|

कञ्चनपुर : लालझाडी गाउँपालिका-६ चाँनदेउका ६१ वर्षीय गोपीलाल चौधरी रकम बचत गरी राइस मिलका मालिक बनेका छन्। अरूको कमाउँदै आएको डेढ बिघा जग्गामा उत्पादन हुने अन्नबाली बिक्री गरी आएको रकम बचत गरी उनी मिल मालिक बनेका हुन्।
 

खेतबाट उत्पाद हुने धान, गहुँलगायतका अन्नबाली बिक्री गरी आएको रकम बचत गरी उनले मिल राखेका छन्। ‘थोरै जग्गामा उत्पादन हुने अन्न बिक्री गरी परिवारको खर्च चलाउनु निकै कठिन थियो,’ उनले भने, ‘बचेको रकम बचत गर्दै जाँदा मिल राख्न सकेँ।’
 
'थोरै रकम बचत गर्दै जाँदा केही वर्षमै एक लाख जति रकम बचत गर्न सकेँ,' उनले भने, ‘त्यही रकम खर्चेर पीठो पिस्ने र चामल निकाल्ने मेसिन राखेर कार्य सुरु गरेँ।’ 

‘घरको कमाउने एक्लै थिएँ। श्रीमती र स-साना तीन छोराको खर्च चलाउन सहज थिएन,’ विगत सम्झँदै उनले भने, ‘घर खर्च गरेर वर्षको रु २० हजारदेखि ३० हजार रकम बचत हुन्थ्यो, त्यही रकम परिचालन गरेर मिल राख्न सकेँ।’

मिलमा सेलर, पोलिस हलर, स्पेलर, चक्की र भवनमा गरी  हाल उनको मिलमा रु २५ लाख बढी लगानी गरिएको छ। मिलकै कमाइले उनले यति बढी लगानी गर्न सकेका हुन्। ११ वर्षअघि श्रीमतीको देहवसानपछि तीनजना छोराछोरी हेरचाह गर्नु निकै चुनौती थियो। उनले भने, ‘चुनौतीलाई स्वीकार गर्दै मनमा मिल राख्ने अठोट गरेको थिएँ, रकम बचत गर्दा त्यो सम्‍भव भयो।’
 
उनले थपे, ‘गाउँले र छिमेकीले एक्लैले कसरी बालबालिकालाई पाल्न सक्छ, खेतमा कसरी खेती लगाउन सक्छ भनेर एक आपसमा कुरा काट्दथे, कसैको कुराको परवाह गरिएन। सबैका अगाडि खेती पनि लगाएँ, बालबालिका पनि हुर्काएँ र रकम बचत गरी मिल राखेर देखाइदिएँ।’ 

गोपीलालको संघर्ष देखेर हाल सबैले उनलाई सम्मानजनक तरिकाले हेर्ने गरेका छन्। समाजमा सफल व्यक्तिको उदाहरण दिँदा उनलाई सम्झने गरेका छन्। गाउँमा बढी कमाइ गर्नेमा उनको नाम अगाडि आउने गरेको छ।

छोराहरू हुर्कंदै गएपछि जेठो छोरा राजनीतिमा संलग्न भई वडा अध्यक्ष बनेका छन्। माहिलो छोरा गाउँकै विद्यालयमा शिक्षक छन्। कान्छो छोरा अहिले विद्यालय अध्ययनरत छन्।

मिलमा छोराहरूले समेत सहयोग गर्न थालेपछि काम गर्न सहज भएको उनले बताए। उनी भन्छन्, ‘थोरै रकम छ भनेर हरेस नखानोस्। रकम बचत गर्नोस्। केही वर्षमै त्यही रकम उत्पादनशील क्षेत्रमा लगानी गरे चाहेजस्तो प्रतिफल हासिल गर्न सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.