|

कञ्चनपुरको दक्षिणी दुर्गम क्षेत्रमा रहेको लालझाडी गाउँपालिका प्राकृतिक साधन स्रोतले भरिपूर्ण रहेको छ। साविक देखतभुली गाविसको वडा नम्बर– १, २, ३, ७, ८, बाइसे बिचवा गाविसको वडा नम्बर– १, २, ३, ४ र शंकरपुर गाविसका नौवटा वडालाई मिलाएर लालझाडी गाउँपालिका बनाइएको छ। यस गाउँपालिकालाई छवटा वडामा विभाजन गरिएको छ।

राना थारू समुदायको बाहुल्य रहेको यस गाउँपालिकामा २२ हजार ५६९ जनसंख्या रहेको छ। गाउँपालिका १५४.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। लालझाडी संरक्षण क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गाउँपालिकालाई दुईतर्फबाट घेरेको छ। राना थारूको प्राचीन बस्ती रहेको यो गाउँपालिका राना थारू संस्कृतिको समृद्ध क्षेत्रका रूपमा परिचित छ।

यो गाउँपालिका कञ्चनपुरको प्राचीन बस्तीसमेत हो। राना थारू समुदायको बाहुल्य रहे पनि अन्य समुदायको समेत यस गाउँपालिकामा बसोबास रहेको छ। नकटाबाबा, इटाहाबाबा, प्राकृतिक तालतलैया यहाँका पर्यटकीय क्षेत्रका रूपमा रहेका छन्।

२०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका मदनसेन बडायक यस गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन्। वातावरण संरक्षणकर्ताका रूपमा परिचित बडायक २०३८ सालमा कम्युनिस्ट दर्शनबाट प्रभावित भई मसालमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेका हुन्। वन र वातावरण संरक्षणमा योगदान गरेबापत उनले नेपाल सरकारका तर्फबाट श्रीलंका, थाइल्याण्ड र भारतको भ्रमण गरेर वन र वातावरणसम्बन्धी ज्ञान हासिल गरेका छन्।

यस गाउँपालिकाको विकास, समृद्धि र भावी योजनाबारे थाहाखबरकर्मी राजेन्द्र पनेरुले अध्यक्ष बडायकसँग गरेको कुराकानी प्रस्तुत छ।

चुनावमा निर्वाचित भएर आएको एक वर्ष बित्नै लागेको छ। जनतासँग गरेका वाचा कति पूरा गर्नुभयो?

चुनावमा हामीले शिक्षा, स्वास्थ्य, सडक सबैको पहुँचमा पुर्‍याउने प्रतिवद्धता गरेका थियौँ। त्यसका लागि प्रथम गाउँसभाबाट २२ करोड ८९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरी कार्य अगाडि बढेको छ। बजेट परिचालन गरेअनुरूपका कार्य भएका छन्। वडामा सञ्चालित ८० प्रतिशत बढी योजना पूरा हुने क्रममा छन्।

वर्षौंदेखि विकासबाट उपेक्षित क्षेत्रका रूपमा रहेको यस क्षेत्रको विकासका लागि पर्याप्त बजेटको खाँचो छ। शिक्षाको गुणस्तर सुधार गर्ने, अपांगमैत्री संरचना निर्माण गर्ने, स्वास्थ्य संस्थामा एम्बुलेन्सको व्यवस्था गर्ने र सडकमा ग्राभेल हाल्ने कार्य भइरहेको छ। चुनावमा प्रतिवद्धता गरेअनुरूप नै कार्यहरूलाई मूर्त रूप दिएका छौँ। १० किलोमिटर सडक स्तरोन्नतिको कार्य पूरा भएको छ।

यस गाउँपालिकामा के कस्ता समस्या छन्?

दुर्गमको गाउँपालिका भएकाले समस्या नै समस्याले जेलिएको छ। धेरै वर्ष विकासको मुख देख्न नपाएको यस गाउँपालिकामा प्रशस्त विकासका सम्भावना भए पनि पूरा हुन सकेका छैनन्। बजेटकै अभाव छ। थोरै बजेटले धेरै कार्य गर्न सकिँदैन। दोदा नदीको बाढीले बर्सेनि गर्ने भूक्षय मुख्य चुनौतीका रूपमा रहेको छ। नदीको बाढीका कारण ८० प्रतिशत परिवार विस्थापित भई वन क्षेत्रमा बस्न बाध्य छन्।

भरपर्दो तटबन्ध र नियन्त्रणका लागि गाउँपालिकाको बजेटले भ्याउँदैन। यसका लागि केन्द्र र प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छौँ। सडकको भरपर्दो व्यवस्था गर्नका लागि कार्य अगाडि बढाए पनि पाँच वर्षमा सडकमा ग्राभेल राख्नसमेत नसकिने अवस्था छ। जंगली हात्तीले बर्सेनि पुर्‍याउँदै आएको धनजनको क्षति कम गर्नका लागि समेत योजना र आर्थिक संशाधनको अभाव छ।

शिक्षा क्षेत्रमा विद्यालय भवन छ, विद्यार्थी छन्, शिक्षक दरबन्दी अभाव छ। खानेपानीमा आइरन र आर्सेनिकको समस्या भएकाले शुद्ध पेयजलका लागि खानेपानी आयोजना सञ्चालनका लागि कार्य अगाडि बढाइनु आवश्यक छ।

यी समस्या समाधानका उपायचाहिँ के छन् नि?

