'नेकपा'को झण्डामुनि यस्ता छन् दुवै पक्षलाई सम्मान मिल्ने पक्ष

|
पार्टी एकताबारे निर्णायक वार्ता गरेपछि बुधबार हात मिलाउँदै ओली र प्रचण्ड।

काठमाडौं : जनताबाट अनुमोदित भएर देशको पहिलो र दोस्रो ठूला कम्युनिस्ट पार्टी बनेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अन्ततः 'नेपाल कम्युनिस्ट पार्टी' को झण्डामुनि एकताबद्ध हुने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टी एकताको वाचासहित गठबन्धन बनाएर निर्वाचनमा गएका यी दुई पार्टी जनता र कार्यकर्ताबाट 'ग्रीन सिग्नल' पाएपछि बिहीबार निर्वाचन आयोगमा पुगेर एउटै पार्टी दर्ता गर्न गइरहेका छन्। एकता गर्ने उद्घोष गरको छ महिनापछि यसले मूर्त रूप लिनेछ। 

यसबीचमा दुई पार्टीको एकतालाई लिएर चरण चरणका छलफल भए। पार्टी एकतालाई निर्णयार्थ प्रस्तुत गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापा बादलको नेतृत्वमा संगठन र वैचारिक पक्ष मिलाउनका लागि कार्यदल गठन गरिएका थिए। ती कार्यदलले उप कार्यदल गठन गरेर पार्टी एकतालाई दिशा दिएका थिए। भलै यसबीच दुई पार्टीको एकतालाई लिएर एक अर्काप्रति शंका र उपशंका रहेको पनि सार्वजनिक भइरहे। यसैबीच बुधबार पार्टी एकताले रफ्तार लियो र बिहीबार त्यसले सार्थक निष्कर्ष पाउन लागेको छ।

पार्टी एकताबारे बुधबारका घटनाक्रम

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगे। पौने १० बजे बालुवाटार पुगेका प्रचण्डले ओलीसँग पार्टी एकताका अलावा सरकार सञ्चालनमा एमालेप्रति माओवादीमा रहेको शंका र उपशंका बारे कुरा राख्ने अपेक्षा गरिएको थियो। मोदी भ्रमणमा माओवादीलाई 'बाइकट' गरेका प्रधानमन्त्री ओली र प्रचण्डबीच 'वान टू वान' भेट लामो समयपछि भइरहेको थियो। उनीहरूको भेट बीचमा पार्टी एकताबारे पनि माओवादीमा चरम असन्तुष्टि रहेको र एकता हाललाई स्थगन भएको खबर सार्वजनिक भएका थिए।

एकतालाई अन्तिम 'किक' दिने अधिकार पाएका ओली-प्रचण्डको बालुवाटार भेटले जेठ ३ गते नै पार्टी एकता गर्ने निर्णय गर्‍यो। दुवैजना पत्रकारसामु प्रस्तुत भए र पार्टी एकता भएको भन्दै हात मिलाएर फोटो सेसन गराए।

ओली-प्रचण्ड छलफलमै रहेका बेला एमालेले बुधबार नै स्थायी कमिटी बैठक बोलाएको थियो। त्यसलगत्तै माओवादीले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलायो। र, एमालेले पनि लामो समयपछि बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलायो। कार्यसूची समेत सार्वजनिक गरियो- पार्टी एकताबारे आवश्यक निर्णय लिने।

बुधबार अपराह्न ४ बजे एकै समय एमालेको स्थायी कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक दिनपछि अर्थात् बिहीबार नै पार्टी एकता गर्ने टुंगो लगायो। ती बैठकहरूमा ओली र प्रचण्डले पछिल्लो चरणमा भएका छलफलका प्रगति विवरण विस्तारमा सुनाएका थिए।

'हामीले घोषणा नगरेको दिन पार्टी एकता हुन्छ', माओवादी अध्यक्ष प्रचण्डले वैशाख ९ गते लेनिन जयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भनेको यो भनाइ जेठ ३ गते पार्टी एकता गर्ने निर्णयसँगै सार्थक बनेको थियो। किनकी, पार्टी एकतामा खटपट आएको र लगभग स्थगन भएको भन्ने खबरहरूबीच पार्टी एकता घोषणाको निर्णय भएको थियो।

ओली प्रचण्डलाई मात्र थाहा भएको एकताको मिति र तरिका

एमालेका उपाध्यक्ष वामदेव गौतमले बुधबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्दैथिए- 'पार्टी एकता भोलि हुने भन्ने थाहा भयो।' माओवादीका प्रचण्ड पछिका शीर्ष केही नेताबाहेक सबैले बुधबार साँझ ८ बजेपछि मात्रै औपचारिक रुपमा पार्टी एकताको मिति र मोडालिटी थाहा पाएका थिए। प्रचण्डले गरेको बिहीबारको केन्द्रीय कार्यालयको विस्तारित बैठकको अन्तिम 'ब्रिफिङ'बाट अन्य नेताहरूले थाहा पाएका थिए।

