|

जनकपुरधाम : प्रदेश-२ को प्रदेशसभा बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले बचाउ गरेका छन्। एमाले, कांग्रेस र माओवादी केन्द्रका सांसदले भने मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाएका छन्। 

मंगलबार बसेको प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद रामआशिष यादवले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा मुख्यमन्त्रीले बोलेको अभिव्यक्ति प्रदेशका जनताको प्रतिनिधित्व भएकाले टीकटिप्पणी गर्न नहुने बताए। राष्ट्रिय जनता पार्टी नेपालकी सांसद डिम्पलकुमारी झाले मुख्यमन्त्रीले प्रदेशका आफ्ना जनता समक्ष पनि राखेको बताइन्। 

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहको अध्यक्षता मुख्यमन्त्रीले गर्नु र अभिनन्दन जनकपुर उप–महानगरपालिकाले गर्नु मर्यादाविपरीत भएको टिप्पणी गरे। सांसद चौधरीले भने, ‘मोदीको अगाडि बोल्दैमा संविधान संशोधन हुने होइन। संविधानमा भएका त्रुटि र संशोधनका लागि संघीय सरकारले कदम चाल्ने हो।’ 

नेकपा माओवादीकी सांसद ज्वाला कुमारी साहले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा विदेशी पाहुनासँग आफ्नो देशको भित्रको कुरा राख्नुको औचित्य नभएको बताए। नेकपा एमालेकी सांसद मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध गर्दै राष्ट्रियता नजानेर बिर्सेको वा जानेर बिर्सने भनी प्रश्न गरेकी थिइन्। 

नेकपा एमालेकी सांसद शोभा लामाले राष्ट्रिय गान नबजाएको र भारतीय सैनिकलार्इ हातहतियारसहित नेपालको सरदभित्र प्रवेश गराएकोप्रति असन्तुष्टि जनाउँदै कहिलेदेखि भारतीय प्रहरीको निगरानीमा बस्नुपर्छ भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान छुटेको हो कि छुटाइएको हो। हामीले अब कहिलेदेखि भारतीय प्रहरीको निगरानीमा बस्नुपर्छ'

यसैगरी राष्ट्रिय जनता पार्टी नेपालका सांसद परमेश्वर साहले २००७ सालमा त्रिपक्षीय सम्झौता भारतको दिल्लीमा हुन सक्ने, १२ वर्षे सशस्त्रद्वन्द्व को सम्झौता नयाँ दिल्लीमा हुन सक्ने तर प्रदेशको समस्या लाखौं जनताको सामू राख्न किन नहुने भन्दै प्रश्न गरे।

यसैगरी नेकपा एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले संविधानको जगमा तीन तहको निर्वाचन, निर्वाचनबाट सरकार संसद चलेकोले संविधान संशोधनको कुरा संसद मै हुनुपर्ने भए पनि संसदको गरिमा र दायित्वलाई विर्सेर अरु कहाँ आफ्नो घरको कुरा राख्न नहुने बताए।

उनले भने, ‘नेपाल भारतको सम्बन्धमा हामी मित्रता चाहन्छौं। दासता होइन।’ उनले अभिव्यक्ति स्वतन्त्रताको पनि सीमा र परिधि भएकाले देशको वा प्रदेशको आन्तरिक मामिलालाई छिमेकी समक्ष राख्नु दुःखद भएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.