|

धनुषा जिल्लाको शहीद नगर नगरपालिकाका उदयकुमार बरबरिया सानैदेखि फरक सोच राख्थे। विद्यालयमा अध्ययनरत रहँदादेखि नै सामाजिक सेवामा लाग्न उनको चेतले उत्साहित गरिरहेको थियो। त्यसैले होला उनी बाल्यकालदेखि नै पठनपाठनमा मिहिनेती र लगनशील थिए। सिरहा जिल्लाको मिर्चैयास्थित सगरमाथा इङ्लिस बोर्डिङ स्कुलबाट प्राथमिक शिक्षा सुरु गरी काठमाडौंबाट इन्जियरिङ शिक्षा हासिल गर्न सफल भए उनी।

१२ वर्षे जनयुद्धकालमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनेका उनले माओवादी र सरकारबीचको शान्ति सम्झौता प्रक्रियापछि अवकास लिएर पुनः आफ्नो बाँकी रहेको अध्ययनलाई निरन्तरता दिए र इन्जिनियर बन्ने सपना बोकेर काठमाडौंतिर लागे। पुलचोक इन्जिनियरिङ क्याम्पसबाट आफ्नो अध्ययन पूरा गरेका उनी सफलता प्राप्त गर्न दिनरात मिहिनेत गरेको सम्झन्छन्। झट्ट हेर्दा अपरिपक्व देखिने उनमा समाजप्रतिको परिपक्वता भने व्यवहारमा देखिने गरेको छ। 

२५ वर्षका उदय एकपछि अर्को जिम्मेवारी सम्हाल्दै धनुषा जिल्लाको एउटा नगरपालिकाको प्रमुख बनेर कार्यभार सम्हाल्दै आएका छन्। हँसिलो स्वभाव र नेतृत्वदायी क्षमताका कारण उनी जनताबाट चुनिएका हुन्। उदयको एक मात्र सपना थियो, शहीदनगरबासी र आफ्नो शानलाई देशभर फैलाउनु। उनको नेतृत्वदायी क्षमता र खुबीका कारण नै हुनसक्छ, उनी साथीभाइ, छरछिमेक र शहीदनगरका जनता माझ लोकप्रिय छन्। 

उनले काठमाडौंमा इन्जिनियरिङ अध्ययनको क्रममा विकासलाई राम्ररी नियालेका छन्। उनी काठमाडौंका युवाहरूजस्तै यहाँका युवाहरू पनि सक्षम बन्न सक्छन् भन्ने सोच राख्छन्। त्यसका लागि उनले ‘भिजन’समेत बनाएका छन् र ‘भिजन’ भएकाले योजना बनाएर काम गर्ने उनको ध्येय छ।

अब आफू जुनसुककै पार्टीको मान्छे भए पनि जनताको साझा प्रतिनिधि भएको र त्यसमा पनि आफू एक्लो नभएको उनको भनाइ छ। आफूलाई पार्टी, आफन्त र जनताको साथ रहेको उनी बताउँछन्। पार्टीले जे निर्देशन दिन्छ, त्यहीअनुसार काम गर्नुपर्ने भए पनि कतिपय कुरामा पार्टीको निर्देशनभन्दा जनताको भावना बुझेर काम गर्नुपर्ने उनको बुझाइ छ। आफूले राम्रो काम गर्न सके अरू युवालाई प्रेरणा हुने र राम्रो काम गर्नु भनेको आफ्नो राजनीतिक करिअर पनि राम्रो हुने अनि गाउँको समृद्धि भयो भने आफू पनि अघि बढ्न सकिने उनको प्रस्ट धारणा छ। 

सम्भ्वतः उदय नेपालकै सबैभन्दा कम उमेरका स्थानीय तह प्रमुख हुन्। उनै उदय बरबरियासँग थाहाखबरकर्मी गोविन्द महतोले गरेको कुराकानी प्रस्तुत छ।

एउटा सामान्य नागरिक हुँदा र अहिले नगर प्रमुख हुँदा तपाईंको जीवनको लक्ष्यमा के फरक आयो?

प्रायः सबै मानिसको लक्ष्य हुन्छ– पढेर जागिर गर्ने। मेरो लक्ष्य पनि त्योभन्दा फरक थिएन। फरक यति मात्र भयो कि पहिले पनि जागिरमार्फत जनतालाई सेवा गर्ने लक्ष्य थियो र त्यही लक्ष्यअनुरूप आफ्नै गाउँ, टोल र समाजका ४२ हजार जनतालाई आज सेवा गर्ने अवसर पाएको छु। यो सेवाको अवसर पटक–पटक आउला या नआउला, त्यो भन्न गाह्रो छ तर अहिलेचाहिँ म सक्दो जनताको सेवा गर्न तत्पर रहनेछु, रहेको छु। 

स्थानीय तहको निर्वाचनमा जनतासँग गर्नुभएका प्रतिबद्धताहरू कति पूरा भए? 

