|

रामेछाप : कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोलाले बगाएर हराइरहेकी १८ वर्षीया उष्मा फुयाँलको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ स्थित खुर्कोटमा फेला परेको छ। सोमवार बिहान आएको वाढीले उष्मासहित ६ जनालाई स्थानीय रणजोर खोलाले बगाएको थियो। उनीहरू ६ जना नै कक्षा ११ को परीक्षा दिन मन्थलीबाट रुद्राक्षेश्वर मावि मुगिटारतर्फ परीक्षा दिन जाँदै थिए। 

मन्थलीबाट मुगिटा जाने क्रममा रणजोर खोलाले उनीहरूलाई बगाएको थियो। खोलाले बगाएकाहरू मध्ये दुईजना परीक्षार्थी रणजोर खोलाबाट निस्कन सफल भएका थिए भने अन्य तीनजना तामाकोशी नदीबाट निस्कन सफल भएका थिए। खोलाले बगाएकाहरू मध्ये उष्मा भने चारदिनदेखि वेपत्ता थिइन्। उनको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयले चारदिनदेखि खोजी जारी राखेका थिए।

बिहीबार मृतक फुयालको शव खुर्कोटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए। फुयाँलको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम पठाइएको पनि निरीक्षक थापाले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.