतिसम्म मुर्ख छन् कि एउटा सानो गल्ती कसैको भयो भने सबैलाई फाँसी दिन पनि तयार हुन्छन्।

एक दिन एक गाउँले (पिटर प्रिन्स)को बाख्रा डोले (जीवन भट्टराई) पर्खालले किचेर मार्छ। त्यो समस्या लिएर गाउँले राजाकहाँ जान्छन्। मूर्ख राजाले पर्खाल निर्माण गर्ने सबैलाई बोलाउँछन् तर कसलाई कारवाही गर्नुपर्ने भन्ने ठम्याउनै गाह्रो हुन्छ।

त्यसै क्रममा उनले बजारकै सबैभन्दा मोटो मान्छे ल्याउन मन्त्रीमार्फत् सिपाहीलाई लगाउँछन्। त्यो मोटो मान्छे गोवर्द्धन पर्छन्। तर अन्त्यमा आफ्नो मूर्खताका कारण राजा नै फाँसीमा चढ्नुपर्ने अवस्था आउँछ। उनी किन र कसरी फाँसीमा चढ्छन्, त्यसका लागि नाटक हेर्नै पर्ने हुन्छ।

तर नाटकले विवेकहीन र निरंकुश शासन व्यवस्थाप्रति तीखो व्यंग्य गरेको छ। पछिल्लो समय नेपालमा पनि यस्ता गतिविधि बढ्दै गएका छन्। कोही पहुँचवाला अर्कालाई सिध्याउन लाग्छन् तर अन्त्यमा आफ्नै कार्यद्वारा आफैँ पतन भएका उदाहारण नेपालमा पनि प्रशस्त छन्।

राम्रो पक्ष

नाटकमा धेरै राम्रा पक्ष छन्। नाटकलाई कलाकारहरूले निकै संवेदनशील भएर प्रस्तुत गरेका छन्। यहाँ कलाकारको कामलाई चाहिँ तारिफ गर्नै पर्छ। प्राय: सबै कलाकारले धेरै भूमिकामा देखिने प्रयास गरेका छन्। उनीहरू धेरै पात्रमा देखिए पनि छुट्याउन भने निकै मुस्किल पर्छ।

नाटकको अभिनय, संवादले नाटक सुरु भएदेखि अन्तिमसम्म सबै दर्शकलाई हँसाएको छ। नाटकको विषयवस्तुलाई ‘सस्पेन्स’ राखेर दर्शक माझ निकै कौतूहल हुन्छ। यो नाटकको राम्रो पक्ष हो।

सामाजिक कथावस्तुमा आधारित यस नाटकले व्यंग्यसँगै मनोरंजन पनि दिन्छ। नाटकलाई खोट लगाउने ठाउँ नै देखिँदैन। यसको निर्देशकीय पक्ष पनि त्यतिकै उत्कृष्ट छ। धेरै नाटकहरूमा धेरै कलाकार राखेर पट्यारलाग्दो बनाइएको हुन्छ। तर यो नाटक सीमित कलाकारमा निकै उत्कृष्ट छ। कलाकारले कहीँ पनि त्यसै समयलाई बर्बाद गरेको पाइँदैन।

प्रत्यक्ष संगीत तारिफयोग्य

नाटकमा प्राय: 'लाइभ म्युजिक' बजाइँदैन। धेरै नाटकमा रेकर्ड गरिएको र मिल्दोजुल्दो गीत/संगीत बजाइन्छ। तर यस नाटकमा भने लाइभ गीत/संगीतको प्रयोग गरिएको छ। मञ्चको एक छेउमा छन् चार जना, दुई जनाले गिटार बोकेका छन्, एक जना सारंगीमा छन् र एक जना प्रकुषणमा छन्।

यसले नाटकलाई निकै आर्षक बनाउन मद्दत गरेको छ। नाटकमा चरित्रअनुसार फरक फरक गीत तथा संगीत प्रस्तुत गरेका छन्।

नाटक सुरु हुनुभन्दा केही समयअघिदेखि संगीत बज्छ, त्यो संगीतले सबैको ध्यानलाई आकृष्ट गर्छ। दर्शकको नजर नाटकसँगै बाजा बजाइरहेका कलाकारतर्फ पनि त्यतिकै पुग्छ। त्यहाँ गीत प्रस्तुत गरिरहेका कलाकार संगीत सपकोटाको अभिनय पनि कम्तीको छैन।

उनी कुर्सीमै बसेर गीत प्रस्तुत गरिरहेका भए पनि नाटक प्रस्तुत गरिरहेकै भान हुन्छ। नाटकमा प्रयोग भएको संगीत तारिफयोग्य छ। संगीततर्फ संगीत सापकोटा, मोनिस निरौला, दिपेश काफ्ले र रोहित महर्जन रहेका छन्।

ध्यान दिनुपर्ने पक्ष

हुनत करिब डेढ घण्टाको नाटकमा सबै कुरालाई समेट्न निक्कै मुस्किल नै पर्छ। नाट्यकर्मीले निकै प्रयास गर्दागर्दै पनि केही ठाउँमा भने थोरै बिग्रिइहाल्छ। यो नाटकमा धेरै राम्रा पक्ष छन् तर नाटक प्रस्तुत गर्दा केही अन्य सामान्य पक्षमा पनि ध्यान दिने हो भने सुनमा सुगन्ध थपिने थियो।

नाटकमा हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिमसम्मका नागरिकको प्रतिनिधित्व पाइन्छ। त्यस्तै, तेस्रो लिंगीको पनि नाटकमा प्रतिनिधित्व गराइएको छ। तर नाटकमा सबै नागरिकलाई समेट्दा महिलालाई समेट्न सकेको छैन। यसले मीठो तरकारीमा थोरै नुन नपुगेको जस्तो हुन्छ।

नाटक प्रस्तुत गर्दै गर्दा केही ठाउँमा पत्याउनै गाह्रो हुने गरीको क्रियापकलाप पाइन्छ। नाटकमा दर्शक डुबिसकेपछि उसले त्यहाँभित्र वास्तविकता भेट्छ तर केही सामान्य विषयमा ध्यान नदिँदा खल्लो बन्न पुग्छ। त्यस्तै भएको छ यस नाटकमा पनि।

गोवर्द्धनले पटक पटक गुलियो लड्डु खाएजस्तो गर्छ। नाटकको कथाअनुसार उसले लड्डु खानु नै पर्ने हो तर केटाकेटीले खेल्दा माटोको खाना बनाएर खाएजस्तो लड्डुलाई खाएजस्तो मात्र गर्दा अलिक नमज्जा देखिएको छ। यसलाई सुधार गर्न सके नाटक अझ उत्कृष्ट हुने थियो।

नाटकमा जीवन भट्टराई, श्रवणसिंह राना, संजितप्रताप मल्ल, पिटर प्रिन्स, आरजेस रेग्मी, सागर दाहाल, बरात लिम्बू, दीपेन्द्र शाही, पुस्कर कार्की र प्रकु पाण्डेले अभिनय गरेका छन्। नाटक कुञ्ज थिएटरमा जेठ ५ गतेसम्म मञ्चन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.