|

ताप्लेजुङ :  भूकम्पले क्षति भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका पाँचवटा विद्यालयको भवन निर्माण गैरसरकारी संस्थाले गरिदिएको छ। वैशाख १२ को भूकम्पका कारण भत्किएका ती विद्यालयको भवन ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको समन्वयमा हिमालयन ट्रष्ट युकेले निर्माण गरिदिएको हो। 

फक्ताङलुङ गाउँपालिका–६ लेलेप स्थित लुङथुङ आधारभूत विद्यालयमा पाँच कोठे, लेलेपकै देउराली आधारभूत विद्यालयमा दुई कोठे, इखाबुको बिपुधाम आधारभूत विद्यालयमा दुई कोठे, ईखावुकै सेवालुङ आधारभूत विद्यालयमा दुई कोठे र लेलेपको लावाजिन आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिएका छन्। लुङ्थुङमा ४९ लाख ४० हजारको लागतमा दुई वटा पाँच कोठे, देउरालीमा १५ लाख ३९ हजारमा ठूलो हल भएको एक कोठे र अरु सबै विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भएका हुन्। 

रिडका अनुसार सेवालुङमा १९ लाख ६७ हजार, विपुधाममा २० लाख ४६ हजार र लावाजिनमा २० लाख ९३ हजार रुपैयाँ भवन निर्माणमा खर्च भएको छ। भवन निर्माणका लागि दाताले ७५ र समुदायले २५ प्रतिशतको योगदान गरेका थिए। भूकम्पपछि उक्त संस्थाले टेन्ट राखेर अस्थायी भवन निर्माण गरिदिएको थियो। यसरी बनेका अस्थायी भवनमै बसेर पढ्दै आएका विद्यार्थीहरु अब नवनिर्मित भवनमा बस्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.