|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वको विषयमा विवाद चुलिएको छ। स्थानीय तहको निर्वाचनपछि वरागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिबीच मन्दिरको स्वामित्व र अन्य कार्यहरु अघि बढाउने भन्नेमा विवाद देखिएको हो। 

मुक्तिनाथ मन्दिर विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने प्रावधान छ। तर, जनप्रतिनिधि र स्थानीयले लामो समयदेखि मुक्तिनाथको स्वामित्व गाउँपालिकामा हुनुपर्ने माग गर्दै आएका छन्। गाउँपालिका र विकास समितिबीचको यही विवादका कारण मुक्तिनाथमा नियमित कार्य बाहेक दीर्घकालीन महत्त्वका विषयमा समझदारी हुन सकेको छैन।

‘यसको विकासको नेतृत्व गाउँपालिकालाई दिनुपर्छ। तर, अहिलेसम्म विभिन्न बहाना बनाएर अड्काउने काम भइरहेको छ’, वरागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख धारा गुरुङले, ‘प्रमुख जिल्ला अधिकारीहरु ६\६ महिनामा परिर्वतन हुन्छन, अनि कसरी हुन्छ विकास? त्यसैले मन्दिरको विकास गर्ने नै हो भने यसको स्वामित्वको अधिकार गाउँपालिकालाई नै दिनुपर्छ।’ गाउँ विकास समिति अस्तित्वमा हुँदादेखि नै स्थानीयले मन्दिर गाविसमातहत सञ्चालन हुनुपर्ने माग राखेको उनले बताए।

हिन्दू र बौद्ध धर्मालम्बीको आस्थाको धरोहर मानिने मुक्तिनाथमा मुख्य पुजारीसहित चार कर्मचारी छन्। विकास समितिले कर्मचारीको तलबसहित दैनिक आम्दानीको रेखदेख गर्दै आएको छ। मन्दिरमा एक जना लामा र ३८ जना आनीहरू छन्। मुक्तिनाथमा पुग्ने भक्तजनका लागि व्यवस्थित शौचालय, पदमार्गदेखि विश्रामस्थलसम्मको अभाव छ। मुक्तिनाथ विकास स्थानीय संरक्षण समितिका अध्यक्ष मन्दिरका मुख्य लामा हिराबहादुर ठकुरीले हरेक टोलबाट प्रतिनिधित्व गर्दै विकास समितिमा राखिएका सदस्यहरुले धमाधम राजीनामा दिन थालेको बताए। 

मुक्तिनाथबाट दैनिक रूपमा हुने आम्दानी पारदर्शी तरिकाले सार्वजनिक नहुने र भेटी संकलन प्रक्रियासमेत अवैज्ञानिक भएको स्थानीयको आरोप छ। विकास समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मुक्तिनाथ क्षेत्रमा संकलन हुने भेटी पारदर्शी तरिकाले बैंकमा जम्मा गर्ने गरिएको बताए। ‘सबै कुरा जनप्रतिनिधिले मात्रै सक्छन् भन्ने होइन', उनले भने, 'यसको आवश्यकता नै ठानेर सरकारले सीडीओलाई अध्यक्ष बनाएको हो।  हामीले उहाँहरुसँग मिलेर नै काम गरिरहेका छौँ।’ 

मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले मुक्तिनाथको बृहत्तर विकासका लागि गाउँपालिका र प्रशासन मातहत नभई सबैले अपनत्व महसुस हुने वातावरण बनाइनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.