|

हेटौँडा :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेस मकवानपुरको आयोजनामा थाहा नगरपालिका दामनमा बुधबार आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताए। उनले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने दाबी पनि गरे। पछिल्लो तीन तहको निर्वाचनमा कांग्रेस हारको प्रमुख कारण गुट र निकटताका आधारमा टिकट वितरण भएको बताउँदै यस्ता प्राविधिक त्रुटि सच्याउनु आवश्यक रहेको उनले बताए। 

वाम एकताबाट कांग्रेसलाई कुनै असर नगर्ने भन्दै पार्टीभित्रको समस्या अन्त्य नै अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो। उनले आफू पार्टीमा रहेको गुट उपगुट अन्त्यको प्रयासमा अन्तिमसम्म लडिरहने जिकिर पनि गरे। आगामी अधिवेशनबाट पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने नेतृत्व चयनका लागि कार्यकर्तालाई उनको सुझाव थियो। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले चुनावी अभियानमा पार्टीले हारे पनि राजनीति र विचारका दृष्टिकोणले जितेको बताए। उनले प्रधानमन्त्रीको शपथ ग्रहणदेखि नै वर्तमान सरकार संविधान मिच्ने काममा उद्यत रहेको भन्दै यो अधिनायकवाद र सर्वसत्तावादको सुरुवात भएको बताए। कांग्रेस लोकतान्त्रिक पद्धतिको रक्षाका लागि अधिनायकवाद र सर्वसत्तावादका विरूद्ध लड्ने उनको भनाइ थियो। 

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षता भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, जिल्ला पार्टी प्रवक्ता प्रदीप कोइरालालगायतले भनाइ राखेका थिए।

जिल्ला कार्यसमितिका नेता, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षका उम्मेदवार, नगर सभापति, वडा अध्यक्ष, भ्रातृ संगठनका प्रमुखलगायतको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय सदस्य लेखक र सामाजिक अभियन्ता रामजी अधिकारीले प्रशिक्षण दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.