|

सुनसरी : नोबेल अस्पताल बिराटनगरमा उपचारत १३ वर्षीया आमा ममता मरिक सहित उनको नाबालिका छोरीको उपचारमा सहयोग जुट्न थालेको छ। बालबिवाह पश्चात छोरी जन्माएको निहुँमा श्रीमान सहित परिवारबाट निकालिएकी ममताको विषयमा समाचार प्रकाशन तथा प्रशारण पश्चात सहयोग जुट्न थालेको हो। 

बुधबार गढी गाउँपालिकाको कार्यालयले सहयोगको अग्रसरता देखाएको छ। साविक इनरुवा हालको गढी गाउँपालिकाको सत्तेरझोरा होलैया माइती भएकी ममतालाई मुटु र स्वासप्रस्वास सम्वन्धि समस्या देखिएपछि नोबेलको आकस्मिक कक्षमा भर्ना गराइएको थियो। 

ममताको स्वास्थ्य थप गम्भीर बन्दै जाँदा नाबालिकाको अवस्था समेत नाजुक बन्दै गएको छ। नोबेलमा बिरामीको भर्ना प्रकृयालगायतको अन्य व्यवस्थापकीय कार्यमा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेलले सहयोग गरेकी थिइन्। अति विपन्न र अशक्त परिवार भएकी ममताको बेड भर्नासँगै औषधोपचारलगायतको अन्य बन्दोवस्तीमा उपप्रमुख पोखरेलले सहयोग गरेकी थिइन् भने स्थानीय युवा राकेश निरौलाले उनलाई साथ दिएका थिए। 

तत्कालका लागि केही रकम जोहो गरी ममतासहित उनको बच्चाको उपचार अघि बढाएकी  पोखरेलले गढी गाउँपालिकासँग समन्वय गरी आमा र बच्चाको थप उपचारको बन्दोवस्ती मिलाएकी छिन्। 

गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपप्रमुख राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार निरौलाका साथै इनरुवा नपाकी उपप्रमुख जमुना पोखरेलसहित ममताको सहयोगमा जुट्दै आएका राकेश निरौला लगायतको उपस्थितीमा भएको छलफलले १३ वर्षीया आमा र नाबालिका छोरीको उपचार तथा पुर्नस्थापनामा कमी हुन नदिने प्रतिवद्धता जनाएका छन्। 

उपचाररत आमा छोरीका लागि गढी गाउँपालिकाले तत्कालका लागि १० हजार नगद उपलब्ध गराएको छ। गाउँपालिकासँग स्वास्थ्य सम्झौता गरेको नोबेल अस्पतालमा ममता र उनको बच्चाको निःशुल्क उपचारलगायतको प्रकृया अघि बढाउने गाउँपालिका अध्यक्ष यादवले बताए। 

गढी गाउँपालिकाकी उपप्रमुख चौधरीले १३ वर्षीया आमा छोरीको उपचारसहित थप व्यवस्थापनको जिम्मा लिएसँगै प्रमुख यादव, उपप्रमुख चौधरीसहित निर्वाचित जनप्रतिनिधि र कार्यालयका कर्मचारीले अस्पताल पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

कुपोषित बच्चा र अस्वस्थ आमा दुवैलाई नोबेलमै राख्ने वा कोशी अञ्चल अस्पतालमा ल्याएर भर्ना गरी ओसियमसी मार्फत पुर्नस्थापन लगायतको प्रकृया अघि बढाउने भन्ने विषय यकिन भैनसकेको गढी गाउँपालिकाकी उपप्रमुख चौधरीले बताइन्। इनरुवा र गढीका उपप्रमुखले आपसी समन्वय कायम गरी हिंसाको शिकार भएकी ममतासहित उनको बच्चाको उपचारलगायतको पाटोमा अघि बढ्ने सहमति जनाएका छन्। जिल्ला प्रहरी कार्यलय सुनसरीले ममता हिंसा गर्ने बिरुद्ध कसैले उजुरी नगरेकाले कसैलाइ पका्रउ नगरेको बताउदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.