|

रुस विश्वकप २०१८ का लागि युरोपियन च्याम्पियन पोर्चुगल तथा दाबेदार फ्रान्सले राष्ट्रिय टिमको घोषणा गरेका छन्। विश्वकप सुरु हुन एक महिना भन्दा पनि कम समय बाँकी रहेका बेला टिम घोषणा भएको हो।

विश्वकपका लागि घोषणा गरिएको टिममा दुई वर्षअघि पोर्चुगललाई ऐतिहासिक युरोकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलका धेरै खेलाडी छैनन्।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले युरोकप विजेता टिमका धेरै खेलाडीलाई विश्वकप टिममा समावेश गर्न नसक्दा दुःख लागेको बताएका छन्। टिममा आशा गरिएका खेलाडीहरु नानी, आन्द्रे गोमेस र रेनाटो सान्चेज छनोट हुन असफल भए। यस्तै युरोकप फाइनलको अतिरिक्त समयमा पोर्चुगलका लागि विजयी गोल गरेका एडर पनि टिममा परेका छैनन्। विश्वकपमा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको कप्तानी गर्नेछन्।

रोनाल्डो र लुइस फिगोपछि पोर्चुगलको टिमबाट धेरै खेल खेलेका नानी गएको वर्षको कनफेडेरेशन कपपछि राष्ट्रिय टिमबाट खेलेका छैनन्। पोर्चुगल विश्वकपका लागि स्पेन, मोरक्को र इरानसहित समूह बीमा रहेर प्रतिस्पर्धा गर्ने छ।

यस्तो छ पोर्चुगलको टिम– 

गोलरक्षक- एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ।

डिफेन्डर- ब्रुनो एल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डीएस।

मिडफिल्डर- एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोएओ मारिओ, जोएओ माउटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो।

फरवार्ड-  आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, रिकार्डो क्वारेस्मा

फ्रान्सले पनि गर्‍यो टिमको घोषणा

उपाधिको दाबेदार मानिएको अर्को युरोपियन जाइन्ट फ्रान्सले पनि अन्तिम टिमको नामावली सर्वाजानिक गरेको छ। दुई वर्षअघि युरो कपको फाइनलमा पोर्चुगलसँग पराजित फ्रान्स विश्वकपको दाबेदार मानिन्छ। फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन्।

तर एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बा टिमको महत्त्वपूर्ण सदस्य रहँदा चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट पनि टिममा परेका छैनन्। फ्रान्सले विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्क समिलित समूह सीमा रहेर प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सको टिम–

गोलरक्षक- ह्युगो लोरिस, स्टिभ म्यानडान्डा, एल्फोन्से एरिओला।

डिफेन्डर- लुकास हर्नान्डेज, परिस्नल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पावार्ड, अदिल रामी, डिजिब्रिल सिडिबे, सामुएल उमटिटि, राफाएल भारेना।

मिडफिल्डर- एन गोलो कान्टे, ब्लाइसी माटुइडी, स्टिभन एन जोन्जी, पउल पोग्बा, बारिन्टिन तोलिसो।

फरवार्ड- ओसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरउड, एन्टोनी ग्रिजम्यान, थोमस लेमार, केलियन एमबाप्पे, फ्लोरिएक थाउविन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.