|

मुग्लिन : चितवनको नारायणगढ­मुग्लिन सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेपनि पहिरो खस्ने क्रम नरोकिंदा जोखिम बढ्दो छ। सडकको भरपर्दाे विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भएपनि जोखिम मोलेर सवारी आवागमन गरिरहेका छन्। 

शुक्रबार विहान साढे ९ बजेको समयमा चितवनको जलविरे नजिकै माथिबाट रुख र ढुंगा सहितको पहिरो खस्दै थियो। पहिरो खस्दै गर्दा छलेर सवारीहरु आवतजावत गरिरहेका देखिन्थे। 

ठूला ठूला ढुंगा खस्दा विभिन्न गाडीका सवारी चालक र सहचालहरु मिलेर पहिरो पन्छाउँदै गाडी पार गर्दै थिए। यस्तै गतिविधिका साथ अहिले नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भैरहेको छ। 

आज विहान सो सडक यात्रा गर्दा दर्जनौ स्थानमा पहिलो खस्न ठिक्क परेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग खसेको ढुंगा यत्रतत्र थियो। मुख्यगरी जलविरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ। कतिबेला पहिरो खसेर मानिस र सवारीलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रुहरु रहेका छन्। 

विहिवार पहिरो खसेर सडक केही घण्टा अबरुद्ध भएको उक्त सडकखण्डमा गएराती ठुलो पानी परेकाले विहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे। 

ईच्छकामना ३ लेवाटारका स्थानिय शिवप्रसाद शर्माले यो ठाउँमा राती ठुलो पानी परेकालेले पहिरो खसेको बताए। लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्मा सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनु एक ठाउँमा छ भने सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गर्छन्।

नारायणगढबाट मुग्लिन जाँदै गर्नुभएका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि आज यसैगरी पहिरो खस्दै गर्दा जलविरे पुगेका थिए। ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुपर्यो, सुवेदीले भने, ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडी भएका २ वटा कारलाई झण्डै किचेन।’ 

उक्त कार पहिरो खस्न थालेपनि व्याक गरेर जोगिएको थियो। मुग्लिनबाट आएका गाडी पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा बाटो क्रस भए। 

नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भएपनि भित्तो काटिएको स्थान आलै छ। त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ। 

नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाएहरु अपनाएर विभिन्न क्षेत्रमा रुख विरुवा रोपेको भएपनि प्रभावकारी हुन सकेको छैन। जोखिम क्षेत्रमा जाली लगाईएको छ तर त्यसलाई मिचेर पहिरो खसिरहेको छ। 

वर्खाको शुरुआती समयमा पहिरोको उच्च जोखिम बढेकाले मध्य वर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको बताउँछन् आज सोही सडकको यात्रा गरेकाा चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली।
उनीसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टपनि जोखिम मोलेरै यात्रा गरे। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एबं प्रहरी निरिक्षक सन्तोष पन्त वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गर्छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.