|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै नेपालको भ्रमण गरेर स्वदेश फर्किसकेका छन्। मोदीले आफ्नो दुर्इ दिने नेपाल भ्रमणको सुरुवात दक्षिणी क्षेत्र जनकपुरबाट गरेका थिए।

लुक्न नसकेको कुरा केहो भने भारतले सन् २०१५ मा गरेको आर्थिक नाकाबन्दीपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन देखिएको छ। नेपालसँग मात्रै होइन, अन्य छिमेकी देशसँग पनि भारतको सम्बन्ध पहिला जस्तो गाढा छैन।

नेपालमा बिताएका ३० घण्टामा मोदीले नेपालका मुख्य मन्दिरमा पुगेर पूजाआजा गरे। विशेषत: उनले नेपालको भ्रमणका क्रममा नेपाल र भारतबीचका प्राचीन सामाजिक र साँस्कृतिक सम्बन्धका बारेमा बढी जोड दिए। उनले जनकपुर-अयोध्या बस सेवाको समेत सुरुवात गरे।

उनको नेपाल भ्रमणपछि एउटा प्रश्न उब्जिएको छ, के यस्ता प्रकारका प्रयासले दक्षिण एसियाका देशहरू, खासगरी नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बन्ला त?

मोदीको नेपाल भ्रमणलार्इ भारतीय पक्षले विल्कुल धार्मिक यात्रा हो भनेर चर्चा परिचर्चा गरायो। धार्मिक भ्रमण भनिए पनि मोदीले नेपालमा आफ्नो छवि सुधार गर्ने र भारत-नेपालको सम्बन्धलार्इ सुधार गर्ने प्रयास गरेको नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेले बताए।

'तीन वर्षअघि नेपालमा भारतले जुन आर्थिक नाकाबन्दी गर्‍यो, त्यसपछि नेपाली जनतामा मोदीलार्इ लिएर धेरै निराशा छाएको छ। यो भ्रमणले मोदीको व्यक्तिगत छविलार्इ थोरै लोकप्रिय बनायो', उनले भने, 'दक्षिण एसियाली छिमेकी देशका बीच भारतले आफ्नो हैसियत गुमाएको र छिमेकी देश चीनको निकट पुग्न लागेको भन्दै मोदी सरकारको आलोचना भएको छ।'

सम्बन्ध खराब हुनुका कारण

प्रधानमन्त्री मोदीले जनकपुरदेखि अयोध्यासम्मको बस सेवालार्इ हरियो झण्डा देखाए र प्राचीन राजा दशरथको समयको अयोध्या र जनकपुरको सम्बन्ध मात्र नभई वर्तमान भारत र नेपालबीचको मैत्रीभाव देखाउन खाेजे।

आखिर किन नेपाल र भारतबीचको सम्बन्ध यसरी बिग्रियो, जुन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलार्इ बारम्बार एेतिहासिक सम्बन्धका बारेमा सम्झाउनुपर्‍यो? नेपाल मामिलाका जानकार आनन्द स्वरूप वर्मा नेपालसँगको सम्बन्ध बिग्रिनमा भारत पक्षका केही गल्तीहरू जिम्मेवार रहेको मान्छन्।

'नेपाललार्इ तीनतिरबाट भारतले घेरेको छ। ल्याण्ड लक्ड (भूपरिवेष्ठित) भनेजस्तै यो भारत लक्ड (भारतवेष्ठित) हो। तीनतिर भारत र एकतर्फ चीनले घेरेको छ तर चीनतर्फ उच्च पहाड छन् र मौसम पनि चीनतर्फ निर्भर पर्ने जस्तो छैन', उनले भने, 'यदि तीनै तर्फबाट नाकाबन्दी भयो भने नेपालले चीनतर्फ सम्बन्ध बढाउँछ। नाकाबन्दीको समय यही भएको थियो। नाकाबन्दीको २० दिनपछि पेट्रोलका लागि चीनसँग सहयोग मगेको थियो। त्यस समय ओलीको सरकार थियो र आज पनि उनी प्रधानमन्त्री छन्। त्यो जाडोको समयमा नेपालले चीनसँग सहयोग नमागेको भए जनता भोकै मर्ने थिए। यो चीनका लागि राम्रो अवसर थियो र उसले आफैँ मद्दत गर्‍यो। आज पनि चीनले मद्दत गरिरहेको छ।'

