|

गोरखा : गोरखा सदरमुकामको मुख्य सडक बाहेक गोरखा नगरपालिकाका अन्य क्षेत्र जोड्ने अधिकांश सडक कच्ची छन्। पक्की बनाइसकिएका केही सडकहरु पनि कच्ची सरह छन्। 
खोलखोले हुँदै गोरखा नगरपालिकाको कार्यालय जाने र नयाँ बसपार्क हुँदै पश्चिमकाली जाने सडक हार्डवयर ब्यवसायीहरुको लापरबाहीका कारण ध्वस्त भएका छन्। 

‘नगरपालिकाको कार्यालय जाने बाटोमा पिच भएको केही वर्षमै गाडी फस्ने स्थीती भएको छ’ स्थानीय एक ब्यक्तिले नाम उल्लेख नगर्न आग्रह गर्दै भने ‘जनप्रतिनिधी आएपछि केही हुन्छ की भनेको, मेयरसापको गाडी यो बाटोबाट आउन जान गाह्रो हुनेभएपछि हिजोआजा प्रतिक्षालय झर्ने बाटो भएर जानुहुन्छ।’  कुनै मापदण्ड विना हार्डवयर फर्महरुले गोदाम सञ्चालन गरेर सडक ध्वस्त पारेको उनको आरोप छ। 
खोलखोले हुँदै नगरपालिका कार्यालय जाने उक्त सडक खण्ड विगार्ने किरण श्रेष्ठको एम एण्ड एस इन्टरप्राइजेज, भाइचन्द्र श्रेष्ठको हार्डवर पसल, ईश्वर मास्केको सोनु हार्डवयर र कृष्ण शाहको रोशनी हार्डवयर हुन्।  
‘मैले झन आफैँ गिटी हालेर बाटो बनाएको छु’ रोशनी हार्डवयरका सञ्चालक कृष्ण शाहले भने ‘विगारेको भएपनि हामीेले मात्र कहाँ विगारेको छ र ?’ 
वडा अध्यक्षकै गोदामले सडक ध्वस्त 
गोरखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु श्रेष्ठको गोरखा सप्लार्यसको गोदामले नयाँबसपार्क हुँदै पश्चिमकाली मन्दिर जाने सडक खण्ड ध्वस्त पारेको छ। अध्यक्ष श्रेष्ठले सडकमै गोदाम बनाएर गिटी, बालुवा तथा अन्य निर्माणका सामाग्रीहरु थुपारेपछि पक्की सडक कच्ची जस्तै भएको हो ।
‘यो बाटो पिच भएको धेरै समय भएको छैन,’ बसपार्कसँगैका एक ब्यापारीले भने ‘हाम्रो वडा अध्यक्ष ज्यूको गोदाम यहाँ आएदेखि त पिच त भएको थियो की थिएन थाहा पाउनै मुस्कील हुने भयो।’ पानी आउँदा मोटरसाइकल, स्कुटरहरु कुदाउन नसक्ने भइसकेको समेत उनले बताए। वडा अध्यक्षले त कसैले नराम्रो काम गरे सपार्नु पर्ने भएपनि झन आफैँ पिच भएको बाटो पनि बिगारेको उनले बताए।

नगरपालिकाले एक्सन लिने 
निर्माण सामाग्री राख्ने गोदाम बनाउन नगरपालिकाले स्वीकृती लिनुपर्ने नगरप्रमुख राजनराज पन्त बताउँछन् । 
‘नयाँ बजार देखि उताको गोदाम सार्न हामीले निर्देशन दिईसकेका छौँ’ प्रमुख पन्तले भने ‘नगरपालिका कार्यालय जाने सडक खण्डमा रहेकाहरुलाई यो आर्थिक वर्ष पछि हटाउन भनिएको छ। अब नगरपालिकाको स्वीकृती विना यस्ता गोदाम राख्न पाइँदैन। गोदाम राख्ने जग्गा सही ठाउँमा हुनुपर्छ ।’
अहिले सम्म गोरखा सदरमुकाम वरपर हार्डवयर ब्यवयाय गर्नेहरुले स्वीकृती नै नलिई गोदाम राखेका छन् । ‘खोलखोले–नगरपालिका सडक अब पिच हुँदैछ’  पन्तले भने ‘सडक पिच गर्ने बेला सम्ममा यहाँ भएका हार्डवयरका गोदाम हटाइनेछ ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.