|

काठमाडौं : दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नेपाली रुपैयाँसहित फिल्म निर्माता माधवराज वाग्लेसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले वाग्लेलगायतका छ जनालाई ललिपुर र काठमाडौंका विभिन्न ठाउँबाट नक्कली नेपाली नोटसहित बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा निर्माता वाग्लेलगायत बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका संचालकहरू धादिङका प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभु बस्ने सुजित तामाङ र साजन तामाङ रहेका छन्।

बरामद भएको दुई करोड ६० लाख ६३ हजार रुपैयाँमध्ये दुई करोड ५२ लाख रुपैयाँ काठमाडौंको चारढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका संचालक फिल्म निर्मता वाग्लेको कोठाबाट बरामद भएको थियो। वाग्ले 'लुट', 'लुट २' र 'चंगा चेट' फिल्मका निर्माता हुन्। उनीहरूले फिल्म 'चंगा चेट'को सुटिङका लागि नक्कली नोट छापेको बताएका छन्।

सुवेदीले नक्कली नोट छाप्न नापितको छापाखानालाई दिएपछि नोटहरू छापिएको प्रहरीले जनाएको छ। सुवेदीको छापाखानाबाट नक्कली नोट बनाउन प्रयोग गरिएको चार थान प्लेट पनि बरामद गरिएको छ।

कता प्रयोग हुन्छ नक्कली नोट?

नेपाली नक्कली नोट रातीको समयमा होटल र रेस्टुरेन्टको बिल तिर्न, रातकै समयमा जुवा खेल्न सक्कली नोटमा मिसाएर प्रयोग गर्ने, लागुऔषध कारोबारी र यौनकर्मीहरूले प्रयोग गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल जानकारी दिए।

नक्कली नोट छाप्नेलाई बिगोबमोजिम जरिवाना गरी १० वर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.