|

बाँके : निर्माण कम्पनीले तोकेको समयमा पुल निर्माण नगर्दा बाँकेको राप्तीपारीका नागरिकले सास्ती बेहोर्नु परेको छ। कुल छ मिटर चौडाई र ५० मिटर लम्बाई भएको पुल निर्माण कम्पनीले पाँच बर्षसम्म निर्माण पूरा नगर्दा राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका झन्डै एकलाख नागरिकलाई सास्ती बेहोर्नु परेको हो। 

पुल निर्माणका लागि निर्माण कम्पनी र हुलाकी सडक कार्यालय बीच ०७० सालमा सम्झौता भई ०७२ चैच २४ गते सम्पन्न गर्नुपर्ने पुल पाँच बर्षको अवधिमा  ६० प्रतिशत काम मात्र पूरा भएको छ। 

हुलाकी राजमार्ग अन्तरगत नेपालगन्ज–फत्तेपुर सडक खण्डको राप्ती पुल नजिक बन्न लागेको उक्त पुल निर्माणको जिम्मा लिएको भैरव कन्स्ट्रक्सनले अहिलेसम्म दुई पटक म्याद थपिसकेको छ। 

पहिलो पटक ०७३ पुस मसान्तसम्म सम्पन्न गर्ने म्याद थपेको निर्माण कम्पनीले पुनः ०७५ जेठसम्म सक्ने गरि म्याद थप गरेको हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए। 
चार करोड १२ लाख ९० हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले हालसम्म तीन वटा पिलर खडा गरेको छ। एउटा पिलरको क्याप बनाउन र ढलान गर्न बाँकी रहेको उनले बताए। ‘कामको प्रकृति हेर्दा पछिल्लो पटक थपेको म्यादभित्र पुल तयार हुने संकेत देखिन्छ,’ उनले भने। 

तर, निर्माण कम्पनीको काम गराई हेर्दा पछिल्लो पटक थप गरेको अवधिमा पनि पुल निर्माण पूरा नहुने देखिन्छ। निर्माण कम्पनीले एकदमै ढिलो गरी काम गरिरहेका राप्ती सोनारी गाउँपालिका–६ का अध्यक्ष जनकबहादुर थारुले बताए। उनले समयमा निर्माण सक्न पटक–पटक दवाव दिए पनि कुनै सीप नचलेको बताए। ‘यसपालीको बर्षातमा पनि दुःख पाइने भइयो,’ अध्यक्ष थारुले भने । 

विभिन्न बहाना बनाउँदै निर्माण कम्पनीले काम ढिलाई हुनुको कारण प्रष्ट्याएको छ। निर्माणको जिम्मा लिएको भैरव कन्स्ट्रक्सनका प्रोप्राइटर भरत शाहले बालुवाका कारण पिलर खडा गर्न दुई बर्ष लागेको बताए। उनले पिलरका लागि खाल्डो खन्ने बेला पानी निस्किने र खाल्डोमा बालुवा आएर खन्न समस्या हुने गरेको बताए। ‘खन्दै जाँदा खाल्डोमा पानी भर्ने र बालुवा आएर पुरिने हुन्छ, सवैभन्दा धेरै समय पिलर खडा गर्नमा लाग्यो,’ उनले भने। 
उनले बाढीका कारण हरेक बर्ष तीन–चार महिना काम गर्न नसकेको बताउँदै जाडो याममासमेत काम हुन नसकेको बताए। बाढीले निर्माण सामग्री र उपकरण बगाउने गरेको उनले स्पष्ट पारे। 

‘कामले गति लिन थालेको बेला बाढी आएर काम रोकिन्छ, फेरि काम सुरु गर्न खोज्यो चिसोले पानीमा काम गर्न नसक्ने हुन्छ,’ शाहले भने। उनले निर्माणमा ढिलाई हुनुमा निर्वाचनलाई पनि दोष लगाए। निर्वाचनले चार–पाँच महिना काम रोकिएको उनको भनाई छ। 

निर्माण कम्पनीले तोकेको समयमा पुल निर्माण नगर्दा राप्ती–सोनारी र नरैनापुरका झण्डै एकलाख सर्वसाधारणलाई आउजाउ गर्न सास्ती भएको छ। पुल नबनेपछि सवारी साधन वैकल्पिक बाटोबाट आउजाउ गर्न बाध्य छन्। वैकल्पिक सडकमा बालुवा नै बालुवा भएकोले सवारी साधन फस्ने गरेको राप्ती–सोनारी गाउँपालिका–६ का वडा अध्यक्ष जनक बहादुर थारुले बताए। 

उनले बालुवाका कारण सवारी साधन संचालनमा मात्र नभई सर्वसाधारणलाई गर्मी र चिसो याममा समेत हिड्डुल गर्न समस्या हुने गरेको बताए। ‘बालुवा नै बालुवा भएको सडकमा सवारी साधन चलाउन त समस्या हुन्छ नै पैदल हिड्न पनि गाह्रो हुन्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.