लामो समयको अन्तरालमा भएको स्थानीय तहको निर्वाचनपछि मूल रूपमा गर्नुपर्ने कामहरू नगरलाई व्यवस्थित गर्न सरसफाइदेखि सडक, ढल, नाला र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा तत्काल गर्न सकिने योजनाहरूलाई एकसाथ अघि बढाउनुपर्ने देखिएको छ। विशेषगरी मिनी स्मार्ट सिटीका लागि दीर्घकालीन योजनाहरू ल्याएर काम गर्ने योजना अघि बढ्दै छ। 

यहाँ प्रायः प्रत्येक क्षेत्रमा देखिएका बिग्रिएका संरचनाहरू तत्काल मर्मतसम्भार गरेर वडाहरूमा सरसफाइदेखि लिएर पोखरीको सौन्दर्यीकरण र शिक्षाको क्षेत्रमा देखिएको कमीकमजोरीलाई हटाउन लागिपरेका छौँ। निर्वाचनमा गरिएका सबै प्रतिबद्धताहरू पूरा गर्न अझै समय लाग्छ। 

स्थानीय सरकार सञ्चालनका निम्ति के कस्ता समस्याहरू अनुभव गर्नुभएको छ? 

०७४ को स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकार भने पनि व्यावहारिक रूपमा धेरै कठिनाइहरू छन्। केन्द्र सरकारले गाउँगाउँमा सिंहदरबार भने पनि हालसम्म काम, कर्तव्य र अधिकार प्रयोग गर्ने कुरामा अन्योल छ। सरकारी कार्यालय हाल नेपाल सरकारले स्थानीय सरकारलाई हस्तान्तरण गरेको भनिए पनि कानुन नबनेकाले कतिपय परिस्थितिमा अन्योलको अवस्था सिर्जना हुने गरेको छ।

जनताले आजको समयमा सुशासन खोज्छन् तर सरकारी कार्यालयको अधिकार स्थानीय सरकारको मातहत नआइसकेका कारण सेवाग्राहीको गुनासो सुन्ने तर निश्चित समाधान खोज्न हामी कतिपय अवस्थामा असमर्थ हुने गरेका छौँ। 

यस्ता समस्या समाधानका निम्ति संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयात्मक भूमिकामा कानुनका विज्ञहरूसँग छलफल गर्दै निष्कर्षसहित तत्काल कानुनको मस्यौदा तयार पारेर भए पनि यसको टुंगो लगाउनुपर्छ।

शहीदनगर नगरपालिकाका जनताले तपाईंलाई किन विश्वास गर्‍यो र त्यो विश्वासलाई कसरी कायम राख्नुहुन्छ?

म निर्वाचनअघि नै गाउँमा विभिन्न विकासे आयोजनाहरू ल्याएर काम गराउँदै थिए। म जनप्रतिनिधिमा निर्वाचित नभएकै बेलामा समेत शहीदनगर र आसपासका जनताका लागि करोडौँको काम गराएको छु, जुन त्यहाँका जनतालाई थाहा छ। जनप्रतिनिधि नभएको बेलामा नै मैले गरेको कामको फल प्राप्त भयो सायद। जनताको अपेक्षा छ विकासको र त्यो अपेक्षालाई मेरो कामले प्रभावित भएरै जनताले मलाई विश्वास गरेर जिताएको हुनुपर्छ। आगामी दिनमा समेत म जनताको विश्वासलाई धमिलो हुन दिन्नँ। जनताले भरोसा गरेर मलाई निर्वाचित बनाए, अब म जनतालाई निराश हुन्न दिन्नँ, काम गरेरै देखाउँछु। 

पहिलेभन्दा धेरै फरक भइसकेको छ यहाँको जीवन। यहाँका जनताले जनप्रतिनिधि आएदेखि सिंहदरबारको सरकार गाउँमा आएको महसुस गरिरहेका छन्। अहिले पनि धेरै जटिलताहरू छन् तर अब गाउँघरका सडकहरू, बाटोघाटो, विद्यालयको अवस्था, स्वास्थ्य चौकी जस्ता अन्य समस्याहरूलाई विस्तारै चिर्दै छौँ।

युवाहरू राजनीतिदेखि भागिरहेको समयमा तपाईं कसरी राजनीतिमा प्रवेश गर्नुभयो?

युवाहरूले राजनीतिलाई एउटा फोहोरी खेलका रूपमा चित्रित गर्दा वर्तमान परिप्रेक्ष्यमा आएर युवाहरू राजनीतिदेखि भागिरहेको देखिएको छ। देश विदेशमा युवाहरू विभिन्न क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गरिरहेको सबैलाई थाहा छ। तर एउटा राजनीतिक दलमा, उच्च ओहोदामा युवाको पहुँच छैन, त्यही भएर पनि राजनीति युवाका लागि होइन भन्ने मानसिकता उब्जिएको छ। 

नयाँ पुस्ताका युवाहरूमा जोश जाँगर हुन्छ, नयाँपन ल्याउन आतुर हुन्छ र यही आकांक्षालाई पूरा गर्न म पनि राजनीतिमा आएँ।

शहीदनगर नगरपालिकामा पहिलेको अवस्था र अहिलेको अवस्थामा के फरक भयो? कसरी काम गर्दै हुनुहुन्छ?

