|

डोटी : प्रदेश ७ मा तत्काल कर्मचारी पठाउन मुख्यमन्त्री त्रिलोचन भट्टले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग माग गरेका छन्। संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँगको भेटमा काठमाडौंमा रहेका मुख्यमन्त्री भट्टले बुघबार सामान्य प्रशासन मन्त्री पण्डितसँग भएको भेटमा कर्मचारी तत्काल पठाउन  आग्रह गरेका हुन्।

भेटमा मुख्यमन्त्री भट्टले भने, ‘कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकार संचालनमा समस्या भएको छ, समयमै कार्य सम्पादन हुन सकेको छैन तत्काल प्रदेशमा कर्मचारी पठाउनु पर्यो।’ 

मन्त्री पण्डित र मुख्यमन्त्री भट्टका बीचमा कर्मचारी समायोजन ऐनका विषयमा पनि छलफल भएको मूख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए। ओलीले भने ‘ दुबैका बीचमा कर्मचारी समायोजन ऐनलगायतका महत्वपूर्ण विषय, प्रदेश र स्थानीय संरचनामा कसरी कर्मचारी समायोजन गर्ने विषयमा छलफल भएको छ।’

प्रदेशमा कार्य सम्पादनमा असर नपर्नेगरी तत्काल कर्मचारी पु¥याइने सामान्य प्रशासनमन्त्री पण्डितले बताए। पण्डितले भने ‘केही कर्मचारी कार्य क्षेत्रमा खटिएका छन्, केही तत्काल आउछन प्रदेश र स्थानीय तह संचालन गर्न पुग्नेगरी कर्मचारीको व्यवस्था हुन्छ।’

प्रदेश ७ सरकार संचालन तथा कर्मचारी अभाब भएका कारण कामकाजमा असहज भएको सेवाग्राहीले बताउँदै आएका छन्। दिपायलका डबलबहादुर साउँदले भने, ‘धेरै स्थानीय तहहरू निमित्तका भरमा संचालन भएका छन्, कर्मचारी अभावका कारण प्रभावकारी काम हुन सकेको छैन ।’ 

कर्मचारी अभावले बजेट खर्च नहुने चिन्ता 

डोटीको केआई सिंह गाउँपालिकाकी उपाध्यक्ष मीना बिष्ट महिला विकासका लागि छुट्टाईएको २८ लाख बजेट खर्च नहुने होकी भन्ने चिन्तामा छन्। जिल्ला सदरमुकाम आयोजित एक कार्यक्रमा बोल्दै बिष्टले भनिनन्, ‘म महिला भएकाले पनि चिन्तित छु, महिलाको क्षमता विकासका लागि बजेट विनियोजित गयौँ, अब खर्च हुन्न कि भन्ने समस्या छ, महिला विकासका कर्मचारी पनि छैनन्। महिला विकासतर्फको कामका लागि कर्मचारी पठाइदिनुप¥यो भन्दै हामीले पटक–पटक आग्रह गर्‍यौं तर अझै कर्मचारी आएनन्।’

दिपायल सिलगढी नगरपालिकामा समेत कर्मचारी अभावले गर्दा एउटै कर्मचारीलाई दुई/तीन वटा कामको जिम्मा दिइएको छ। नगरपालिकाको योजना शाखा प्रमुखका रूपमा काम गर्दै आएका राजबहादुर खड्काले वर्षौँदेखि वडासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।

खड्काले भने, ‘करिब ६ सय योजना छन्, योजना शाखामा एक्लै छु, ती योजनाको उपभोक्ता समिति गठनदेखि योजनाको सम्झौतासम्म सबै आफैँले गर्नुपर्ने हुन्छ।’ उता, वडासचिवको जिम्मेवारीसमेत दिइएकाले वडाको काम गर्नुपर्दा साह्रै समस्या आएको खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.