राजनीति

नेकपादेखि नेकपासम्म माओवादीको क्रान्ति, यी हुन् उपलब्धि
SHARES

जेठ ३, २०७५

    काठमाडौं : सर्वहारा वर्गको अधिकारलाई स्थापित गर्न भन्दै नेपालमा वि. सं. २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायण जोशीलगायतका नेताहरूले सन् १९४९ अप्रिल २२ अर्थात् लेनिन जयन्तीको दिन भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।

    तर उनीहरू एक भएर सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी लामो समयसम्म टिक्न सकेन। विभिन्न समयमा भएको फुटका कारण अहिले नेपालमा १८ वटाभन्दा बढी कम्युनिस्ट पार्टीहरू भए। 

    कम्युनिस्ट पार्टीले नै नेपालमा १० वर्ष सशस्त्र युद्ध गर्‍यो। युद्धकै कारण देशमा गणतन्त्र स्थापना भयो। २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी बीचमा विभाजित भए पनि फेरि एक हुँदै गएका छन्। अहिले (आज) देशका ठूला दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माअोवादी केन्द्र एक भए। यो नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो उपलब्धि हो। यसअघि पनि एकताका साना–साना प्रयास भने नभएका होइनन्।

    विभिन्न समयमा एकताका साना प्रयास त भए तर अहिले भने कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो एकता भएको छ। नेपालको राजनीतिमा विभिन्न समयमा आएको उतार-चाढावका कारण वि. सं. २०१९ पछि कम्युनिस्ट पार्टीको विभाजन सुरु भयो। वि.सं.२०१९ बैशाख ४ देखि १५ गतेसम्म नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन बनारसको मयुरगंज मोतीमहलमा भएको थियो। त्यसपछि कम्युनिस्ट पार्टीमा केही फुटका शृंखलाहरू आए।  पार्टीभित्र चीनपन्थी कि रूसपन्थी भन्ने बहस पनि चल्न थाल्यो।

    वि. सं. २०२५ जेठमा तेस्रो राष्ट्रिय सम्मेलनले नयाँ जनवादी कार्यदिशा पारित गर्‍यो। मूल बाटो कि कुन बाटो भन्ने टीएल र पीएलबीचको बहसले तीब्र रूप लिएपछि पार्टी एक रहन सकेन। त्यसपछि पार्टी विभाजित भयो। पछि फेरि पुष्पलाल समूहको पार्टी पनि विभाजनमा पुग्यो। त्यसपछि केन्द्रीय न्युक्लियस गठन भयो।

    नेकपा माओवादीको पृष्ठभूमि केन्द्रीय त्यही न्युक्लियसबाट आएको हो। त्यस बेलाका नेता मोहनविक्रम सिंह जेलबाट रिहा भएपछि निर्मल लामा, मनमोहन, जयगोविन्द शाहलगायतका नेताहरूको सहमतिमा २०२८ मा न्युक्लियस गठन गरे। तर उक्त न्युक्लियस पनि विभिन्न कारणले एक भएर अघि बढ्न सकेन।

    त्यसपछि पार्टीको चौथो महाधिवेशनबाट पार्टीको महासचिव मोहनविक्रम निर्वाचित भए। उनी माओ विचारधाराका थिए। वि. सं. २०४० मा चौथो महाधिवेशन र मशाल दुई समूहमा विभाजित भयो। मशालको आयोजनामा पाँचौँ महाधिवेशन २०४१ सालमा सम्पन्न भयो। अधिवेशनले मोहनविक्रमलाई छ महिना पार्टीबाट निष्काशन गरी मोहन वैद्य किरणलाई महासचिव बनाइएको थियो।

    त्यसपछि मशाल पनि मोटो मशाल र पातलो मसालमामा विभाजित भयो। त्यसपछि नेकपा (मशाल)ले २०४५ सालमा सशस्त्र विद्रोह सुरु गर्ने निर्णय गर्‍यो तर सफल हुन सकेन। त्यो सेक्टर काण्डका नामले परिचित छ। त्यसपछि पार्टीको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले सम्हाले। त्यसबेला २०४६/०४७ को पहिलो जनआन्दोलन सुरु हुन लागेको थियो। नेकपा (मशाल)ले पनि जनआन्दोलनलाई सहयोग गर्‍यो।

    २०४८ सालमा गणतन्त्रवादी धारहरूबीचको एकताबाट बनेको नेकपा (एकता केन्द्र)को एकता महाधिवेशन भयो। अधिवेशनले प्रचण्डको नेतृत्व र दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गर्‍यो। त्यसपछि २०५२ फागुन १ गते १० वर्षे सशस्त्र युद्धको घोषणा गरियो। एकता केन्द्रमै रहेका नारायणकाजी श्रेष्ठ भने युद्धबाट अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै युद्धमा गएनन्। उनी एकता केन्द्रमा नै रहे।