सडकको भरपर्दो व्यवस्था गर्ने, दोदा नदी नियन्त्रण गर्ने, नदीका कारण विस्थापनमा परेका परिवारलाई पुनःस्थापन गर्ने, चारवटा नमुना विद्यालय बनाउने, १५ शैयाको चिकित्सकसहितको अस्पताल स्थापना गर्ने, कृषिलाई आधुनिकीकरण गरी समावेशी र व्यवसायमुखी बनाउने योजनाहरू छन्।

गाउँपालिकामा देखिएका समस्या समाधान गर्न निकै ठूलो चुनौती छ। आन्तरिक स्रोत, प्राकृतिक साधन र स्रोतको वैज्ञानिक ढंगले परिचालन गरी केन्द्र र प्रदेश सरकारबाट पाइने बजेटले पूरा गर्ने लक्ष्य छ। यसका लागि गाउँपालिकामा बसोबास गर्ने बासिन्दाको सहयोगको खाँचो छ।  

कुन कुन विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर अगाडि बढाउँदै हुनुहुन्छ?

तीनवटा सडकलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाएका छौँ। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर– १२ बाट सुरु भई गाउँपालिका जोड्ने, चाँनदेव हुँदै बल्मी जोड्ने, नौरंगा हुँदै कञ्ज जोड्ने सडकलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको छ। खानेपानीका केही योजनाहरू अगाडि बढेका छन्। चार वडामा निर्माणाधीन छन्। दुई ठाउँमा थप माग गरेका छौँ, जुन पर्याप्त छैनन्।

राना थारू संस्कृतिले समृद्ध क्षेत्रका रूपमा यस गाउँपालिकालाई लिइन्छ। यहाँका कला, संस्कृति जोगाउनका लागि के कस्ता प्रयास भइरहेका छन्?

यस गाउँपालिकामा ९० प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ। पहिलो गाउँसभाबाटै बडघर, भलमन्सालाई प्रोत्साहित गर्नका लागि बजेट विनियोजन गरी कला, संस्कृति जोगाउनका लागि कार्य अगाडि बढाइएको छ। संस्कृति, कला, पहिरन र आभूषण जोगाउनका लागि जनचेतनामूलक कार्यक्रम गरिएका छन्।

नौ विगाह जग्गामा राना थारू होम स्टे (घरबास) सञ्चालनका लागि कार्य अगाडि बढाउँदै छौँ। लोप हुन लागेका गहना, पहिरन र रहनसहनका तौरतरिका जोगाउनका लागि संग्रहालय बनाउनेसमेत सोंच छ। एक ब्लकमा होमस्टे, एक ब्लकमा लोपोन्मुख विशेष प्रजातिका बिरुवा रोप्ने र एक ब्लकमा स्विमिङका लागि तलाउ निर्माण गर्ने गरी नक्सांकनको कार्य अगाडि बढाएका छौँ। बजेट अभाव रहेकाले पर्यटन बोर्डमा प्रस्ताव पेस गरी बजेट परिपूर्ति गर्ने योजना रहेको छ।

स्थानीय तह सञ्चालनका क्रममा भोगिएका वा अनुभव गरिएका नीतिगत तथा व्यावहारिक केही समस्या छन् कि?

संवैधानिक संक्रमणकाल अझै जारी नै छ। प्रदेश र केन्द्रको कानुन नबन्दा कार्य गर्न गाह्रो भएको छ। दुवै सरकारको कानुन आएपछि त्यससँगै समन्वय गरेर अगाडि बढ्ने सोच राखेका छौँ। गाउँपालिकाको काम चलाउनका लागि केही नभई नहुने कानुन बनाएका छौँ। त्यसकै आधारमा योजना बनाई लागू गरिएका छन्।

कृषि र पशुपालनप्रति किसानको आकर्षण बढाउनका लागि के कार्य गर्नुभएको छ?

कृषिका लागि यो क्षेत्र उर्वर भूमिका रूपमा रहेको छ। किसानलाई व्यावसायिक बनाउनका लागि युवा स्वरोजगार कार्यक्रम र अन्य अनुदानका कार्यक्रमलाई अगाडि बढाएका छौँ। युवाहरूलाई कृषि पेसामा आवद्ध गराउनका लागि योजनावद्ध रूपमा कार्य अगाडि बढेका छन्।

पहिलो वर्षमै एक दर्जन बढी युवाहरूलाई व्यावसायिक तालिम दिई आधुनिक कृषि खेतीतर्फ डोहोर्‍याएका छौँ। पशुपालनका लागि पर्याप्त सम्भावना भएकाले व्यावसायिक पशुपालन गर्नेलाई अनुदान दिने योजना अघि सारिएको छ। बाख्रापालकलाई उन्नत जातका बाख्रा उत्पादन गर्न बाख्रामा कृत्रिम गर्भाधानको कार्यक्रम सञ्चालन गरिएको छ। दुग्ध संकलकलाई स्टिलका ११ वटा ड्रम वितरण गरिएका छन्।

गाउँपालिकामा के कस्ता दीर्घकालीन योजना अघि सार्नुभएको छ?

सडकको भरपर्दो व्यवस्था गर्ने, दोदा नदी नियन्त्रण गर्ने, नदीका कारण विस्थापनमा परेका परिवारलाई पुनःस्थापन गर्ने, चारवटा नमुना विद्यालय बनाउने, १५ शय्याको चिकित्सकसहितको अस्पताल स्थापना गर्ने, कृषिलाई आधुनिकीकरण गरी समावेशी र व्यवसायमुखी बनाउने योजनाहरू छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.