पार्टी एकतामा पनि ६०-४० र ७०-३० को भागबन्डा हुने र त्यसले माओवादीलाई एमालेमा विलय भएको सन्देश जाने भनेर बहसमा रहेका माओवादी नेताहरूले प्रचण्डको उक्त 'ब्रिफिङ'पछि मन बुझाएका थिए।

धेरै बोल्यो भने बिग्रिन्छ भनेर ओली-प्रचण्ड सचेत थिए। बाहिर एकतामा भाँजो आएको खबरहरूले अखबारका फ्रन्ट पेज र अनलाईन समाचार पोर्टहरूका 'ब्रेकिङ' भइरका बेला दुई नेताहरू भने एकतामा मिल्न बाँकी विषयलाई अन्तिम रूप दिन लागेका थिए। त्यसका लागि दुवैजना भेट्नेदेखि पार्टी भित्रका विश्वासपात्रहरूलाई खटाइरहेका थिए। यसमा एकता संयोजन समितिमा रहेका केही नेता र संयोजन समितिले गठन गरेका कार्यदलका केही सदस्यहरू सक्रिय रहेका थिए।

एमाले-माओवादी दुवैलाई सम्मानजनक

पार्टी एकताबारे एमाले र माओवादीको केही पंक्तिमा फरक बुझाइ थियो। एमालेको त्यो पंक्ति जसले माओवादीका खोट देखाएर बेकारमा एकतामा ल्याउन लागियो भन्ने थियो र माओवादीको एक पंक्तिमा एमालेमा विलय हुने भयो भन्ने थियो। त्यसको जडमा एकीकृत पार्टीमा एमाले र माओवादीबाट कति जना राख्ने भन्ने प्रतिशत थियो। माओवादीले बराबरी र सम्मानजनक एकता खोजिरहेको थियो भने एमालेले सकेसम्म माओवादीलाई ७० र ३० त्योभन्दा बढी भए ६० र ४० को अवस्थामा भित्र्याउन खोजिरहेको थियो। यता माओवादीमा भने त्यो मान्नै नहुने भन्ने आवाज र दबाबको पारो चढ्दै थियो। माओवादीमा एकता कतै सम्मानजनक नहुने हो कि भन्ने डरले घर गरेेर बसेको थियो। त्यसलाई एमाले अध्यक्ष ओलीका कतिपय अभिव्यक्तिले मलजल गरेको थियो। यसमध्येको एक थियो,  'खुट्टा काटेर भए पनि जुत्तामा हाल्नुपर्ने' अभिव्यक्ति। जसले माओवादी पंतिमा विलय हुनलागेको हो कि भन्ने भावलाई बढावा दिएको थियो।

यसैबीच एकीकृत पार्टीको केन्द्रमा दुई अध्यक्ष, ४३ जना स्थायी कमिटी जसमा एमालेबाट २५ र माओवादीबाट १८, केन्द्रीय समिति ४४१ जनाको हुने जसमा एमालेबाट २४१ र माओवादीबाट २०० हुने सहमति भयो। जसले एमालेमा हामी ४१ ले बढी भनेर मन बुझाउने र हामी पनि सराबरी छौँ भनेर माओवादीले सम्मानजनक भएको महसुस गर्ने अवस्थाको सिर्जना भएको छ। जसको आभाष केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालको बोलीमा पनि हुन्थ्यो। पार्टी एकता निष्कर्षमा पुगेको सुनाउँदै उनले भनेकी थिइन्, 'हामीले भन्दै आएको जस्तै सम्मानजनक, न्यायोचित र समानताका आधारमा एकता गर्ने भन्ने थियो र सांगठनिक, वैचारिक, राजनीतिक कुराहरू तात्त्विक निष्कर्षमा पुगेको छ।'

पार्टी एकतापछि कुन विचारधारा अँगाल्ने भन्नेमा पनि एमाले र माओवादीमा मतभेद थियो। एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओ विचारधाराबीच बेमेल थियो। एकले अर्कोलाई स्वीकार्न नसक्ने अवस्था आएको थियो। त्यसले पनि दुवै पार्टीकाले मन बुझाउन मिल्नेगरी समाधान निस्किएको छ- महाधिवेशनबाट विचारधारालाई टुंगो लगाउने गरी। माओवादी नेता जनार्दन शर्माले 'महाधिवेशनसम्मको विचारधारा समाजवाद उन्मुख राज्यव्यवस्था र अर्थव्यवस्था निर्माण गर्नुपर्ने भएकाले सोही अनुरुपको विचारधारा अँगाल्ने' सहमति भएको बताए। कम्युनिस्ट पार्टीलाई कुनै विचारधारा अँगाल्ने पर्ने अवस्था र परम्परालाई निरन्तरता दिनैपर्ने अवस्था आएमा 'समाजवाद उन्मुख जनताको जनवाद अहिलेको तत्कालीन नीति हुने र बाँकी कुरा महाधिवेशनले तय गर्ने' उनको भनाइ थियो। यसले वैचारिक रूपमा पनि दुवै पार्टीका नेता कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीको झण्डामुनि आत्मसम्मान महसुस गराउनेछ।

