|

उदयपुर : स्थानीय उत्पादन मानिने खाँडीको कपडा पछिल्लो समयमा सोखका लागि लगाउने चलन बढ्दो छ। बिहे पार्टी तथा विशेष कार्यक्रममा सहर बजारमा खाँडीको दौरा सुरुवाल र ढाकाको टोपीमा सजिने बग्रेल्ती भेटिन्छन। तर, नेपाली बजारबाट हराउँदै गएको त्यही खाँडीको कपडा उत्पादनको व्यवसाय बन्द हुने क्रममा छ। 

बन्द भएको खाँडी उत्पादन पेशालाई उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–१ बाँसबोटेका ५७ वर्षे शिरकुमारी राईले अहिले गरिखाने मेलो बनाएकी छिन्। हराउँदै गएको त्यही खाँडी व्यवसायबाट मासिक २० हजार कमाउने गरेको उनी बताउँछिन्।

‘सबै गाँउघरमा पाइने कच्चा पदार्थको सहयोगमा बनाउनु पर्छ,’ शिरकुमारीले भनिन्। केही दिनअघि जिल्ला समन्वय समितिको एक कार्यक्रममा खाँडीको कपडा लिएर आइपुगेकी उनले भनिन्, ‘महिनामा चार जनाका लागि खाँडीको कपडा बनाउँछु। एक जनाको लागि पाँच हजार लिन्छु, हिसाब गर्दा २० हजार पुग्छ, त्यसमा त्यसमा कच्चा पर्दाथको पैसा प्रतिव्यक्ति दुई हजार लिँदा कमाइ २० हजार हुन्छ।’

उनले बुनेको खाँडी कपडाको बिक्रीबाट परिवारका ११ जनाको खर्च चलेको छ। ‘पाखोबारीमा मकै, कोदो फल्छ,’ उनले भनिन्, ‘खाँडीको कपडा बुन्न थालेपछि परिवार पाल्न सहज भएको छ।’

विशेषगरी आदिवासी जनजाति समुदाय अनि नेपाली वेशभूषाको रुपमा खाँडीको कपडाको महत्त्व छ। विशेषगरी किरात राईको साकेला लगायतका चाडबाड, शुभकार्यका समयमा दौरा सुरुवाल र छिटको गुन्यू लगाउने प्रचलन छ। स्वास्थ्यका दृष्टि कोणले समेत खाँडीका कपडा फाइदाजनक मानिन्छ। यसकारण पनि खाँडीको कपडाले राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ। ‘हिजोआज गाईघाट कटारीदेखि घरमै अाएर अर्डर दिन आउने गरेका छन्,’ उनले भनिन, ‘आज गरिबी निवारणले बोलाएर आएको हुँ, यही पाँच जोरको पैसा दिएका छन, कपडा लिन घरमै आउने रे।’

विगतमा किराती राईहरुको बाक्लो वस्ति रहेको लिम्चुङबुङ गाउँपालिको बासबोटे, ताम्लिछा लगायतका गाँउमा प्रत्येक घरका महिलाहरुले खाँडीको  कपडा बुन्थे, तर अहिले  गाउँभरि खाँडीका कपडा बनाउन जान्ने महिला दुई चार जना मात्र बाँकी छन्। पुर्खादेखि चल्दै आएको खाँडी उद्योग संकटमा परेपछि पुन: ब्युँझाउन शिरकुमारी राईले गरिबी निवारण कोषको ऋण सहयोग लिएकी छिन्।

आधुनिक डिजाइनसँगै रेडिमेड कपडाले बजार अहिले छ। खाँडी कपडाको माग अहिले बढ्दै गएको छ। बुढा पाकामा मात्र हैन युवा पुस्तामा समेत खाँडीको कपडाको मोह बढेको छ। उनले एक जोर दौरा सुरुवालको कपडा तयार गरेर पाँच हजार रुपैयाँमा बिक्री गर्ने गरेकी छिन्। उदयपुरको गाईघाट, कटारी, बेल्टारको साथै खोटाङ, सोलुखुम्बुमा अत्याधिक माग रहेको शिरकुमारका छोरा दिपक राईले बताए। ‘खाँडी कपडाको माग अनुसार तयार गरेर बुझाउन आमालाई भ्याई नभ्याई छ,’ छोरा दिपकले भने, ‘हामीले अहिले माग बढ्न थालेपछि सिक्न थालेका छौ।’ 

उमेरले ५७ वर्ष पुगेको बताउने शिरकुमारीले परम्परागत पेशालाई व्यवस्थित गर्दा घर खर्च चलाउन सहज भएको दाबी गर्छिन्। पुँजी वृद्धि गरी लघु उद्यमको रूपमा विकास गर्न सके कला संस्कृतिको जर्गेनासँगै घरेलु उद्योगको विकासमा पनि खुड्किलो थपिने लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई बताउँछन्। ‘स्थानीय उत्पादनलाई प्रथामिकता दिने हो भने परम्परागत उद्योगहरु सहजै सञ्चालन गर्न सक्छौ,’ अध्यक्ष राईले भने, ‘लिम्चुङबुङमा स्थानीय सरकार लागि परेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.