पत्रकार घिमिरेका अनुसार फेरि पनि यस्तो समस्या आयो भने एउटा विकल्प त हुनुपर्छ भनेर नाकाबन्दीपछि नेपाल यसका बारेमा सोच्न बाध्य बनेको हो। उनले भने, 'नाकाबन्दीपछि नेपाल ट्रेड र ट्रान्जिटका लागि भारतमा मात्रै निर्भर हुन गाह्रो छ। ट्रेड र ट्रान्जिटका लागि चीनसँग पनि सम्बन्ध बढाउनुपर्छ, जसका कारण दोस्रो पटक पनि यस्तै अवस्था हुँदा वैकल्पिक बाटो बनोस्। नेपालका जनता चीनसँगको सम्बन्धमा खुसी देखिएका छन् र ओली सरकार वा अरू कुनै सरकारले यस मुद्दामा सबैले समर्थन गरेका छन्।'

भारतको ‘नेइवरहुड’ नीति

भारतको 'नेइवरहुड फर्स्ट पोलिसी' वा छिमेकीलाई प्राथिमकता नीतिमा नेपाल पहिलो नम्बरमा रहेको भारतीय प्रधानमन्त्री मोदीले बताउँदै आएका छन्। भारतको यो नीति पहिलेदेखि नै चर्चामा छ तर पनि छिमेकी राष्ट्रसँगको सम्बन्धमा किन खट्पट आइरहन्छ? वरिष्ठ पत्रकार आनन्द स्वरूप वर्माका अनुसार भारतीय शासक वर्गको औपनिवेशिक मानसिकताका कारण छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो हुँदैन।

उनले भने, 'नेइवरहुड पोलिसी राजीव गान्धीका पालामा पनि थियो। भारतले नेपालमा मात्रै होइन, अन्य छिमेकी देशप्रति पनि यस्तै नीति राखेको छ। आर्थिक हैसियत कम भएका कारण भारतले यी देशलार्इ आफ्नो 'स्याटलाइट कन्ट्री'को मान्यतामा राखेकाले छिमेकी देशसँगको सम्बन्ध बिग्रिएको हो।

उनले थपे, 'यदि कसैले भारतको सम्बन्ध भूटानसँग राम्रो छ भने यो भूटानको बाध्यता हो। भूटान धेरै कुरामा भारतको सहयोगमा निर्भर छ तर उसले विरोध गर्न सक्दैन। भूटानका जनताले यो महसुस गरेका छन्। पछिल्लो निर्वाचनमा चीनका प्रधानमन्त्रीसँग रियो दि जेनेरियोमा भेटेका प्रधानमन्त्री हार्नुपर्‍यो।'

यो कसरी भयो भन्नेबारेमा आनन्द स्वरूप वर्मा भन्छन्, 'निर्वाचनको समयमा भारतले मट्टीतेल र ग्यासको 'सब्सिडी' रोक्का गरिदियो र यो प्रधानमन्त्रीलार्इ विजय गरायौ भने भूटानका जनताले यस्तै हालत भोग्नुपर्छ भन्ने संकेत दियो। यसै कारण जनताले आउँदै गरेको अफ्ठ्याराेलार्इ बुझ्दाबुझ्दै भारतका सामु झुक्नुपर्‍यो। मेरो विचारमा यो शासक वर्गको औपनिवेशिक मानसिकताको कारणले भएको हो।'

नेपालको चिन्ता किन?

