|

काठमाडौं : एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमाले-माओवादीको हुन लागेको बताएका छन्। मदन भण्डारी र जीवराज अश्रितको २५औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा आजको दिन सबैभन्दा महत्त्वपूर्ण रहेको बताए।

'कम्युनिष्ट एक भए भने देशमा  अधिनायकवाद आउँछ भनेर केही केही साथीहरूले भनेका थिए', उनले भने, 'तर हामी शासन गर्न एक भएका होइनौँ। विकास गर्न एक भएका हौँ। हामी भ्रष्टाचार अन्त्य गर्न एक भएका हौँ।' आजै पार्टी एकता हुने भन्दै उनले कार्यतालिका समेत सुनाए।

उनले कांग्रेसलाई पनि साथै लिएर अघि बढ्ने बताए। 'कांग्रेस अब हाम्रो प्रतिस्पर्धी होइन। देशको विकासका लागि हामी कांग्रेसलाई पनि सँगै लिएर अघि बढ्छौँ', उनले भने।

उनले भने,' आज हामी एकता कै काममा लाग्छौँ। यहाँबाट गएपछि लगत्तै एकता संयोजन समितिको बैठक छ। त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बस्छ। अनि हामी निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जान्छौँ। त्यसपछि दुवै पार्टीको केन्द्रीय समिति बस्छ र पार्टी एकता हुन्छ।' निर्वाचन आयोगमा पार्टी एकतासँगै देशको नयाँ भविष्यको संकेत पनि हुने बताए।

प्रधानमन्त्री ओलीले अब कम्युनिस्ट पार्टी एक हुने प्रक्रिया सुरु भएको धारणा राखे। 'नेपालमा कम्युनिष्ट पार्टीको फुट मात्र थियो। अब जुट्ने क्रम सुरु भएको छ। अब कसैले पार्टी फुटाउने छैन', उनले भने। उनले ३ बजे एकताका लागि राष्ट्रियसभा गृहमा भेला हुन कार्यकर्तालाई निर्देशन दिए।

उनले मदन भण्डारीको निधन भएको २५ वर्षमा उनको प्रभाव बढ्दै गएको बताए। 'जननेता मदन भण्डारीको निधन भएपछि झन् उहाँका विचारको प्रभाव बढेको छ', उनले भने, 'अब उहाँको विचारको गोरेटो, हुँदै ६ लेनको सुपर हाइवेसम्म हामी पुग्नेछौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.