|

रौतहट : रौतहटमा मापदण्डविपरीत अस्पताल खुल्ने गरेको पाइएको छ। 

जिल्लाको गरुडा नगरपालिकामा रहेको हेल्थ ल्याण्ड अस्पताल विना नविकरण संचालन हुँदै आएको पाइएको छ। विगत लामो समयदेखि नविकरण फेल भएको उक्त अस्पताल निर्धक भएर संचालन हुँदै आएको हो। 

१५ सैयाको उक्त अस्पताल तीन वर्षअघि क्षेत्रीय स्वास्थ्य निर्देशानलयमा दर्ता गराएको र हालसम्म जिल्ला जन स्वास्थ्य कार्यालय रौतहटमा नविकरण नगराएको जन स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत नागेश्वर जयसवालले जानकारी दिए। ‘नबिकरणको लागि पत्रचार गरेका छाँै, अस्पताल संचालकले वास्ता गरेको छैन,’ जन स्वास्थ्य अधिकृत जयसवालले भने। अस्पतालले मापदण्डअनुसारको सेवासुविधा नभएको अधिकृत जयसवालको भनाइ छ।

गौर–शिवनगर खण्डको यमुनामाई गाउँपालिका–१ राजमार्ग छेउस्थित नहरको डिलमा सञ्चालित शिवदर्शन सेन्ट्रल अस्पतालको पनि उस्तै हालत छ। अस्पताल संचालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्य कार्यालयले हाचुवाका भरमा अनुमति दिएको पाइएको छ ।

यमुनामाई गाउँपालिका १ मा रहेको अस्पतालमा बिरामीहरू नै झन बिरामी हुने अवस्था देखिएको छ। २०७२ जेठ २८ गतेदेखि संचालन गरिएको सेन्ट्रल अस्पतालमा बिरामीलाई एमरजेन्सी कक्षमा पुर्‍याउनका लागि भर्याङको समेत व्यवस्था छैन। १५ शय्याको अस्पतालको सानो कोठामा खचाखच बेड राखिएको छ । बिरामी बाहिर निस्कन परे निकै कष्ट हुन्छ । बिरामीको आफन्तलाई बस्ने ठाउँ छैन। 

रौतहटका अधिकांश अस्पतालमा शल्यक्रिया गरिएका बिरामीका लागि आईसियू र भेन्टिलेटर जस्ता अत्यावश्यक सुविधा छैन। यी उपकरणवीना शल्यक्रिया गर्नु जोखिम हुने चन्द्रपुर अस्पतालका डा. सुवास चौधरी बताउँछन्।  

जनस्वास्थ्य अधिकृत जैसवालले दर्ता गर्ने बेलामा अधिकांश अस्पतालले छ महिनादेखि एक वर्षको परीक्षणकालभित्र मापदण्ड पूरा गर्ने सहमति गरेको बताए। उनीहरूलाई मापदण्ड पूरा गर्न तत्कालै ताकेता गर्ने, मापदण्डको विषयमा हेलचेक्र्याईं गरेको पाइएमा अस्पताल शिलबन्दी गर्ने तयारी गरेको जैसवालले बताए । 

अस्पताल मापदण्डमा धुलो, धुुवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको क्षेत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनु पर्ने, पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने, अस्पताल भवन भूकम्प प्रतिरोधी हुनुपर्नेलगायतका मापदण्ड तोकिएका भए पनि यहाँ संचालित धेरै अस्पतालले मापदण्ड पूरा नगरेको अधिकृत जैसवालले बताए। उनका अनुसार रौतहटको चन्द्रपुर अस्पतालको भावनबाहेक अन्य अस्पतालका भवन भूकम्प प्रतिरोधी छैनन्। 

सरकारी अस्पतालले बिरामीअनुसार आफ्नो क्षमता बढाउन नसक्दा घर भाडामा लिएर निजी अस्पताल खुल्ने क्रम बढेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र प्रसाद साहले बताए।

अस्पताल कसरी चलेका छन, मापदण्डअनुसार छन् छैनन, बिरामीले सहज उपचार सेवा पाएका छन् छैनन् भनेर प्रभावकारी अनुगमन हुन नसकेको स्थानीय जानकार  प्रविण पाण्डेले बताए। उनका अनुसार प्रशासन, जनस्वाथ्य कार्यालयले अस्पतालको वेथितिबारे चासो दिएका छैनन । मापदण्डअनुसार सञ्चालनमा रहेको अस्पतालको संख्या न्यून छ । कारबाही गर्ने अधिकार पाएको निकाय मौन भएको कारण पनि अस्पताल दर्ता गरेर कमाइ खाने भाडो बनाएको पाण्डेको भनाइ रहेको छ।


अस्पतलाको नाममा मदरसा सञ्‍चालन

बिरामीको उपचार गर्ने लक्ष्यले खोलिएको रौतहटको एक अस्पतालमा बिद्यालयल संचालन गदै आएको पाइएको छ । करिब १ बर्ष अगाडी गौर नगरपालिका ८ को बिपी चोक नजिक अनबारुल हक इन्ष्चिुट अफ हेल्थ एण्ड साइन्स प्रालिद्वारा संचालित अस्पतालमा अहिले निजी विद्यालय संचालन गरेको पाइएको छ। २५ सैयाको सहितको स्वास्थ्य सेवा दिने लक्ष्यका साथ दर्ता रहेको उक्त अस्पतालमा अहिले लक्की इंगलिस स्कुल संचालन गरिदै आएको छ। 

उक्त अस्पताल अनबारुल हकले दर्ता गराएका हुन्। स्थानियबासीले दिएको जानकारी अनुसार सो अस्पतालमा बोडिङ बिद्यालयको नाममा मदरसा संचालन गरिदै आएको छ। 

उक्त मदरसामा अध्ययन अध्यपन गर्न गराउन देश विदेशबाट मानिसहरू आउने गरेका स्थानियबासीले जानकारी दिए । अस्पताल नचलेपछि विद्यालय संचालन गरेको सो विद्यालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

रौतहटको गौर र चन्द्रनिगाहपुर गरी दुर्इवटा सरकारी अस्पताल रहेका छन। त्यस्तै, पाँचदेखि देखि २५ सैयासम्मका २४ वटा अस्पताल र पोलिकिल्निकमा रूपमा दर्ता रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.