|

झापा (भद्रपुर) : छिमेकी राष्ट्र भारतमा हुन गइरहेको प्रथम अन्तर्राष्ट्रिय ‘गर्ल्स सिनियर लिग’ क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

१५ सदस्यीय नेपाली महिला क्रिकेट टोली पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको चण्डिगढ प्रस्थान गरेको हो। टोलीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच भव्य रूपमा बिदाई गरिएको थियो। 

भारतको चण्डिगढ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र पन्चकुला क्रिकेट स्टेडियममा यही जेठ ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका खेलाडीहरूलाई खादा-अवीरसहित बिदाई गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए। 

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहने बताइएको छ। नेपाली टोलीमा कप्तान रुविना क्षेत्री, सीता राना मगर, काजल श्रेष्ठ, सरिता मगर, ऋतु कनौजिया, नेरी थापा, करुणा भण्डारी, रोमा थापा, मुस्कान बेगम छन्। टोलीका अन्य खेलाडीहरूमा संगीता राई, कविता जोशी, ममता चौधरी, कविता कुँवर र रेवती धामी छन्। 

खेलाडीहरूसहित प्रशिक्षक लाक्पा लामासमेत गरेर १५ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको हो। बिदाई कार्यक्रममा नेपाल खेलकुद महासंघ प्रदेश १ का सदस्य बालकृष्ण थापा, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अस्मिता खवासलगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.