पार्टी एकता घोषणाको साइत एमाले पंक्तिलाई सम्मान महसुस गराउने जुराइएको छ। एमालेको तत्कालिन नेतृत्व मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनामा परी निधन भएको जेठ ३ गते पार्टी एकता घोषणा गर्न लाग्नुको पछि यो भावनाले भूमिका खेलेको छ। मदन भण्डारीको जबजलाई एकीकृत पार्टीको निर्देशक सिद्धान्त नमानेकोमा मनमा अँध्यारो पालिरहेको एमाले पंक्तिमा यसले भएपनि उज्यालोको संकेत दिनेछ।

त्यस्तै, चुनाव चिह्न सूर्य हुने लगभग तय भइसकेको छ। जसले एमाले पंक्तिलाई सम्मान भाव दिनेछ। सूर्य एकीकृत पार्टीको चिह्न हुनुपर्ने र हुने एमाले नेताहरूले सांकेतिक रूपमा बताउँदै र त्यसमा जोड दिँदै आएका थिए। बुधबार पनि स्थायी कमिटीको बैठकपछि एमाले सचिव योगेश भट्टराईले भनेका थिए, 'चुनाव चिह्नको निर्णय पार्टी एकताको घोषणासँगै हुन्छ। तपाईँहरूले जे अनुमान गर्न खोज्नुभएको छ त्यसै अनुसार नै हुन्छ।' यसअघि एमाले महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि यस्तै संकेत गरेका थिए।

सूर्यमा माओवादीले किन गरेन परिवर्तनको माग?

माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आएको पार्टी हो। २०६३ सालमा शान्ति प्रक्रियमा आएको माओवादीले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर दुई संविधानसभाका चुनाव र स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा सहभागी भएको छ। उसले यसबीचमा नेकपा मालेको चुनाव चिह्न हँसिया ताराले माओवादीका भोट लियो भन्ने उसलाई आशंका थियो। मतदातालाई जति सम्झाइ बुझाइ गर्दापनि माओवादीका केही भोट मालेमा गइरहेका हुन्थे। त्यसैले केही अघिसम्म एकीकृत पार्टीको चुनाव चिह्न सूर्यभित्र हँसिया हथौडा हुनुपर्ने माग गरेको माओवादीले सूर्यलाई स्वीकार गरेको हो।

बुधबार केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सहभागी एक माओवादी नेताले यसबारे भनेका थिए- 'हामीले सूर्यभित्र हँसिया हथौडा राख्नैपर्ने अडान लियौँ भने एमाले मान्न तयार पनि होला तर सूर्य चिह्न भोलि अर्को पार्टीले पाउँछ। र, हँसिया हथौडा पनि अर्कोले पाउला। जसरी माओवादीका भोट मालेमा गएका थिए त्यसरी नै नेपाल कम्युनिस्ट पार्टीका भोट अर्को पार्टीमा नजाअोस् भनेर हामीले सूर्य चुनाव चिह्नलाई स्वीकार गरेका हौँ।'

अन्त्यमा…

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारमा सहभागी माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच असोज १७ गते पार्टी एकताको वाचासहित चुनावी गठबन्धन घोषणा भयो।

जबकि माओवादी र एमालेबीच स्थानीय तहको निर्वाचनताका सतहमा पानी बाराबारको अवस्था देखिएको थियो। तर, माओवादीसँग मिलेर चुनावमा जाने सपना पालिरहेको र व्यक्त नगरेको देउवालाई समेत आश्चर्यचकित पार्नेगरी एमाले र माओवादीबीच गठबन्धन मात्रै भएन पार्टी एकता नै गर्ने घोषणा भयो।

जसको सुरुवात एउटै चुनावी घोषणापत्रसहित निर्वाचनमा गएर झण्डै दुई तिहाइ सिटमा विजय हासिल गर्दै भएको थियो। सात प्रदेशमध्ये छ प्रदेशमा यी दुई पार्टीले सरकार गठन गरेका छन्। कांग्रेस सबैतिर निरीह प्रतिपक्षीको रूपमा छ।

त्यतिखेर गरिएको पार्टी एकताको वाचाले बिहीबार सार्थकता पाउँदैछ। आश्चर्यजनक एकता तथा गठबन्धनको घोषणाले सार्थक निष्कर्ष पाउन लागेको छ। यो एकतासँगै जनताले अब सुशासन र विकासको आश गरेका छन्। सधैँ राजनीतिक अस्थिरतामा रहेको देशमा अब स्थिरता मिल्छ भन्ने सबैको आशा छ। नेपाली कम्युनिस्टहरूको जुट्ने र फुट्ने रोग पनि मान्छेले बिर्सेका छैनन्। तैपनि  यो एकताबाट आर्थिक समृद्धि र जनताको जीवनशैलीमा सुधारको अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.