|

ओखलढुंगा : ओखलढुंगासहित पाँच जिल्लाका संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले सरगरमाथा राजमार्ग चार लेनको बनाउन र चतारा-घुर्मी (कोशी करिडोर) छिटो अघि बढाउन माग गरेका छन्।

सांसदहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दुईबुँदे ज्ञापनपत्र बुझाउँदै सांसदहरूले सगरमाथा सडकलाई चार लेनको बनाउन, कोशी करिडोरको काम ठेकेदारले नगरेकाले पुनः ठेक्का प्रक्रिया सुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

माग पत्रमा मार्डर-चोर्हवा-मिर्चैया-घुर्मी हुँदै ओखलढुंगा-सोलुखुम्बु सडक (सगरमाथा सडक) लाई चार लेनको बनाउन र चतारा-घुर्मी (कोशी करिडोर) छिटो अघि बढाउन माग गरिएको छ। चतारा-घुर्मी सडक सिद्धिचरण राजमार्ग र मध्यपहाडी राजमार्ग जोड्ने सडक भएकाले यथाशीघ्र अघि बढाउन माग गरिएको सांसद यज्ञराज सुनुवारले बताए। 6

सांसदहरूको मागलाई आगामी कार्यक्रममा समावेश गर्न मन्त्री महासेठले सचिवलाई निर्देशन दिएको स्रोतले बतायो। यी सडक सुनसरी, सिराहा, सप्तरी, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। 

ज्ञापन पत्रमा ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारसहित सांसदहरू हेमराज राई (सोलु), सुरेशकुमार राई (उदयपुर), लीलानाथ श्रेष्ठ (सिराहा) र जयकुमार राई (सुनसरी)ले हस्ताक्षर गरेका छन्। सगरमाथा सडक र चतारा-घुर्मी सडक  सम्पन्न भएमा सोलुखुम्बुबाट चीनसँगको नाका नाङ्पाला खोलेर चीनसँग सडक यातायातमा जोड्न सकिने सांसद सुनुवारले बताए। 

सगरमाथा सडकलाई समुद्रदेखि सगरमाथासम्म (सी टु एभरेष्ट) पर्यटकीय सडकका रूपमा विकास गर्ने अवधारणासहित पाँच जिल्लाका सांसदहरूले माग पत्र पेस गरेका जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.