|

सुनसरी :  नेपाली सेनाको विभागिय टिम त्रिभुवन आर्मी क्लबले इटहरीमा सम्पन्न तेस्राे इटहरी राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। 

सेभेनस्टार क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाइ ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै आर्मीले नगद ७५ हजार हात पारेको छ भने पुलिसले नगद ४० हजारमा चिक्त बुझाएको छ। 

इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २० रन बनाएको थियो। पुलिसका लागि रोशन भुजेलले नटआउट २९ रन बनाउदा कुशल भुर्तेलले २५, प्रेम तामांगले १८ र योगेन्द्र कार्कीले १६ रन बनाएका थिए। बलिङतर्फ आर्मीका हरिकृष्ण झाले ३, साहब आलमले २ र जितेन्द्र मुखियाले १ विकेट लिए। 

जवाफमा १ सय २१ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो। आर्मीका लागि अनिल मण्डलले नटआउट  ५२ रन जोड्दा महेश क्षेत्रीले ३२, बिनोद भण्डारीले २० र राहुल बिश्वकर्माले ११ रन बनाए। बलिङतर्फ पुलिसका ललित राजबंशी र कुशल भुर्तेलले १–१ विकेट लिए। फाइनल खेलको म्यानअफ द म्याच आर्मीका अनिल मण्डल घोषित भए।  यस्तै प्रतिगोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याष्टमेन मेची क्रिकेड एकेडेमी झापाका अंकित सुबेदी घोषित भए। उनीहरुले जनही ५–५ हजार नगद पुरस्कार पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका हरिशंकर झा घोषित हुदै १० हजार नगद र ट्रफी प्राप्त गरे। 

इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा दुई विभागिय टिम पुलिस र आर्मी सहित ८ टिमको सहभागिता रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.