|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्‍ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताएका छन्। 

मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा बिहीबार मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिस्‍ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताए। 

'एकतापछि बन्ने एकीकृत कम्युनिस्‍ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पुर्‍याउनेछ,' प्रधानमन्त्री ओलीले भने, 'दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्नेछ।' 

उनले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उनीहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताए। एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उनको भनाइ थियो। 
उनले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताए। 

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई प्रतिस्‍पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताए। 'हामी सबै मिलेर देश बनाउने हो', उनले भने, 'त्यसैले हामी कांग्रेसलाई पनि साथमा लिएर चल्द छौँ।'  कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रित अवसान भएको दिन ऐतिहासिक भएकाले पार्टी एकता गर्न थालेको बताए। 

पूर्वप्रधानमन्त्री दाहालले उनीहरुको स्मृतिको दिनमा मुलुकलाई ऐतिहासिक मोडमा पुर्‍याउनका लागि आफूले नै एकताको प्रस्ताव गरेको समेत उल्लेख गर्नुभयो। 
'अब पार्टी एकता गर्नका लागि ढिला गर्दै मदन-जीवराजको अवसान भएको दिन पार्टी एकता गर्नुपर्छ भनेर मैले नै भनेको हुँ।' उनले भने, 'आजको दिन पार्टी एकता गरेर मदन-जीवराजप्रति सम्मान गर्न थालेका हौँ।' उनले मदन भण्डारीको स्मृति दिवसको अवसरमा पार्टी एकता गर्न थालेकामा गर्व भएको बताए। 

सोही अवसरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्व मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गरेका थिए। 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.