समाज

पुरातात्विक महत्त्वको चन्द्रगढ संरक्षणमा स्थानीयको पहल
SHARES

जेठ ३, २०७५

    भद्रपुर (झापा) : झापामा ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेका विभिन्न स्थलहरु छन्। अर्जुनधारा, किचकबध, सताक्षीधाम, विराटपोखरी, समयगढ ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेका धार्मिक स्थलहरू हुन्। यीमध्ये केही स्थानको पुरातत्व विभागले उत्खनन् गरी धार्मिक तथा ऐतिहासिक स्थल भएको बताएका छ।

    यद्यपि, सदरमुकामदेखि पाँच किलोमिटर उत्तरमा पर्ने भद्रपुर नगरपालिका–९ स्थित देउनियाखोला किनारमा रहेको चन्द्रगढ उत्खनन् हुन सकेको छैन। यस क्षेत्र मौर्यकालीन इतिहाससँग जोडिएको विज्ञहरूको भनाइ छ। प्रारम्भिक अध्ययनअनुसार विभिन्न १६ वटा थुम, दुई वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको चन्द्रगढ धार्मिक स्थल किचकबधभन्दा पुरानो रहेको विज्ञहरूको दावी छ। ‘चन्द्रगढ पुरानो किल्लाको रूपमा देखिन्छ,’ मेची बहुमुखी क्याम्पसका पूर्वसह—प्राध्यापक चिन्तामणि दाहालले भने, ‘यसलाई एक पटक उत्खनन् गरे मात्र ऐतिहासिक धार्मिक स्थल भनी पुष्टि हुन्छ।’ 

    कुनै वस्तुको उत्खन्न गरी परीक्षण गर्न करिब १६ लाख रुपैयाँ खर्च हुने दाहाले बताए। ‘परीक्षण गर्न भारत वा थाइल्याण्ड लानुपर्ने हुन्छ,’ उनले भने, ‘पटक–पटक परीक्षण गर्दा दुई चार करोड लाग्ने भएकाले चन्द्रगढ उत्खन्नको पखाइमा छ।’

    यस क्षेत्रको अहिलेसम्म उत्खन्न भएको छैन। अहिलेसम्मको अध्ययनअनुसार चन्द्रगढ दुई हजार वर्ष पुरानो मौर्यकालीनसँग शासनसँग सम्बन्धित किल्ला भएको अनुमान गरिएको छ। यस क्षेत्रको नजिकै रहेको किचकबधको उत्खन्नको बेला पुरातत्व विभागका टोली एक पटक अवलोकनका लागि मात्र आएका थिए। 

    चन्द्रगढको महत्वबारे यसका वरिपरि रहेका मानिसलाई पनि थाहा छैन। चन्द्रगढको नामबाटै चन्द्रगढी इतिहास छ। तर, उक्त इतिहासबाट बिस्तारै बिर्संदै गएको चन्द्रगढी सामुदायिक वनका अध्यक्ष हीरा पोखरेलले बताए। जंगलको नजिकै रहेको चन्द्रगढको किल्ला जंगलले छोपिएकाल वन समितिको पहलमा सरसफाइ गरिएको उनले बताए। चन्द्रगढ क्षेत्रले करिब १० बिघा क्षेत्रफल ओगटेको छ।

    ‘यसको संरक्षणका लागि भद्रपुर नगरपालिकालाई लिखित आग्रह गरेका छौं,’ उनले भने, ‘वन समितिले अवधारणापत्र बनाएर अघि बढेको छ, सोही अवधारणापत्रअनुसार नगरपालिका गुरुयोजना बनाइ काम शुरु गरेको छ।’

    यस क्षेत्रमा चन्द्र शमशेरले ६२ बिघा क्षेत्रफलमा सैनिक किल्ला कायम गरी गढ निर्माण गरेको इतिहास छ। त्यस गढमा सानो भवन र सिसाको इनार समेत निर्माण गरेका थिए। उक्त इनारको भग्नावशेष मात्र छ। यहाँ लक्ष्मी नारायणको मन्दिर निर्माण गरिएको छ। यस क्षेत्रलाई  धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय लागिपरेका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]