|

चितवन : पूर्वी चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसैमैदान व्यवस्थापनको काम शुरु भएको छ। 

गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैयाहरू सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको व्यवस्थापन गर्न थालिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए। 

कुमरोज मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिंगे गैंडा, बाघ, भालु, चित्तल, जरायोलगायत दुर्लभ वन्यजन्तुहरुको बासस्थान छ। 

तालतलैया, घोल र घाँसे मैदान भएन भने वन्यजन्तुले वासस्थान फेर्ने भएकाले तालतलैया संरक्षण र घाँसेमैदान व्यवस्थापनमा ध्यान दिइएको सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङ बताँछन्।

यसका लागि वनको आन्तरिक श्रोतबाट रु ५ लाख बजेट विनियोजन गरिएको छ। विगतमा तालतलैया सुकेका बेला यहाँ कृत्रिम ताल बनाएर वन्यजन्तुको बासस्थान संरक्षण गरिएको थियो। अहिले यस्तो अबस्था नआओस् भनेर राप्ती नदीबाट पानी ल्याएर सिमसार क्षेत्र जोगाउने गरिएको छ।

सामुदायिक वनका अनुसार मुख्यगरी यहाँका आदिवासी जनजाति समुदायको नाममा बनाइएको दराइबोटे ताललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक कामसमेत सुरु भएको छ।

खैरहनी नगरपालिकाको रु १० लाख आर्थिक सहयोमा जिन्दगानीघाटमा रहेको तालको संरक्षण तथा बीचमा विश्राम स्थल निर्माण गरी डुंगा सञ्चालन गर्न लागिएको वनका कार्यालय सचिव नेपालले बताए।

माछापालनसँगै यहाँ आएका पर्यटकहरूलाई डुंगा सयर गराउन सके पर्यटन विकास हुने विश्वास स्थानीयको छ। साथसाथै वन्यजन्तुहरूका लागि समेत पानीको मुख्य श्रोतको रुपमा यो ताल रहेको छ।

कुमरोज वनमा अहिले पर्यटकका लागि हात्ती सफारी र जिप सफारी हुँदै आएको छ भने यहाँको राप्ती नदीमा डुंगा सफारीसमेत सुरु गरिएको छ।  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर प्रमुख अभिनय पाठक कुमरोजमा वन्यजन्तुको राम्रो वासस्थान रहेकाले संरक्षणमा स्थानीयहरूको सहयोग रहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.