    यता, प्रचण्डले भने नेकपा माओवादीबाट जनयुद्धको थालनी गरे। १० वर्षको संघर्षपछि १९ दिने जनआन्दोलन भयो। जनयुद्धले उठाएका परिवर्तनका एजेण्डाहरू संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिकता र जनताका मौलिक अधिकारका एजेण्डा क्रमश: स्थापित हुँदै गए। जनयुद्धमा ११ हजार बढीले ज्यान गुमाए।

    माओवादीमा फुट

    सशस्त्र संघर्ष सकिँदा नसकिँदै माओवादीमा फुटको लक्षण देखापरिसकेको थियो। २०६२ को जनआन्दोलन सुरु नहुँदै मातृका यादव, मणि थापालगायतका नेता जनयुद्धलाई अघि बढाउनुपर्ने र नेतृत्व शान्ति प्रक्रियातर्फ लागेको भन्दै पार्टीबाट अलग रहे।

    २०६३ सालको शान्ति सम्झौतापछि माओवादी पनि अन्तरिम व्यवस्थापिकामा सहभागी भयो। उसले अन्तरिम सरकारमा पनि सहभागिता जनायो। राजतन्त्रको अन्त्य भएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पार्टीका अध्यक्ष प्रचण्ड भए तर पार्टी भने विस्तारै कमजोर बन्दै गयो।

    सशस्त्र विद्रोहबाट आएको आवेगलाई सम्हाल्न नसक्दा कटुवाल प्रकरणले प्रधानमन्त्रीबाटै राजीनामा दिनुपर्‍यो प्रचण्डले। २०६५ सालमा नेकपा एकता केन्द्र आएर माओवादीमा एक भयो अनि पार्टी बन्यो- एकीकृत नेकपा माओवादी।

    शान्ति प्रक्रियमा आएपछि माओवादी भने आफ्नो कार्यदिशामा अलमलियो। त्यसबीचमा पार्टी निकै कमजोर भइसकेको थियो। त्यसको परिणाम स्वरूप पहिलो संविधानसभा विघटित भएपछि पार्टी पनि विभाजन हुन पुग्यो। २०६९ सालमा पार्टी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पार्टीबाट बाहिरिँदै नयाँ पार्टी गठन गरे, नेकपा-माओवादी। त्यहाँबाट पनि नेत्रविक्रम चन्द विप्लव बाहिरिए।

    फलस्वरूप दोस्रो संविधानसभामा तेस्रो दलमा खुम्चियो माओवादी। दोस्रो संविधानसभापछि नेपालमा नयाँ संविधान आयो। संविधानमा उत्पीडित जातिको अधिकारलाई स्थापित गर्न सडक र सदनबाट पनि माओवादी पटक पटक आन्दोलन गर्दै आएको थियो। संविधान निर्माण गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्यो तर पार्टीले भने फेरि अर्को फुटको पीडा सहनुपर्‍यो। 

    संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई पार्टीबाट अलगिएर नयाँ पार्टी खोले। त्यसमा माओवादीका केही नेता पनि गए।

    पार्टी एकताको शृंखला

    पटक पटक फुट्दै कमजोर बनेको एनेकपा माओवादीलाई फेरि केही राहत मिल्यो। माओवादी आन्दोलनमा सक्रिय भूमिका खेलेका तथा पछिल्लो समय विभाजित हुँदै आएका धेरै नेता रामबाहदुर थापाको नेतृत्वमा २०७३ सालमा केही नेता मूल पार्टीमा फर्किए। त्यसपछि बन्यो नेकपा माओवादी केन्द्र।

    वि. सं. २०७४ असोजमा एमालेसँग पार्टी एकता गर्ने घोषणा गर्दै चुनावी गठबन्धन गर्ने निर्णय भयो। फलस्वरूप प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राम्रै नतिजा आयो। यसअघि पनि एमालेसँग एकताका प्रयास भने नभएका होइनन्। पटक पटक एकताका लागि प्रयास गएका थिए तर सफल हुन सकेका थिएनन्।

    यस पटक भने लामो छलफल र प्रयासपछि पार्टी एकताले पूर्णता पयो। एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो पार्टी बनेको छ। त्यसो त दक्षिण एसियामा नै पहिलो ठूलो कम्युनिस्ट पार्टी र एसियामा दोस्रो ठूलो कम्युनिस्ट पार्टी पनि बनेको छ- नेपाल कम्युनिस्ट पार्टी।

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]