|

जाजरकोट :  पश्चिम क्षेत्रमा रहेको बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको चोरी निकासी तीव्र रुपले हुने गरेको छ। जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौप्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ।

जुनिचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दह लगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन्। खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्सेनि करोडौं मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म १० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ। अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ, गर्खाकोट लगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी हुने गरेको हो। स्थानीय बजारमा उक्त पत्थर किलोको एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ। खानी आसपासमा एक सय ५० देखि एक हजार पाँच सयमा बिक्री हुने गरेको छ। गाउँलेहरुले पटकपटक दैलेखको बाटो हुँदै खनिज पर्दाथ बिक्रीका लागि लगेकोे टालेगाउँका स्थानीय रामवहादुर सिंह बताए। 

साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बाह्य बजारमा प्रतिकिलोको १५ हजारदेखि ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको काइनेटकै व्यापार गर्दै आएका  दैलेख वेस्तडाका पवित्र मल्लले बताए।  कर नतिरेको, चोरीको वस्तु निकासी गरेको र सप्लाई अनुमति नभएका, पक्राउ परेकालाई खानी तथा खनिज पदार्थ ऐनको दफा २५ अनुसार कारबाहीको प्रकृया अघि बढाइएको छ। 

विश्वबजारमा बहुमूल्य काइनाइट, क्वार्ज, टुर्मालिन लगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ। यस्ता पत्थरको चोरी निकासीबाट तस्करहरु मालामाल भएका छन्। खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करहरुले कम मूल्यमा खरिद गर्ने गर्छन्। पत्थर राजस्व छलेर तस्करले जिल्लाको विभिन्न नाकाबाट निकासी गर्दै आएका छन्। जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो। खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ। यस्तो अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन्। करोडौं मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ।

जिल्लाका साविकका दर्जन गाविसका तीन दर्जन खानीमा पाइने मूल्यवान् खनिज पदार्थबाट सरकारी आम्दानी पनि शून्य रहेको छ। खोजतलास तथा उत्खनन्कर्ताले दशक अघिदेखि मूल्यवान पत्थर निकासी पैठारी गदै आए पनि राजश्व आम्दानी हुन नसकेको हो। कानुनविपरीत यी पत्थरको खोजतलास, उत्खनन् र चोरी निकासी हुँदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइन्छ।

यता जुनिचाँदे गाउँपालिकाले खानी व्यवस्थित गर्न विशेष कार्यक्रम सुरु गर्ने बताएको छ। खानीको बारेमा विस्तृत अध्ययन गरी अब व्यवस्थित गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले बताए। यसलाई व्यवस्थित गर्न सके जुनिचाँदे गाउँपालिकालाई आर्थिक रूपमा सबल बनाउन सकिने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.