कम्पनीलाई पठाएको पत्र नगरपालिकामै फिर्ता

|

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले उपभोक्ताको साझेदारीमा बजार क्षेत्रमा जडान गरेका अधिकांश सोलार बत्ती एक वर्ष नपुग्दै बल्न छोडेका छन्। उपभोक्ताको र नगरपालिकाको संयुक्त लगानी तथा ऊर्जा मन्त्रालयको अनुदानमा दुईवर्षे वारेन्टीका ५२ सोलार बत्ती वर्ष दिन नपुग्दै आधाजसो बल्नै छोडेका हुन्।

आर्थिक वर्ष ०७३÷०७४ मा नगरपालिकाले उपभोक्ताको चार लाख ५० हजार, ऊर्जा मन्त्रालयको १९ लाख ५० हजार र नगरपालिकाको लगानीसहित करिब ४५ लाखमा सौर्य बत्ती जडान गरिएको थियो।

सिप्रदी इनर्जी प्रालि र सूर्य रोशनी इन्डस्ट्रियल प्रालिले दुई चरणमा बत्ती जडान गरेका थिए। कम्पनी र नगरपालिकाका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन उपकरण जडान गरेकाले सोलार बत्ति बल्न छोडेको उपभोक्ताको आरोप छ।

‘मेरै घर अगाडिको बत्ती निभेको कत्ति भयो कहाँ गुनासो गर्ने?’ उद्योग वाणिज्यसंघका अध्यक्ष ज्ञानेन्द्र मास्केले प्रश्न गरे। सोलार बत्ती धेरैजसो बिग्रेको गुनासो आएको उनले बताए।

नयाँ बस्ती र सिमलडाँडामा जडान भएका बत्ती पनि बिग्रेर नबलेको स्थानीय बासिन्दा युवराज कार्कीको भनाइ छ। उद्योग वाणिज्य संघको कार्यालयनजिकै जडान गरिएको बत्तीको दुई सोलारमध्ये एक थान हावाले समेत उडाएको छ।

सिद्धिचरण नगरपालिकाले सप्लायर्ससँग दुईवर्षे वारेन्टी र बिग्रेमा मर्मत गर्ने जिम्मा पनि उसैको हुने गरि सम्झौता गरेर बत्ती जडान गरेको थियो। तर पनि कम्पनीले मर्मतका लागि चासो नदिएको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी दिव्य श्रेष्ठले जानकारी दिए। 

कम्पनीलाई पठाएको पत्र नगरपालिकामै फिर्ता

नगरपालिकाले बत्ती जडान गर्ने कम्पनीलाई मर्मतका लागि पठाएको पत्र ठेगानामा नभेटिएपछि फिर्ता भएको छ। नगरपालिकाका सूचना अधिकारी श्रेष्ठका अनुसार सिप्रदी इनर्जीको चिठ्ठी कम्पनी नभेटिएपछि फिर्ता भएको हो। कम्पनी नै नभेटिएपछि मर्मत गराउन समस्या देखिएको  हो। 

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख विष्णुबहादुर भट्टराईले ०७४ माघ २६ गते सिप्रदीले जडान गरेका आठ र सूर्य रोशनीले जडान गरेका चार थान सडक बत्तीमा समस्या आएकोले प्राविधिक खटाई मर्मत गरिदिन पत्राचार गरेका थिए।

बत्ती जडान गरेको अर्को कम्पनी सूर्य रोशनी इन्डष्ट्रियल प्रालिले आफूहरुलाई कतैबाट चिठ्ठी नआएको दाबी गरेको छ। उता, सिप्रदी कम्पनीले पनि नगरपालिकाको चिठ्ठी अहिलेसम्म नआएको बताएको छ। कम्पनीका निर्देशक आलोक कुमारले गुनासा आए तत्कालै अध्ययन गरेर आफ्ना कम्पनीबाट जडान भएका बत्तीमा समस्या देखिए मर्मत गरिने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.