एक तिहाइ सदस्यद्वारा विशेष बैठक बोलाउन माग

|

ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा वाम गठबन्धन पक्षधर सदस्यहरुलार्ई थाहै नदिइ गाउँसभा सम्पन्न गरेको भन्दै विशेष बैठकको माग भएको छ। गाउँ कार्यपालिकाकाका चार जना सदस्यसहित गाउँसभाका २० जना सदस्यहरुले विशेष गाउँसभा बोलाउन माग गरेका छन्।

नेपाली काँग्रेसको बहुमत रहेको उक्त गाउँपालिकाको बैशाख २९ गते भएको गाउँसभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू उपस्थित थिएनन्। एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अघिल्लो दिन मात्रै सूचना दिएर अचानक सभा आयोजना गरेकाले सभामा सहभागि हुन नसकेको एमालेका जिल्ला अध्यक्ष नेत्र भट्टराईले बताए ।

स्थानीय शासन संचालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा सात दिन अगावै सूचना गर्नु पर्ने व्यवस्था भए पनि सूचनासमेत नदिइ गाउँसभा सम्पन्न गरेकाले विशेष गाउँसभाको बैठक माग गरिएको कार्यपालिका सदस्य सुरेश थापाले जानकारी दिए। वाम गठबन्धनमा आबद्ध जनप्रतिनिधीहरु थापासहितका चार जना वडा अध्यक्ष र अन्य गाउँ सभाका सदस्यहरुले संयुक्त रुपमा विशेष बैठक डाक्न माग गरेर लिखित निवेदन दर्ता गरेका छन्।

ऐनको दफा १९ को उपदफा ३ मा विशेष गाउँसभा बोलाउने सम्बन्धी व्यवस्था छ। ऐन अनुसार गाउँसभाका एक तिहाइ सदस्यहरुले गाउँसभा बोलाउनु पर्ने कारण खोलेर माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था छ। गाउँ सभाका सदस्यहरूलाई जानकारी नदिइ गाउँसभा गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आफूले अध्यक्षको आदेश अनुसार काम गरेको बताए। उनले दुई दिनअघि भएको बैठकमा सबै सदस्यहरुलाई गाउँसभा हुने जानकारी गराइएको बताउँदै अध्यक्षको निर्णय अनुसार गाउँ सभा पुनः बोलाउने वा नबोलाउने टुंगो लाग्ने पनि बताए।  

ऐनमा व्यवस्था भएअनुसार गाउँसभाको सूचना सदस्यहरूलाई नदिइएको, गाउँपालिकाले गरेका काम कारवाहीबारे सार्वजनिक सुनुवाइ नगरेको, सार्वजनिक खरिद ऐन विपरीत खरिद कार्य गरेको र गाउँपालिका बिरुद्ध अख्तियारमा परेका उजुरीका सम्बन्धमा सदस्यहरुलाई जानकारी नगराइएकाले विशेष गाउँ सभा बोलाउनु परेको निवेदनमा उल्लेख छ। बुधबार कार्यपालिकामा २३७ दर्ता नम्बर रहेका निवेदन प्रमुख प्रशासकीय अधिकृतले दर्ता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.