|

काठमाडौं :  नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र बीच बिहिबार साँझसम्ममा एकता घोषणा हुने भएको छ । 

बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ। निर्णयपछि निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ। 

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो। 

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन बिहिबार पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेकामा दुवै दलका कार्यकर्तामा उत्साह देखिएको छ। 

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ। 

एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने सहमति भएको छ।  गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.