नेपालको हुम्ला, जुम्ला एकदमै विकट ठाउँ भन्छौँ हामी। त्यस्तै, धनुषा जिल्लाको शहीदनगरलगायत कमला नजिकका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाहरू हुम्ला, जुम्लाभन्दा कम थिएनन्। अहिले पनि केही सुधारबाहेक धैरै विकास भइसकेको छ भन्ने पनि होइन। जे होस्, मैले यहाँको विकासको थालनी गरेको छु। अहिले भएका कामहरूले अहिले नै म यी सबै समस्या हल गरिदिन्छु त भन्न सक्दिनँ तर यहाँका जनताले यसै वर्षभित्र राहत महसुस गर्नेछन् भन्ने मेरो विश्वास छ। 

पहिले पानी पर्दा सडकहरूमा हिँड्न सक्ने अवस्था थिएन तर अहिले पहिलो चरणको कामअन्तर्गत प्रायः सबै सडकहरूको सुधार योजनाअनुरूप काम अघि बढ्दै छ, छिट्टै सुधार हुन्छ। 

अबका दिनमा कसरी यस नगरको विकास गर्नुहुन्छ? पाँच वर्षमा शहीदनगर नगरपालिका कस्तो हुनेछ?

शहीदनगर नगरपालिकामा गर्भवती महिलाहरूलाई सुत्केरी गराउन सदरमुकाम ल्याउन २० किलोमिटरको दूरी पार गर्न तीन घण्टा लाग्थ्यो, सोही समयमा कतिपय महिलाहरूको अकालमा ज्यानसमेत गएको छ। एउटा त्यो अवस्था थियो र आजको अवस्था छ। पहिलेभन्दा धेरै फरक भइसकेको छ यहाँको जीवन। यहाँका जनताले जनप्रतिनिधि आएदेखि सिंहदरबारको सरकार गाउँमा आएको महसुस गरिरहेका छन्। अहिले पनि धेरै जटिलताहरू छन् तर अब गाउँघरका सडकहरू, बाटोघाटो, विद्यालयको अवस्था, स्वास्थ्य चौकी जस्ता अन्य समस्याहरूलाई विस्तारै चिर्दै छौँ। अहिले हामीले मिनी मास्टर प्लान बनाएर काम गर्दै छौँ। अबको पाँच वर्षमा शहीदनगर नगरपालिका एउटा स्मार्ट सिटीको रूपमा स्थापित भएको यहाँको जनताले देख्न सक्नेछन्।

शहीदनगरका युवाहरूलाई कसरी अगाडि ल्याउने सोच्नुभएको छ?

नगरको विकाससँगै युवाहरू गाउँघरमै कसरी रोजगार हुन सक्छन्? खास गरेर युवाहरू वैदेशिक रोजगारीमा जाने तथा यहाँ बसेका युवाहरू बेरोजगारीका कारण कुलतमा फस्ने समस्यालाई मध्यनजर गर्दै खेलकुदमार्फत् उनीहरूलाई मनोरंजन तथा विभिन्न सीपमूलक तालिम दिएर स्वरोजगार बन्न हामीले विभिन्न तालिम ल्याएका छौँ। साथै मोबाइल तालिम, अटोमोबाइल्स तालिम, विद्युत वायरिङ, प्लम्बिङ तालिम जस्ता कामको सुरुवातबाट युवाहरूलाई आफ्नै ठाउँमा बसेर काम गर्न सक्ने वातावरण निर्माणमा लागेका छौँ। 

तपाईं देशकै कान्छो नगर प्रमुख भनेर परिचित हुनुहुन्छ? कस्तो अनुभूति भइरहेको छ?

(हाँस्दै) अहिले त नामको मात्र परिपक्व नगर प्रमुख भन्न मिल्छ। काम गरेपछि जनताको भावनालाई मैले सम्मान गर्न सकेँ भने मात्र, मैले गर्ने कामको गुण र दोषको आधारमा पाउने अभिभारा पूरा गर्न सकेँ भने मात्र यो ठीक छ, होइन भने त के गर्व हुनु! 

सुरुमा युवाले केही गर्न सक्दैन भन्ने भ्रम मान्छेमा थियो। अहिले त्यो भ्रम मैले धेरै हदसम्म चिरेको छु। यो छ महिनाको अवधिमा मैले गरेका विकास निर्माणका कामहरूले युवाले गर्दा बरु अन्यभन्दा राम्रो गर्न सकिन्छ भन्ने मानसिकताको विकास हुँदै छ। परिवर्तन एकै पटक सम्भव छैन तर फेरि परिवर्तन नै नहुने कुरो पनि होइन। समय लाग्छ तर परिवर्तन हामीले नै चाहे हुन्छ। त्यसैले म भन्छु, युवालाई पनि अवसरको खाँचो छ, अवसर पाए युवाहरूले पनि देशको नेतृत्व गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.