भूटानमा मात्र होइन, नेपालमा पनि यो कुरालार्इ लिएर चिन्ता भइरहेको छ। भारतले आन्तरिक मामिलामा दखल दिएको आरोप लाग्ने गरेको छ। पत्रकार घिमिरेले भारतसँग अन्य कुनै पनि कुरामा नेपाली रुष्ट नबनेको बताए। उनले भने, 'नेपालमा गरिबी हुन सक्छ, पिछडिएको हुन सक्छ, अशिक्षा हुन सक्छ तर पनि नेपाल स्वतन्त्र रहेर कसैको उपनिवेश नबनेकामा सधैँ गर्व गर्छ। जब कसैले उसको सर्वभौमिकतामाथि हस्तक्षेप गर्छ, तब नेपाली आक्रोशित हुन्छन्। विशेषत: भारतले सन् २००६ देखि नेपालको आन्तरिक राजनीतिक मामिलामा दखल दिने कोसिस गरेको धारणा नेपालीहरूमा छ।'

सर्वभौमिकताको सम्मान आवश्क

फेरि भारतले नेपाल र भूटान जस्ता छिमेकी देशको भरोसा र मन कुनै प्रकारले जित्न सक्छ? यो प्रश्नको उत्तरमा छिमेकी मुलुकको सर्वभौमिकताको सम्मान गर्नुपर्ने पत्रकार वर्मा बताउँछन्। उनले भने, 'भारतले केही गर्नुपर्दैन, केवल नेपाली जनतालार्इ सम्मान गर्नुपर्छ। नेपाल र भारतका बीचमा जति पनि चेक पोस्ट छन्, त्यहाँ कुनै पनि नेपाली अपमानित हुनु नपरोस। त्यहाँ भारत आउने र नेपाल जाने नेपालीलार्इ भारतीय प्रहरीले अपमान गर्ने गरेका छन्, जसलार्इ नेपालीले सहन सक्दैनन्।दोस्रो कुरा, भारतले सानो देश र ठूलो देश भन्ने धारणा दिमागबाट निकाल्नुपर्छ र सबै देशको सर्वभौमिकतालार्इ बराबर मान्नुपर्छ। यदि भारतीयले सर्वभौमिकता नेपाल र भूटानको भन्दा ठूलो हो भन्ने कुरालार्इ दिमागबाट हटाइदिए भने उनीहरूसँग सद्भावपूर्ण सम्बन्ध स्थापित हुन सक्छ।'

मुद्दा हलको आवश्यकता

पत्रकार घिमिरेका अनुसार जसरी भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरे, त्यस्तै प्रकारका भ्रमण पटक-पटक गर्दा सकारात्मक माहोल त बन्छ तर केही असल मुद्दामा पनि कुरा गर्न जरुरी छ।

उनले भने, ‘एउटा यात्राले अमिलोपन हट्न सक्दैन तर यस्तो प्रकारको यात्रा पटक-पटक गर्दा माहोल भने बन्न सक्छ। यस पटककाे भ्रमणमा मोदीले समस्याको सम्बोधन गरेर आफ्नो गल्ती स्वीकार नै गरेनन्। उनले तीर्थयात्रीको रूप त देखाए तर सबै कुराकानी सरकारसँग मात्रै गरे, जनतासँग गरेनन्। अर्को कुरा, भारतले जति पनि प्रोजेक्ट लिएको छ, ती सबै समयमै सकिएनन् भने पनि भारतप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्नेछ।'

के भारतलाई आफ्ना छिमेकी मुलुकमध्ये नेपालप्रति बढ्दै गरेको प्रभावलार्इ लिएर चिन्ता हुनुपर्छ? यस प्रश्नको जवाफ दिँदै पत्रकार वर्माले भने, ‘एउटा कुरा सफा छ- चीन र भारतबीच प्रतिद्वन्द्विता केही छैन। अन्तर्राष्ट्रिय रूपमा भारतको अमेरिकासँगको सम्बन्ध राम्रो भएर हो। भारतसँग उसको कुनै कटुता देखिन्छ भने त्यो हो भारत एक प्रकारले अमेरिकाको जुनियर पार्टनर बनेर घुम्नु। यदि नेपाल चीनतर्फ मोडिन्छ भने भारतको नेपाल नीति विफलताको प्रमाण हुनेछ।'

जानकारका अनुसार भारतले छिमेकी मुलुकको सम्बन्ध सुधार गर्न चाहन्छ भने उसले अन्य देशलार्इ उसैको रूपमा स्वीकार गर्नुपर्छ, जस्तो उनीहरू छन्- स्वतन्त्र र सर्वभौम। 

बिबिसी हिन्दीबाट

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.